काठमाडौं । आरजु राणा प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनेसँगै सत्तारूढ दल कांग्रेसी सांसदका टीकटिप्पणीका निम्ति मसला मिलेको छ, ‘‘पार्टीमा राणा शासन आयो, हामी सी ग्रेडमा पर्यौं ।’’
आरजु लोकतन्त्र बहालीपछि कांग्रेसमा लगातार अवसर पाउनेमा पर्छिन् । लोकतन्त्र बहालीपछि लगातार दुई पटक समानुपातिक सांसद बनिन् ।
२०७४ को प्रत्यक्ष चुनावमा होमिइन्, मतदाताले उनलाई मन पराएनन् । फेरि २०७९ मा समानुपातिक सांसदको कोटामा सांसद बनिन् । यतिखेर राज्यमन्त्रीसरहको सुविधा भोग गर्न पाइने कृषि तथा प्राकृतिक स्रोत साधन ससितिकै सभापति बनिन् ।
उनी पाँच पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी हुन् । कठोर राणा शासक जुद्धशमशेरकी नातिनी आरजुले शेरबहादुर देउवासँग २०५१ असारमा विवाह गरेकी थिइन् । जहानिया शासक जुद्ध शमशेरकै पालामा प्रजातन्त्रको माग गर्दा चार सहिद बनेका थिए । ‘जहान’भन्दा बाहिर शासकीय नदिने हुँदा राणा शासनलाई ‘जहानिया शासन’ भनिन्थ्यो ।
आरजु कृषि समिति सभापति बन्दा राजनीतिक वृत्त र जनमानसमा टिकाटिप्पणी बाक्लिएको छ । देउवा गुटकै एक कांग्रेस सांसदले भने, ‘‘सभापति देउवा आफैँले पत्नी आरजुलाई समिति सभापति बनाउन चाहनुभएको हो ।”
आरजुको नियुक्तिबाट देउवा निकटकै सांसदहरू पनि खुसी छैनन्, फरक गुटका सांसदहरु खुसी त कुरै भएन । देउवा इतर गुटका सांसदहरू व्यंग्यमा उत्रिएका छन्, ‘देउवा गुटमा अब योग्य पात्र आरजुमात्रै रहिछन् ।’
देउवा समर्थक सांसदहरु पनि ठट्टामा जवाफ फर्काइरहेका थिए, “हाम्रो टिममा राणा शासन चलिरहेको छ । त्यहाँ ‘ए’ ग्रेड र ‘बी’ ग्रेडले अवसर पाइरहेका छन् । हामी त तपाईंहरू जस्तै ‘सी’ ग्रेडका भयौं ।”
सोमबार आरजुले संसदीय समितिको सभापतिमा शपथ लिएकी छन् । त्यसअतिरिक्त ९ जनाले पनि समिति सभापतिले शपथ लिएका छन् । आइतबार समिति सभापतिका लागि मनोनयन दर्ता गर्दाकै बखत आरजुको चर्चा चुलिएको थियो, पक्षमा होइन, विपक्षमा ।
अनि उमेदवारी दर्ता गराएपछि आरजुले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको सञ्चारकर्मीहरूसँग बताएकी थिइन् ।
“समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ,’’ उनले भनेकी छिन्, ‘‘समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ कि छैन, साथै जनताको सहजता भएको छ कि छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् ।”
उनले संसदीय समितिमा काम गर्ने धेरै ठाउँ भएको बताइन् । ‘‘सहकारीको अनियमितता धेरै छ,’’ उनले भनिन्, ‘‘जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडी अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म पनि कृषकको छोरी हो, सानैदेखि कृषि क्षेत्रमा के–के भएन भन्ने याद छ ।”
आरजुको उक्त अभिव्यक्तिको पनि चर्चा भइरहेको छ । काठमाडौंको राणा परिवारको सुख–सयलमा हुर्किदै विदेशी नियोगमा जागिर खाएकी थिइन् । आरजुले शेरबहादुर देउवा गृहमन्त्रीमा बहाल भएकै बखत विवाह गरेकी हुन् ।
उनीसँग विवाह भएको चौध महिनापछि २०५२ भदौ २६ मा देउवा प्रधानमन्त्री हुन् । देउवाको नजर छैटौंपल्ट प्रधानमन्त्री बन्ने प्रतीक्षामा छन् । शक्तिको प्रयोगमा माहिर मानिएकी आरजु कांग्रेसमा भने केन्द्रीय सदस्यको मात्र हैसियतमा छिन् । सांसदबाहेक अन्य पदमा नबसेकी उनलाई राज्यमन्त्री सरहको समिति सभापति पदमा पुर्याउनुमा दाउपेच अन्तर्निहित भएको कांग्रेसीजनकै टिप्पणी छ । उनीहरुको टिप्पणीमा, देउवाले आफ्नो शक्ति आरजुलाई हस्तान्तरण गर्न पूर्वाधार तयार गर्दैछन् । जसरी गिरिजाप्रसाद कोइरालाले सुजाता कोइरालालाई अघि बढाएका थिए । गिरिजाप्रसाद कोइरालाको निधनपछि सुजाता पछाडि पर्दै गएकी छन् ।
“कतिपय कुरा अरूले गरिदिएर हुँदैन आफैँ गर्नुपर्छ,’’ कांग्रेसकी एक महिला नेतृ भन्छिन्, “आरजु राजनीतिक बाहेकका क्षेत्रका लागि खारिएकी सक्षम महिला हुन् । तर, राजनीतिमा उनले दिने अभिव्यक्तिले उनलाई अपरिपक्व व्यक्तिको रूपमा स्थापित गरेको छ ।”
देउवाले जबर्जस्त अवसरको सिर्जना गरे पनि उनका लागि यही पद चुनौती बन्न सक्ने ती नेतृको बुझाई छ । ती नेतृ भन्छिन्, “उनलाई शक्तिको अभ्यासमा अघि बढाउने प्रयास त भएको छ तर, त्यो अभ्यासमा खारिएर आफूलाई स्थापित गर्ने काम भने उनीबाटै हुन आवश्यक छ ।’’
पछिल्ला हरेक काण्ड–प्रकरण आउँदा उनी विवादमा तानिने गर्छिन् । ललिता निवास काण्ड, वाइडवडी खरिद घोटाला काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, टिकापुर जग्गा प्रकरणसम्म आरजुको नाम छुट्दैन । उनीमाथि आरोप जति लागेपनि अनुसन्धानको दायरामा परेकी छैनन् । त्यसो हुँदा ती केवल आरोपमै सीमित छन् ।