
विराटनगर । शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकाको प्रवेशद्वार अगाडि मौन प्रदर्शन गर्ने इन्दिरा चापागाईंसँग प्रशासनले १०० रुपैयाँ धरौटी माग गरेको छ ।
विराटनगर महागनरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध ‘गालीगलौज गरेको’ भन्ने आरोपसहित महानगरले उजुरी गरेपछि साउन १५ गते चापागाईंलाई प्रहरीले पक्राउ गरेको थियो । सात दिन थुनामा बसेकी उनलाई दोस्रोपटक आठ दिनका लागि म्याद थप भएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले चापागाईंसँग १०० रुपैयाँ धरौटी माग भएको बताए । उनले भने, “कसैको विरोध गरेको भरमा जेल पठाउन मिल्ने देखिएन । त्यसैले सय रुपैयाँ धरौटी माग गरिएको हो । उहाँसँग थप धरौटी लिनुपर्ने आधार देखिएन । उहाँ आजै रिहा हुनुहुनेछ ।”
अभद्र व्यवहारसम्बन्धी मुद्दाको अनुसन्धान फाइल प्रहरीले बिहीबार सरकारी वकिलको कार्यालयमा बुझाएपछि जिल्ला प्रशासनको इजलासमा चापागाईंलाई उपस्थित गराइएको थियो ।
चपागाईंले विराटनगर–५ स्थित गोग्राह उच्च माविमा निजीस्तरबाट सञ्चालित गोग्राहा कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएकोमा त्यो सामुदायिक विद्यालयलाई उपलब्ध गराउन माग गरेकी थिइन् । उनी विगत तीन महिनादेखि महागनरको प्रवेशद्वार अगाडि उभिएर विरोध गर्दै आएकी थिइन् ।
उनले मेयर कोइरालालाई गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराइएको थियो । बिहीबार इजलासमा धेरै नबोलेकी चापागाईंले आफूले जायज माग उठाएको र नागरिकले सार्वजनिक हितका लागि यस्ता माग उठाउन सक्ने बताएकी थिइन् ।