site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारी जोगाउने मिलीभगत तोड्न गगन थापाको आह्वान, यस्तो छ तीन बुँदे प्रस्ताव 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न एकजुट हुने समय आएको बताएका छन् । 

समाजिक सञ्जालमार्फत आफूने धारणा सार्वजनिक गरेका थापाले भ्रष्टाचारको नेक्सस र यसको विपक्षमा रहेका सबै एकजुट हुनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।

“फेरि अर्को काण्डको विवरण सार्वजनिक भएको छ । ललितानिवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डपछि टीकापुर जग्गा घोटाला लगायत एकपछि अर्को ठुला भ्रष्ट्राचारका काण्डहरू बाहिर निस्किरहँदा बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छलंग भएको छ,” थापाले भनेका छन्, “पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानुनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरूमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन ।” 

Dabur Nepal
NIC Asia

उनले यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै बढिरहेको उनको बुझाइ छ । 

यसका लागि उनले तीन बुँदे समाधानको सुत्र पनि प्रस्तुत गरेका छन् । उनले भ्रष्टाचारमा संलग्नहरूबीच मिलीभगन हुन्छ भने त्यसको विरुद्धमा रहेकाहरू पनि मिल्न सक्नुपर्ने उपाय सुझाएका छन् । 

“यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ?,” बुँदा नम्बर १ मा गगनले भनेका छन्, “विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ ।” 

थापाले भ्रष्टाचार विरुद्धमा रहेकाहरूले सामुहिक प्रयास गरे भ्रष्टाचारको जालो तोड्दै संस्थागत सवलीकरण सम्भव भएको बताएका छन् । 

“हामीले प्रयास गयौँ भने यी विषयलगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दै छ,” दोस्रो बुँदामा थापाले भनेका छन्, “यसका निम्ति संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामीले छुट्टा छुट्टै दर्जनौँ संशोधन हालेका छौँ । यसमा राम्रोसँग काम गरौँ ।” 

थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउन पनि भूमिका खेल्न्ुपर्ने बताएका छन् । 

“अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ,” थापाले प्रस्ताव गरेका छन्, “संसद्बाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गरौँ । अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि के के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौं ।” 

थापाले यी सबै कामसँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान बनाउन अहिले भएको व्यवस्थामा के–के बदल्नैपर्छ त्यसमा पनि काम गर्न प्रस्ताव गरेका छन् । थापाले यस्ता अभियान सफल पार्न ‘निर्दोष कोही नपरुन र दोषी कोही नछुटुन’ भन्ने मन्त्र हुनुपर्ने बताएका छन् ।

“भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसैगरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस,” थापाले भनेका छन्, “यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro