site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
हिपाटाइटिस सि र यसको उपचार

प्रत्येक वर्ष २८ जुलाईको दिन विश्वमा 'हिपाटाइटिस' दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनले २८ जुलाईलाई विश्व हेपेटाइटिस दिवसको रूपमा चयन गरको हो । नोबेल पुरस्कार विजेता प्रोफेसर सामुएल ब्लम्बर्गको जन्मदिन मनाउन २००८ मा पहिलोपटक यो दिवस मनाउन थालिएको थियो । यो विशेष दिनले हिपाटाइटिस रोगबाट प्रभावित व्यक्तिहरूको संख्या कम गर्न र निर्मूल पार्न प्रेरणा दिने गर्छ । ल्याटिन शब्द "हेपाटो" (कलेजो) र "आइटिस" (सुजन) बाट बनेको हिपाटाइटिस खतरनाक भाइरसजन्य रोग हो । यो कलेजोको संक्रमणको सूचक हो ।

विश्व हिपाटाइटिस दिवसको उद्देश्य हिपाटाइटिसका प्रकारहरूको बारेमा जागरूकता बढाउन, यसका लक्षणहरू, परिवर्तन, रोकथाम, नियंत्रण र उपचारका बारेमा सार्वजनिक ध्यानका साथ सम्बोधन गर्नु हो । यस दिवसले स्वास्थ्य संगठनहरू, शैक्षिक संस्थाहरू, सरकारी तथा गैरसरकारी संस्थाहरू र समुदायलाई एकजुट हुन र यसको बारेमा जनचेतना बढाउन प्रेरित गर्छ ।  प्रत्येक वर्ष नयाँ नाराका साथ मनाइने यो दिवसको यस वर्षको नारा “हामी  पर्खिरहेका छैनौ” भन्ने छ ।   

हिपाटाइटिस रोगमा कलेजोको संक्रमणले लिभर सिरोसिस भएर मृत्यु हुन सक्छ । यो विश्वभरिमा लाखौं मानिसमा हुने कलेजोको क्यान्सरको कारण पनि हो । विश्व हिपाटाइटिस दिवसको अवसरमा, सरकारी र सामुदायिक संस्थानहरूले शिक्षण, सम्प्रेषण र परिचर्चा कार्यक्रमहरू आयोजन गर्नुपर्छ जसले सम्बन्धित जनतालाई हिपाटाइटिसका प्रकार, संक्रमणका कारण, लक्षण, नियंत्रणका उपायका बारेमा जानकारी प्रदान गर्छ । यसै दिनले विश्वभरिमा हेपेटाइटिसको  वृद्धि रोक्न र नियन्त्रण गर्न महत्त्वपूर्ण संदेश पुग्छ । जनतालाई सकारात्मक कदम चाल्न प्रोत्साहन गर्छ । 

KFC Island Ad
NIC Asia

सन् १९६३ मा हेपाटाइटिस 'बी'  र सन् १९७३ मा हेपाटाइटिस 'ए' पत्ता लागि सकेको थियो । त्यसपछिका केही बिरामीमा भाइरल हेपाटाइटिसको जस्तो लक्षण देखिए पनि रगतको जाँच गर्दा हेपाटाइटिस ए र बी नदेखिएपछि यस्ता बिरामीलाई 'नन् ए- नन् बी हेपाटाइटिस' भन्न सुरु गरियो । सन् १९८९ मा रगतबाट सर्ने भाएरस पत्ता लाग्यो जसको 'सी' नामाकरण गरियो । पुराना रगतको नमुना पारीक्षण गर्दा नन् ए-नन् बी हेपाटाइटिस भनिएका अधिकांश नमुनामा हेपाटाइटिस सी नै देखियो । सन् १९९० देखि रक्त सञ्चार केन्द्र (ब्लड बैंक)हरूमा हेपाटाइटिस सी को जाँच नियमितरूपमा हुन थाल्यो । 

हिपाटाइटिस सीले मुख्यरूपमा कलेजोलाई असर गर्छ । यो जीवाणु शरीरभित्र पसे नपसेको धेरैलाई थाहै नहुन सक्छ । किनभने शरीरको प्रतिरोधात्मक क्षमताअनुसार र अरू रोग भए नभएअनुसार सुरुको अवस्थामा अन्य हिपाटाइटिस संक्रमणमा देखिने जन्डिस, वाक्वाक लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, शरीर भारी हुने नहुने पनि हुन सक्छ ।

