site stats
बाह्रखरी :: Baahrakhari
कला
दयाहाङ भन्छन्– दोष नेताको मात्रै होइन, जनताको पनि छ

काठमाडौं । अभिनेता दयाहाङ राईले नेपाली राजनीति उत्तरदायी नहुनुमा जनता पनि उत्तिकै दोषी रहेको बताएका छन् । पटकपटक खराब नेता छनोट गर्नुमा जनताको दोष भएको उनको भनाइ छ । 

यही प्रवृत्तिप्रति चलचित्र ‘नाङ्गो गाउँ’ले व्यंग्य गर्ने दयाहाङको भनाइ छ । “हामी यी नेता खराब भए भनेर आलोचना गरिरहेका हुन्छौँ । तर निर्वाचनमा तिनै नेतालाई जिताएर पठाउँछौँ,” दयाहाङ भन्छन्, “त्यसैले नेताले देश बिगारे भनेर भनिरहँदा सायद यसमा हामी पनि उत्तिकै दोषी छौँ कि भन्ने लाग्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘नाङ्गो गाउँ’ हेरेपछि अहिलेको अवस्था आउनुमा कतै हाम्रो पनि दोष त छैन भनेर आफैँले आफैँलाई प्रश्न गर्ने अवस्था आए त्यही नै सफलता हुने दयाहाङ बताउँछन् । “हामीले यसैगरी नै राजनीतिक र सामाजिक परिवर्तन गर्ने होला,” उनी भन्छन्, “कलाकारले गर्नसक्ने भनेको यति नै हो । कलाकारले समाज परिवर्तन गर्ने होइन प्रश्न मात्रै उठाइदिने हो ।” 

नेतृत्वमा आउने एकजना भए पनि नेतालाई नेतृत्व र निर्णायक तहमा पुर्‍याउन हजारौं/लाखौँको भूमिका हुनेभन्दै उनी यसमा नागरिक नै सचेत हुनुपर्नेमा जोड दिन्छन् । “त्यसैले अहिले प्रश्न नेताभन्दा पनि हामीलाई आइसकेको छ । अब हामी सच्चिने कि होइन भन्ने हो,” दयाहाङ भन्छन्, “सुध्रिने अब नेता मात्रै होइन हामी जनता पनि हो ।”

निर्देशक दीपेन्द्र लामा पछिल्लो समय गाउँ रित्तो हुँदै गएको यथार्थलाई आफूले चलचित्रमा प्रस्तुत गरेको बताउँछन् । राजनीति र सामाजिक विषयमा विशेष चासो राख्ने भएकै कारण आफूले ‘छ माया छपक्कै’ र ‘नाङ्गो गाउँ’को विषय राजनीतिक भएको उनको भनाइ छ ।  

“हामी नेतामाथि मात्रै प्रश्न उठाउँदै आएका छौँ । तर, जनतामाथि किन प्रश्न नउठाउने ?,” उनी भन्छन्, “गलत नेता जितेर आए होला तर उनीहरूलाई जिताउने त जनता नै हो । असल नेता चयन गर्ने जिम्मेवारी जनताको होइन र ? इमानदार नेतामात्रै होइन जनता पनि हुनुपर्छ ।”

नायिका मिरुना मगरले राजनीतिबारे आफूलाई पर्याप्त जानकारी नभए पनि बुझ्ने प्रयास गरेको र चरित्रअनुसार काम गरेको बताइन् । सामाजिक सञ्जालमार्फत नेपाली राजनीतिबारे आफूले धेरै कुरा बुझ्ने र जान्ने मौका पाएको उनको भनाइ छ । ‘नाङ्गो गाउँ’ छायांकन गरिएको गाउँ पनि बसाइ सराइले नाङ्गो हुँदै गएको भन्दै उनले त्यही गाउँकै कथा भनेजस्तो महसुस भएको उनले बताइन् ।  

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र भदौ २९ गते रिलिज हुँदै छ । दयाहाङ र मिरुनासँगै साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, कर्मा, शिशिर बाङदेल, रवीन्द्र झालगायत कलाकारको अभिनय छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्