site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

कोसी प्रदेश सरकारले विश्वासको मत लिने दिन कार्यवाहक सभामुख अचानक अस्वस्थ भएर काठमाडौं उडिन् । उनीसँगै विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट प्रदेश सभामा निर्वाचित ७ जना सदस्यले पनि बैठकमा उपस्थित नहुने जनाउ दिए ।

कोसी प्रदेश सभाका सभामुखले राजीनामा दिएपछि उपसभामुख स्वतः कार्यवाहक सभामुख भएकी छन् । यसैले प्रदेश सभा सञ्चालन गर्ने मूल जिम्मेवारी उनैको हुन्छ । तर आफैँले बोलाएले बैठक छलेर दलगत स्वार्थका लागि आफ्नै दायित्वको अवज्ञा गरिन् । 

यस अवस्थामा प्रदेश सभाको बैठक बसाएर विश्वासको मत लिनु विवादरहित भने हुनेछैन । मुख्यमन्त्रीका पक्षमा बहुमत नपुगे थप सङ्कट उत्पन्न हुनेछ भने अर्कातिर गलत परम्परा बस्नेछ । 

कोसी प्रदेशको एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भयो । त्यो सरकार बनाउन तत्कालीन सभामुखसमेतले प्रस्तावित मुख्यमन्त्रीका पक्षमा हस्ताक्षर गरेपछि सरकार गठन नै सर्वोच्च अदालतले संविधानविपरीत ठहर गरेपछि बर्खास्त भएको थियो ।

तत्कालीन सभामुखले चर्कै विवादपछि पदबाट राजीनामा दिए । उनीसहितको हस्ताक्षरपछि बहुमत सदस्यको समर्थनबाट पुनः सत्तारुढ दलले अदालतको निर्णयबाट अपदस्थ मुख्यमन्त्रीलाई नै पुनः दाबी पेस गर्न लगाए । उनी दोस्रोपटक पनि मुख्यमन्त्री नियुक्त गरिए ।

मुख्यमन्त्रीले प्रदेश सभाका ज्येष्ठ सदस्य र तत्कालीन सभामुखलाई मन्त्री बनाएर विश्वासको मत पुर्‍याउने रणनीति अपनायो । सम्भवतः त्यसैको प्रतिक्रियामा एमालेले अपनाएको रणनीतिअनुरूप कार्यवाहक सभामुख र कोसी प्रदेशसभाका ७ जना सदस्य एकैपटक अस्वस्थ  हुनपुगेका हुन् । 

एमालेका नेताहरू र त्यसमा पनि अध्यक्ष खड्गप्रसाद ओलीमाथि सरकारको नेतृत्व गर्दा संसदै भंग गरिदिने र प्रतिपक्षमा पुग्नेबित्तिकै संसद् चल्नै नदिने आरोप लागेको थियो । कोसी प्रदेशमा सरकार बन्नै नदिने प्रपञ्चमा लागेर एमाले स्वयंले आफूमाथि लागेको आरोप पुष्टि गरिदिएको छ ।

सत्तारूढ गठबन्धनले सभामुखलाई राजीनामा गराएर मन्त्री बनाउनु पनि संसदीय परम्परामा स्वच्छ अभ्यास होइन । तर, एमालेले उपसभामुखसहित ७ जना प्रदेश सभा सदस्यलाई सामूहिक बिरामी बनाएर गरेको तिकडम भने रणनीतिक चातुर्य नभएर फोहोरी जालझेल देखिएको छ । 

उपसभामुखका साथै प्रदेश सभाका सदस्यहरू सामूहिकरूपमा यसरी पार्टीको स्वार्थमा प्रयोग हुनु उचित संसदीय अभ्यास होइन । यसले अब उनीहरूले सामूहिक राजीनामा दिनु उचित र आवश्यक देखिन्छ । इतिहासले यस्ता नकारात्मक घटना, पात्र र प्रवृत्ति सितिमिति बिर्सिँदैन ।

अहिले नेताहरूको अहं तुष्टिका गोटि बन्नेहरूले इतिहासमा आफू कलङ्कित हुने हेक्का राख्न सकेनन् । कोसी प्रदेश सभामा नाममात्रको भए पनि सत्तारूढ गठबन्धन बहुमतमा देखिन्छ । त्यसैले लोकतन्त्रमा विश्वास भए एमालेले बैठकै बस्न नदिने जाल नगर्नुपर्थ्यो ।

एमाले कुनै पनि तरिकाबाट कोसीमा मध्यावधि निर्वाचन गराउन चाहन्छ भन्ने सन्देश जनमानसमा पुगेको छ । सम्भवतः अगिल्लो प्रतिनिधि सभा भंग गर्न नपाएको तुस एमाले मेट्न पनि एमाले नेताहरू कोसी प्रदेश सभाको ‘अकाल मृत्यु’ गराउन चाहन्छन् । तिनको यो चाहना प्रत्युत्पादक हुने अवश्यंभावी छ ।

कोसीको फोहोरी खेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमालेको मतियारको हैसियतमा सीमित रह्यो । यसैले कोसीमा मध्यावधि निर्वाचन रोक्ने पूरै जिम्मेवारी सत्तारुढ गठबन्धनका काँधमा छ । अदालतले 'असंवैधानिक' ठहर गरेपछि मुख्यमन्त्रीले त्यसको नैतिक जिम्मेवारी लिएर लोकतान्त्रिक चरित्र देखाउनुपर्थ्यो ।   

स‌घीयता र संसदीय लोकतन्त्रको मर्यादा जोगाउने हो भने कोसी प्रदेश सभाका सदस्यहरूले केन्द्रीय नेतृत्वको गोटी नबन्ने आँट गर्नुपर्छ । अन्यथा, कोसीको फोहोरी तिकडमले लोकतन्त्रप्रति नै वितृष्णा उत्पन्न हुनेछ र त्यसमा अहिलेका पात्रहरू कलङ्कित हुनेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro