site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विभागले यसरी पाएको थियो ‘क्विन्टल’ सुन तस्करीको सूचना

काठमाडौं । राजस्व अनुसन्धान विभागले ३ साउनयता दर्जन ठाउँमा छापा मारेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिँदै गरेको एक क्विन्टल सुन बरामद गरेको विभागले थप सुन राखिएको आशंका गरिएका स्थानमा त्यसरी छापा मारेको होे । यो क्रम अझै जारी छ ।

हालसम्म बरामद भएको अनुमानित एक क्विन्टल सुन प्रकरणमा जोडिएको आरोपमा विभागले ट्याक्सी चालकदेखि भन्सार कर्मचारीसमेत गरेर १८ जनालाई पक्राउ गरिसकेको छ ।  तर विभागले उक्त सुनका मालिक को हुन् भन्ने अझै पत्ता लगाउन सकेको छैन ।

Dabur Nepal
NIC Asia

विभागले सुन तस्करी प्रकरणकोे अनुसन्धान आफैँले गरिराखेको छ । विभाग स्रोतकाअनुसार सुन प्रकरणको अनुसन्धान गर्न अझै केही समय लाग्ने छ ।  विभागले पक्राउ परेकामाथि अनुसन्धान गर्न पहिलो पटक एक हप्ता र दोस्रो पटक १५ दिनको समय अवधि उच्च अदालत पाटनबाट पाएको छ । 

यो प्रकरणमा विभागले पक्राउ परेकामाथि अनुसन्धान गर्न ९० दिनको समय अवधि पाउँछ । हालसम्म पक्राउ परेकामध्ये एकजना चिनियाँ नागरिक जिक्वाङ लिङ बरामद भएको एक क्विन्टल सुनका मालिक भएको विभागको दाबी छ । 

उनीबाहेक विभागले आइतबार बिहान ठमेलस्थित होटल  भियनाका संचालक चिनियाँ मूलका बेल्जियम नागरिक दाबा छिरिङ (जोसँग नेपाली नागरिकतासमेत रहेको अनुसन्धानले देखाएकाे छ) लाईसमेत नियन्त्रणमा लिएको छ । त्यस्तै पक्राउ पर्ने अन्यमा तिब्बती मूलका भारतीय नागरिक थिप्तेन छिरिङ, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक चितवनमा अशोक मगर, दोलखाका दिलिप भुजेल, राजकुमार भुजेल, कोटेश्वरका राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्ट, भन्सार एजेन्ट राजेन्द्र राईलाई विभागले नियन्त्रणमा लिएको छ ।

त्यस्तै पक्राउ पर्ने अन्यमा नुवाकोटका सुरेन्द्र तामाङ, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल भन्सार कार्यालयका एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुक्मिना सुब्बा र यादव पराजुुली रहेका छन् ।

सुन रेडी ट्रेड कम्पनीको नाममा कार्गोमार्फत् नेपाल भित्रिएको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयमा रेडी ट्रेड कम्पनी दोलखाका २१ वर्षीय दिलीप भुजेलको नाममा दर्ता भएको खुलेको छ । हालसम्मको अनुसन्धानले चिनियाँ नागरिक जि क्वान बाहेक अरु सबै भरियामात्रै भएको देखाएको अनुसन्धानमा सक्रिय एक अधिकारी बताउँछन् ।

विभागले कार्गोमार्फत आएको सुन भन्सार कार्यालयको एक्सरे मेसिन हुँदै पास हुनुलाई मिलेमतोको आशंका गरेको छ ।  सुन हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत अटो पार्ट्सको नाममा कार्गो गरेर नेपाल ल्याइएको थियो ।

रेडी ट्रेड कम्पनीले तीन महिनाको अवधिमा हङकङबाट मात्रै ३३ र दुबईबाट एकपटक गरेर ३४ पटक कार्गोमार्फत् मोटरपार्ट्सको नाममा भित्र्याएको छ । विभागले बरामद गरिएको सुनको यकिन परिमाण भने अझै आइसकेको छैन । राष्ट्र बैंकको टक्सार विभागले ब्रेक शु सहित १ सय ५५ केजी तौल देखिएको जनाएको छ ।

अनुसन्धानमा प्रहरीलाई बाइपास

संगठितरुपमा भएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धानमा भने नेपाल प्रहरीलाई किनारामा राखिएको छ ।  सुरुमा प्रहरीबिनानै सुन तस्करी प्रकरणबारे अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको एक हप्तापछि मात्रै प्रहरीको सहयोग मागेको थियो त्यो पनि औचारिकताको लागि ।

हाल प्रहरीको तर्फबाट विभागलाई एसपी कृष्ण पंगेनीको नेतृत्वमा तीनजना प्रहरी अधिकारीले सहयोग गरिरहेका छन् । विभागले ३ साउनमा सुन बरामद गर्दा र हाल विभिन्न ठाउँमा छापा मार्दासमेत सशस्त्र प्रहरी बलको टोलीलाइनै विश्वासमा लिएको छ ।

राजस्व विभागको सुरक्षामा हाल शसस्त्र प्रहरी बलका डीएसपीको कमाण्डमा टोली खटिएको छ । विभागले आफूहरुलाई औपचारिकताका लागि मात्रै अनुसन्धानका लागि सहयोग मागेको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विभागले सहयोग मागेअनुसारनै प्रहरी पठाएको बताए । तर एक उच्च प्रहरी अधिकारीले भने सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले प्रहरीलाई बाइपास गरेर आफैँले अनुसन्धान गरेको दाबी गरे ।