Royal Enfield Island Ad

 

केही प्रतिशतमा भने शरीरको रोगसँग लड्ने क्षमताको कारणले गर्दा यसलाई शरीरले नै निर्मूल पारिदिन सक्छ । यस अवस्थामा अर्कोपटक हिपाटाइटिस सीको संक्रमण हुने संभावना न्यून रहन्छ । शरीरले जित्न नसकेको अवस्थामा यो जीवाणु रगत र कलेजोमा रहिरहने र कलेजोको संक्रमण भई 'क्रोनिक हिपाटाइटिस' हुन्छ ।

 

यस अवस्थामा लक्षण खासै देखिँदैन । त्यसकारणले पनि यसलाई 'साइलेन्ट किलर' भनिन्छ । पेटको बायाँ माथिल्लो भागमा भारी हुने र चाँडो थकाइ लाग्नेबाहेक अरू लक्षण नहुने कारणले गर्दा यो रोगको निदान समयमै गर्न गाह्रो हुनेगर्छ । क्रोनिक हिपाटाइटिस अवस्थाको उपचार नगरेमा कलेजो क्रमशः बिग्रँदै गएर अन्त्यमा 'लिभर सिरोसिस' हुन्छ । लिभर सिरोसिस भएपछि मात्र जण्डिस हुने, खुट्टा र पेट सुन्निने, शरीरको मांसपेसी घट्दै जाने, रगत बान्ता हुने, बेहोस हुने आदि देखिन सक्छ । 

सामान्यतया, हिपाटाइटिस सी संक्रमण भएर क्रोनिक हिपाटाइटिस भइसकेपछि अवस्था हेरेर १०–१५ वर्षपछि लिभर सिरोसिस हुनेगर्छ । तर हिपाटाइटिस सीको संक्रमण भएको व्यक्तिले रक्सी तथा रक्सीजन्य पदार्थको सेवन गर्ने गरेमा ५ वर्षभित्र पनि लिभर सिरोसिस हुन सक्छ । उपचार खर्च महँगो भएको कारणले र साइड इफेक्ट हुँदैन भन्ने भ्रम भएर आयुर्वेदिक औषधि वा जडीबुटी खानाले रोग अझ बिग्रने गरेको पाइएको छ ।

सन् १९९० देखि नै यस रोगको उपचार सुरु हुन थाल्यो । इन्टरफेरोन नामको औषधिले यसको उपचार सुरु हुन गयो । रोग पत्ता लागेको छोटो समयमै यसको उपचार सुरु हुनु ठूलै उपलब्धि थियो । तर, उपचारले निको हुनुभन्दा बढी यसको साइड इफेक्टको कारणले गर्दा धेरै जनाको उपचार गर्न सकिएन । सन् १९९८ मा राइबाभेरिन भन्ने औषधिको आविष्कार पछि भने यसको उपचारमा नयाँ आयाम थपियो । धेरै बिरामीको सफल उपचार हुन थाल्यो ।

इन्टरफेरोन र राइबाभेरिन एकचोटि प्रयोग गर्नाले पहिला उपचार हुन नसकेका बिरामीको पनि उपचार हुन थाल्यो । सन् २००१ मा साताको ३ पटक सुई लगाउन पर्ने इन्टरफेरोनको अर्को मोलेक्युल पेगाइन्टरफेरोन पत्ता लाग्यो ।

यो सातामा एकपटकमात्र लगाए पुग्नेभयो । यसको साथै इन्टरफेरोनको साइड इफेक्ट पनि कम हुने भएकोले यो उपचार निकै सफल हुन थाल्यो । जेनोटाइप हेरेर २४ साता र ४८ साता उपचार गर्दा ४०-८० प्रतिशतसम्म सफल उपचार गर्न सकिने भयो । 

लेखकले नेपालमा सन् २००४ बाट उपचार अनुभव सुरु गरेको थियो । साइड इफेक्टको डरले धेरै जना उपचार गर्नसक्ने हुँदाहुँदै पनि उपचार नगर्ने अवस्थामा प्रथम १० जनाको सफल उपचारपछि उपचार गराउनेको सङ्ख्या ह्वात्तै बढेर गयो । दस वर्षको अवधिमा झन्डै ६०० जनाको सफल उपचार गरेको अनुभव लेखकलाई छ ।

