site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कारबाट चार संस्था सम्मानित हुने

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत गरिने घोषणा कोषको शनिबार राजधानी काठमाडौंमा सम्पन्न साधारणसभाले गरेको छ । 

रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको शनिबार बसेको साधारणसभाले सामाजिक क्षेत्रका सक्रिय रहेका चार वटा सस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनोट गर्न ५ जना संलग्न एक छनोट समिति गठन गरिएको र यसले निष्पक्ष र वस्तुपरक ढङ्गले छानबिन गरी छनोट गरी पुरस्कार र सम्मानका लागि सिफारिस गरेको विज्ञप्ति जारी गरी बताएका छन् । 

“समितिले सूचना संकलन गरी स्थलगत भ्रमण समेत गरी निश्चित मापदण्डको आधारमा उत्कृष्ट प्रतिभाको सिफारिश गर्दछ,” उनले भने, “कोषले प्रत्येक वर्ष रु. ४ लाख नगद राशि हुने गरी रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार एक संस्थालाई तथा रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार २ संस्था वा व्यक्तिलाई प्रदान गर्दै आइरहेकोमा कोष एक दशक पुगेको अवसरमा अतिरिक्त एक रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।”
 
यस वर्ष रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत पुरस्कृत भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो पुरस्कारको राशि २ लाख नगद र सम्मानपत्र रहेको छ । कोषका अनुसार  सो सस्थाले वृद्धवृद्धाहरूलाई आश्रय, भोजन प्रदान गर्नुका साथै स्वास्थ्य उपचार दिँंदै आएको छ ।  वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोर सम्मानित भएका छन् ।

यसैगरी कोषले रामबाबु–ज्ञानु समाज सेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश्वर नगरपालिका वडा नम्बर ७ काठमाडौंमा अवस्थित संस्थालाई प्रदान गर्ने निर्णय गरेको छ ।  यो सस्थाले समाजका असहाय वर्गको उद्धार गरी  संरक्षणका लागि आश्रय प्रदान गर्दै आइरहेको छ । 

यो पुरस्कारको राशि भने एक लाख नगद र सम्मानपत्र रहेको छ भने यसका संस्थापक दुर्गानाथ दाहाल सम्मानित हुनेछन् । अर्को रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार दृष्टि फाउन्डेसन, नेपाल धनगढी उपमहानगरपालिका – १, कैलालीलाई दिने निर्णय भएको छ । 

यो संस्थाले असहायहरूको उद्धार र संरक्षण गरी आश्रय, भोजन र स्वास्थ्योपचार सुविधा प्रदान गराउनुका साथै परिवासँंग पुनस्र्थापना गराउँदै आइरहेको आइरहेको छ भने अध्यक्ष कल्पना भट्ट सम्मानित हुने जानकारी दिइएको छ । यो पुरस्कारको राशि १ लाख नगद रहेको छ । 

त्यसैगरी रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार मातृ नेपाल अपाङ्ग संघद्वारा सञ्चालित बालगृह, ठुलागाउँ, तारकेश्वर नगरपालिका – ३ लाई दिने निर्णय भएको छ ।  

यो संस्थाले बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै शिक्षादीक्षाको प्रबन्ध गरी सक्षम र सबल नागरिक बनाउन योगदान गर्नुका साथै संस्थागत दिगोपनातर्फ पनि उपयुक्त कदम चालेको भन्दै एक लाख नगद र अध्यक्ष नरबहादुर राउत सम्मानित हुनेछन् ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष स्वयम्सेवाको भावनाले नेपालीहरूको हितमा उदाहरणीय योगदान गरेका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेका थिए ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु. दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा  २०७४ देखि रु. चार लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आइरहेको छ । कोष स्थापनाको दस वर्ष पुगेको अवसरमा रु १ लाखको थप एक पुरस्कार दिन लागिएको हो । कुल रु. ५ लाख नगद राशिको पुरस्कार प्रदान गरिनेछ । 

सामाजिक सेवा दिवसको अवसरमा आउने असोज ६ गते पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ । 
 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्