ती अधिकारीले भने,“संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा प्रहरीको मात्रै हो । राजस्व विभागको होइन । सुन तस्करीमात्रै होइन संगठित अपराध हो त्यसैले बरामद गरिसकेपछि थप अनुसन्धानको लागि प्रहरीलाई जिम्मा लगाउनुर्थ्यो त्यो भएन ।”

राजस्व विभागसँग असन्तुष्ट रहेको प्रहरीले अनुसन्धानको कार्यक्षेत्रबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाईसमेत ध्यानाकर्षण गराएको एक प्रहरी अधिकारीले बताए ।  कामको जस लिने निहुँमा कार्यक्षेत्र र अधिकारको ख्यालनै नगरी प्रहरीको क्षेत्राधिकार खोसिएको ती प्रहरी अधिकारीको गुनासो छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व विभागको मूख्य जिम्मेवारी भनेको कर तथा गैर कर राजस्व चुहावट एवम् आर्थिक अपराधको अनुसन्धान तथा नियन्त्रण, विदेशी विनिमयको अवैध ओसारपसार तथा अपचलनको अनुसन्धान गरी मुद्दा दायर गर्ने र राजस्व प्रशासनको सुधार तथा प्रभावकारीताका लागि नीतिगत पृष्ठपोषण गर्ने हो ।

तर, सुन तस्करीको सूचना आफैँले पाएको र बरामदसमेत आफैँले गरेको कारण संगठित अपराधको अनुसन्धासमेत विभाग आफैँले गरेको प्रहरी अनुमान छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले भने कानुनी प्रावधानअनुसार अनुसन्धान भइरहेको बताए । “हामीले आफ्नै क्षेत्राधिकारभित्र रहेर अनुसन्धान गरिरहेका छौं । यो विषयमा धेरै प्रतिक्रिया दिन मिल्दैन,” ढुंगानाले भने ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले पनि संगठित अपराध अनुसन्धान प्रहरीबाहेक अन्य निकायले गर्न नमिल्ने बताए ।

भारतीय दूतावासबाट पाएको थियो विभागले तस्करीको सूचना

राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुनको सूचना प्रधानमन्त्री कार्यालयहुँदै विभागसम्म पुगेको राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ का एक अधिकारीले बताए । ती अधिकारीका अनुसार उक्त सूचना नेपालस्थित भारतीय दूतावासमार्फत् पुगेको थियो । 

सुन तस्करीको सूचना पाएको दूतावासले नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नोटको शंकास्पद कारोबार भइरहेको सूचनासमेत नेपाल प्रहरीलाई गराएको थियो । सो सूचना पछि नेपाल प्रहरीको विशेष ब्यूरोको टोली मधेस प्रदेशका केही जिल्लामा लामो समय बसेर फर्किएको खुलेको छ ।

एक क्विन्टल सुन बरामद गर्नुभन्दा २० दिन अघिमात्रै प्रधानमन्त्री कार्यालयमा कार्यरत नवराज ढुंगानालाई विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।  उनी १३ असारमा राजस्व अनुसन्धान विभागमा हाजिर भएका हुुन् ।

त्यसअघि विभागको महानिर्देशकमा नारायणप्रसाद सापकोटा थिए । ढुंगाना हाजिर भएको छोटो समयमै एक क्विन्टल सुन बरामद हुनु संयोगमात्रै मान्न नसकिने विभागकै केही अधिकारीको भनाइ छ ।

भारतीय दूतावासको निगरानीमा थिए चिनियाँ पनि !

पछिल्लो समय व्यापारीक भिसामा नेपाल छिरेका चिनियाँ नागरिकबाट विभिन्न आपराधिक गतिविधि हुने क्रम बढेको प्रहरी अनुसन्धानले पनि देखाएको छ ।  चिनियाँ नागरिकले काठमाडौंमा बसेर अनलाइनमार्फत् चिनियाँ र भारतीय नागरिकलाई मूख्य टार्गेट गरेर अनलाइन ठगीको धन्दा नै चलाएका थिए ।

सो सूचना प्रहरीले पाएपछि १० पुुस २०७६ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ सय २२ जना चिनियाँ नागरिकलाई एकसाथ नियन्त्रणमा लिएको थियो । त्यो बेलासमेत चिनियाँ नागरिकबाट आफ्ना नागरिक ठगिएको भन्दै भारतीय दूतावासले गृह मन्त्रालयलाई पत्राचार नै गरेको थियो । 

विमानस्थलबाट तस्करी हुुने गरेको ठूलो मात्राको सुनसमेत भारत नै पुग्ने गरेको छ ।  सोही कारण भारतीय दूतावास नेपाली भूमि प्रयोग भएर भारत विरोधी हुने हरेक गतिविधिबारे संवेदनशील हुने गरेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन् ।

हालको सुन तस्करी प्रकरणमा पक्राउ परेका जि क्वाङ लिन सुनका मालिक हुनुलेसमेत दूतावासको चासो भएको हुनसक्ने गुप्तचरको विभागको बुझाइ छ । यसो त पक्राउ परेका ५३ वर्षीय थाप्तेन छिरिङ तिब्बतीयन मूलका भारतीय नागरिक हुन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro