site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कारागारमा कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन
फाइल तस्बिर ।

किमाथांका । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी गोदारले बताए ।

उनीहरू बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको र सोही अस्पतालमा उनीहरूको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताए ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलांगी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरिएको हो ।

घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले बताए । रासस

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro