site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको भदौ ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ ।
    
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।

यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी २२१ जना फरार भएका थिए ।

पटक पटकको छलफलसँगै आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो । सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिए । उनले भने, “मृतकका परिवार र आफन्तसँग पटकपटक छलफल गर्यौं र आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ ।” 

Dabur Nepal
NIC Asia

मृतक परिवारले भने १० लाख रुपैयाँ क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । यूसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप रु दुई लाख सहयोग रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ । 

त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ । 

स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन् । सुधार गृहमा रहेका २९७ मध्ये ४३ बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थनान्तरण गरेको बताइएको छ । 

सुधार गृहमा अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभ्रद व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको थियो । सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ । 

अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ ।

तर, सानोठिमीमा रहेकामध्ये १३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न नसक्दा सुधार गृहभित्रै अपराधका घटना होलान् भन्ने जोखिम भने रहँदै आएको छ । 

केटा एक सय र केटी १० जनाको क्षमता रहेको यहाँको सुधार गृहमा तेब्बरभन्दा बढी २९९ बालबन्दी रहँदै आएकामा ५७ जनालाई स्थानान्तण गरेको हो । यही भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो भने ६ जना अझै फरार छन् ।

कारागार विभागका अनुसार देशभरमा बाल सुधार गृहमा एक हजार १२७ बालबालिका छन् । अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro