site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाइजरका सैनिक अधिकारीले गरे आफूलाई देशको नयाँ नेता घोषणा
Tiktok banner adTiktok banner ad

नियामे । नाइजरमा सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् । जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी दिएका छन् ।

सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहेका जनरल अब्दुरहामाने त्चियानीले राष्ट्रिय टेलिभिजनबाट मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्ष समेत बनेको घोषणा गरेका छन् । सार्वजनिक जीवनबाट टाढै रहेका पाँच दशकको उमेरका उनले जिहादीको आक्रमण र  रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विप्लव गरेको तर्क गरेका छन् ।

आतंकवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने उल्लेख गर्दै जनरल अब्दुरहामाने त्चियानीले उनीहरूको सुरक्षा दृष्टिकोण र दायरामाथि प्रश्न गरेका छन् । साथै, उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तर्राष्ट्रिय निन्दाको पर्वाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी दिएका छन् ।

लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहीलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःसर्त रिहा गर्न आह्वान गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुम सरकारप्रति वासिङटनको दृढ  समर्थन रहेको दोहोर्‍याउँदै उनलाई अपदस्थ गरेर दशौँ लाख डलरको अमेरिका सहायता जोखिममा पारेको बताएका छन् । साथै, उनले नाइजरमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक शासनको पूर्ण पुनःस्थापना सुनिश्चित गर्न अमेरिकाले काम गरिरहने बताएका छन् ।

सैन्य विद्रोहबारे जानकारी पाउनेबित्तिकै वासिङटनले सुरक्षा तथा अन्य सहयोग बन्द गर्ने चेतावनी दिएको थियो । यद्यपि, नाइजरमा तैनाथ करिब एक हजार अमेरिकी सैनिक फिर्ता हुने छैनन् ।

युरोपेली संघले विद्रोहलाई नाइजरको स्थायित्व र लोकतन्त्रका लागि गम्भीर आक्रमण भन्दै सहायता कटौती गर्ने धम्की दिएको छ ।

पश्चिम अफ्रिकी मुलुकका नेताहरूले आइतबार नाइजेरियाको राजधानी अबुजामा नाइजर विद्रोहबारे छलफल गर्ने राष्ट्रपति बोला टिनुबुले बताएका छन् । पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका अध्यक्ष समेत रहेका उनले नाइजरमा लोकतान्त्रिक शासन कायम गर्न हरसम्भव प्रयास गरिने बताएका छन् ।

यसअघि, सुरक्षा परिषद्का सदस्य राष्ट्रको शनिबारको बैठकबाट राष्ट्रपति बाजुमका परिवारका सदस्य र उनको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिइएको थियो । असंवैधानिक ढंगले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतंककारी गतिविधिमा वृद्धिका साथै बिग्रिएको सामाजिक, आर्थिक अवस्थाप्रति बैठकमा चिन्ता व्यक्त गरिएको थियो ।

अफ्रिकी तथा अरू अन्तर्राष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी, संयुक्त राज्य अमेरिका, युरोपेली संघ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुईपटक विद्रोह भएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro