
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘अपरेसन चार्ली फक्सट्रोट’अन्तर्गत हालसम्म नौजना पक्राउ परेका छन् भने दुईजना छुटेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढेर मेडिकल काउन्सिलबाट डाक्टरको लागि अनुमति लिएका डाक्टरमाथि सीआईबीले २५ साउनदेखि अपरेसन चलाएको हो ।
सोही अपरेसनअन्तर्गत हिजो बिहीबार सीआईबीले चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत नसिम अख्तरलाई पक्राउ गरेको छ । सप्तरीको राजविरिाज ९ का २८ वर्षीय अख्तर भरतपुर महानगर १० बाट पक्राउ परेका हुन् ।
अख्तरसहित हालसम्म पक्राउ पर्नेमा नेपाली कांग्रेसका सांसद डा सुनील शर्मा, डा.मनित चौधरी, डा. श्रद्धा सिल्पकार, रन्जितकुमार यादव, अमित चौधरी, रामबाबु यादव, एरिना शाह र पुनम थापा पक्राउ परेका हुन् ।
उनीहरुमध्ये कांग्रेस सांसद शर्मा र रन्जित यादव रिहा भइसकेका छन् । शर्मालाई अदालतले म्याद नथपेका कारण र रन्जित सक्कली प्रमाणपत्र भएका डाक्टर प्रमाणित भएपछि छुटेका हुन् ।
पक्राउ परेकाहरुलाई किर्ते मुद्दामा अनुसन्धानको लागि जिल्ला सरकारी वलिक कार्यालयबाट थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप भएको सीआईबीले जनाएको छ ।