site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनील शर्मा पक्राउमा आरजुको पनि आपत्ति !

काठमाडौं । मेडिकल व्यवसायी तथा सांसद सुनील शर्मा पक्राउबारे नेपाली कांग्रेसका सांसदहरूले साझा धारणा राखेका छन् । पक्राउ नगरी पनि अनुसन्धान गर्न सकिने भए पनि प्रतिशोध साँध्न र कांग्रेस सांसद घटाउने उद्देश्यले शर्मालाई पक्राउ गरिएको उनीहरूको बुझाइ छ ।

कांग्रेस नेतृ आरजु राणाले पनि अरू सांसदले जस्तै शर्माको पक्राउ स्वाभाविक नरहेको बताइन् । संसदीय दलको बैठकमा उनले गम्भीर अपराधमा समेत माफी पाइरहेका बेला सर्टिफिकेट नक्कली भएकै आधारमा पक्राउ गर्नु नपर्ने बताइन् ।

“कसैको नक्कली सर्टिफिकेट छ र त्यसकै आधारमा उसले अरू गतिविधि पनि गरिरहेको छ भने अनुसन्धान हुने एउटा कुरा हो । तर, यसमा पक्राउ नै गर्नुपर्छ र थुनेर अनुसन्धान गर्नुपर्छ भन्ने छैन,” राणाको भनाइ उद्धृत गर्दै एक सांसदले बाह्रखरीसँग भने, “कांग्रेसका सांसदलाई टार्गेट गरिँदै छ ।”

Dabur Nepal
NIC Asia

ती सांसदका अनुसार उनले एउटा पार्टीले अर्को पार्टीका सांसदलाई विवादमा तान्ने र उपलब्धि देखाउने कुरा गलत भएको पनि बताइन् । 

“एउटा पार्टीको सरकार आउँछ, अर्को पार्टीका सांसदलाई हाल्ने गलत अभ्यास बसेको छ,” आरजुको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “भोलि अर्काे पार्टीको सरकार आउँछ, अनी माओवादीका सांसदलाई तान्ने कुराले समस्याको समाधान दिँदैन ।”

उनले त्यसो भन्दैगर्दा महत्त्वपूर्ण अंशसहित सबैभन्दा धेरै मन्त्रालय लिएर कांग्रेस नै सरकारमा छ । 

बैठकमा बोल्ने अधिकांश सांसदहरूले प्रहरीको उच्च पदस्थ अधिकारीहरू नक्कली सर्टिफिकेट प्रकरणमा पदबाट राजीनामा दिएकै आधारमा उन्मुक्ति पाउने गरेको भन्दै त्यही प्रहरीले सांसदलाई भने पक्राउ गर्नु उपयुक्त नभएको बताएका छन् । 

“सुनीलजीको बारेमा संसद् चलिरहेको समय समाउन मिल्छ कि मिल्दैन ?,” प्रश्न गर्दै सांसद उदयशमशेर जबराले भने, “फेक सर्टिफिकेट केसमा ठूला ठूला प्रहरी अफिसरहरूलाई राजीनामा गराएर सेफ ल्यान्डिङ गराइएको छ ।” 

सांसद ज्ञानेन्द्र कार्कीले शर्माले कुनै हत्या नगरेको भन्दै बाहिर बसेर अनुसन्धान र अभियोजन भए पनि मुद्दा लड्न सक्ने बताए । शर्माको पक्राउ कांग्रेसका सांसद घटाउने खेल भएको उनको भनाइ थियो । 

“सुनील शर्माले कुनै हत्या गर्नुभएको छैन । उहाँले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने हो,” कार्कीले भने, “सुनील शर्मालाई जस्तै एकएक गरेर हाम्रो  संख्या  घटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित छ ।”

उनले सरकारको गतिविधिबारे पार्टीले निगरानी राख्दै त्यस्ता सूचनामा पार्टी जानकार हुनुपर्ने आवश्यकता देखिएको पनि बताए । 

सांसद सरिता प्रसाईंले माअ‍ोवादी सांसद र नेताहरू विभिन्न काण्डमा जोडिए पनि सरकारको अनुसन्धान भने पूर्वाग्रहीजस्तो देखिएको बताइन् । उनले माअ‍ोवादीका कोही पनि नेता छानबिनमा नआउने तर कांग्रेसका नाम जोडिनासाथ पक्राउ पर्ने कुराले शंका पैदा गरेको बताइन् ।

“हाम्रा नेताहरूमाथि सरकारले विभिन्न अभियोग लगाइरहेको छ । आरोप लाग्नासाथ पक्राउ पनि गरिरहेको छ,” प्रसाईले भनिन्, “के माओवादीका नेताहरू चोखा छन् ? उनीहरूका पनि विभिन्न प्रकरणमा नाम आएकाहरूको खोइ छानबिन भएको ? यसबारे प्रधानमन्त्रीसँगै नेतृत्वले जवाफ माग्नुपर्छ ।”

सरकारले कसैप्रति मात्र लक्षित गतिविधि गरेर लोकप्रिय हुने कुरा सम्भव नभएको उनको भनाइ थियो । 

सांसद प्रतिमा गौतमले सरकारका गतिविधि भ्रष्टाचार नियन्त्रण भन्दा शक्ति आर्जनमा केन्द्रित देखिन थालेको भन्दै सुशासन कायम गर्छौं भन्दै सरकारमा गएको कांग्रेसले पछुताउने दिन आउन सक्ने बताइन् । सरकार सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने भन्दा पनि लोकप्रियता कमाउँदै आफ्ना विपक्षीलाई कमजोर पार्ने नियतमा देखिएको हो कि भने शंका पैदा भएको उनको भनाइ थियो । 

“यो सरकारमा हामी पनि छौँ । अझ गठबन्धनका हिसाबले यो सरकार हाम्रो नै हो,” गौतमले भनिन्, “तर, सरकार हामीसहितलाई कमजोर पार्ने रणनीतिक गतिविधिमा लागेझै देखिँदै छ ।”

उनले सांसद शर्माको पक्राउका पछाडि पनि त्यस्तै नियत रहेको हुन सक्ने बताइन् । “सांसद सुनील शर्मालाई जुन अभियोगमा पक्राउ गरिएको छ । त्यो आज आएको नयाँ घटना होइन रहेछ,” गौतमले भनिन्, “हिजो पक्राउ गर्नु नपर्ने, आज पक्राउ गर्नुपर्ने कारण सोधिनुपर्छ ।”

उनले फेक प्रमाणित हुँदा सर्टिफिकेट रद्द हुन सक्ने भएकाले पक्राउ गरेर चर्चा कमाउनु कुनै ठूलो काम नभएको बताइन् । 

पक्राउ परेका सांसद शर्मा फरक गुटमा लागेपछि आरजु र शर्माबीच पनि मतभेद रहेको थियो । कांग्रेसको अघिल्लो महाधिवेशनदेखि शेखर कोइराला समूहमा सक्रिय शर्मामाथि देउवा सरकार हुँदा नै सम्पत्ति शुद्धीकरणसहितले छानबिन गरेका थिए । 

शर्माले केही दिन अघि संसद्‍मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नदिए आफू संसद्‌मै अनशन बस्ने घोषणा गरेका थिए । त्यही कारण उनको पक्राउ प्रतिशोधपूर्ण भएको बुझाइ पनि कांग्रेस वृत्तमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro