
काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को अन्तर्राष्ट्रिय शाखा ‘एनआईपीएल’बीच क्रसबोर्डर क्यूआर भुक्तानी सम्झौता भएको छ ।
ग्लोबल फिन्टेक फेस्ट २०२३ मा यो ऐतिहासिक साझेदारीको सुरुआत भएको फोनपेले जनाएको छ ।
फोनपे र एनआईपीएलबीचको यो सहकार्यले दुवै राष्ट्रका लाखौँ नागरिकलाई यी दुई नेटवर्कमा आवद्ध मोबाइल एप प्रयोग गरी सुरक्षित भुक्तानी गर्न सकिने भएको छ । यो सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको बताएका छन् ।
प्राविधिक एकीकरण भएसँगै एनआईपीएलको क्यूआरमार्फत फोनपे र फोनपेको क्यूआरमार्फत एनआईपीएलको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिनेछ । यसले दुवै देशका लाखौँ व्यक्तिहरुलाई सीमापार भुक्तानीका लागि सहजता प्रदान गर्ने कम्पनीको विश्वास छ ।
यो सम्झौता अन्तर्राष्ट्रिय बजारमा विस्तारित पहुँचका लागि एक महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा फोनपेले गरेको छ ।
फोनपे तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ‘यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम’ भएको बताएका छन् ।
यो पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउने र अन्ततः समृद्धि र विकासलाई बढावा दिने उनको विश्वास छ ।
एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेडले यो पहलले यूपीआई एप्समार्फत सहज क्रस बोर्डर भुक्तानीलाई सक्षम पार्ने बताएको छ ।