 

ठ्याक्कै  तथ्यांक नभए पनि उपचार गर्नुपर्ने सङ्ख्याको करिब ५ प्रतिशतमात्र हो भन्ने अनुमान गरिन्छ । धेरैको उपचार खर्च र केहीको साइड इफेक्टको कारणले उपचार गर्न सकिएको थिएन । उपचार गर्न नसक्नाले रोग दिन प्रतिदिन बढ्दै जाने र अकालमा मृत्यु हुने देखियो ।  

 

सन् २०११ अर्थात् राम्रो औषधि पत्ता लागेको १० वर्षपछि अरु ३-४ थरीका 'प्रोटियज इन्हिबिटर' भन्ने नयाँ औषधि पनि बजारमा देखिन थाले । पत्ता लागेको केही महिनामा यसको सफलता देखेर लाग्न थालेको थियो अब हिपाटाइटिस सी निर्मुल नै हुनेभयो । तर, यसका साइड इफेक्ट धेरै हुनु र रेजिस्टेन्स (काम नगर्ने अवस्था) देखिनुले यी औषधि नेपालमा आउनुअघि नै विश्व बजारबाट हराउन पुगे । पहिला औषधि गर्दा पनि निको नभएका, निको भएर पनि रोग फर्केका (रिल्याप्स) र लिभर सिरोसिस भएका बिरामी अझै पनि नयाँ औषधिको पर्खाइमा थिए ।  

 

उनीहरूको पर्खाइ २०१२ मा आएर सकियो जब 'सोफोसोबुभिर' नामको औषधि पत्ता लाग्यो र बिरामीमा प्रयोग हुनथाल्यो । यो औषधिको प्रयोग गर्नाले धेरैभन्दा धेरै बिरामी उपचार गर्न सक्ने भए । यो औषधि प्रयोग गर्दा इन्टर्फेरोन प्रयोग नगरी पनि उपचार हुनसक्ने देखिन थालेकोले धेरै बिरामी अब उपचारबाट वञ्चित हुन नपर्ने देखिन आएको छ । 

 

सन् २०१२ मा परीक्षण भई २०१३ सालमा बजारमा आएको यो औषधि छोटो समयमै धेरै प्रख्यात हुन गयो । पहिला निको हुन नसकेको र लिभर सिरोसिस भएका बिरामीको पनि यसबाट उपचार सम्भव हुन भयो । विश्व बजारमा एक चक्कीको मूल्य करिब १ हजार डलर पर्ने भएकोले यो औषधि हाम्रो लागि भने 'आकाशको फल आँखा तरी मर' भन्ने उखान जस्तै भान हुन्थ्यो ।

 

तर, बिरामीका लागि के गर्न सक्छौँ भनेर हाम्रो संस्थाबाट पहल गर्दा यो औषधि बजारमा प्रचलित मूल्यको १० प्रतिशतभन्दा कममा ल्याउन सकिने देखिएकोले करिब ३ महिनाको प्रयासपछि यो औषधि हाम्रो देशमा पनि उपलब्ध गराउन सकिएको छ । सन् २०१५ हाम्रो देशका हिपाटाइटिस सीका बिरामी र यसको उपचार गर्ने हामी चिकित्समको लागि कोसेढुंगा साबित हुनगएको छ । 

 

अद्भुत औषधि सोफोसबुभिर पत्ता लागि सकेपछि पनि वैज्ञानिकहरू चुप लागेर बसेका छैनन् । किनभने यसले अझै पनि करिब १० प्रतिशत रोगीलाई ठीक पार्न नसकेको देखिन्छ । सिमेप्रिभिर, डाक्लाटास्भिर र लेडिपस्भिर औषधिको प्रयोगले उपचारमा धेरै सजिलो भयो र धेरै बिरामीको उपचार गर्न संभव भयो । सन् २०१३ को अन्त्यमा सोफोस्बुभिर र भेल्पाटास्भिर एकै चक्कीमा उत्पादन हुन थालेपछि यो रोगको उपचार एकदम सहज हुन पुगेको छ । 
अब उपचार गर्नुअगाडि केही अपवादबाहेक जेनोटाइप हेरिरहन पर्दैन । कलेजो बिग्रनुभन्दा पहिलेको अवस्थामा यो रोग पत्ता लाग्ने हो भने ९९-१०० प्रतिशत व्यक्ति निको हुन सक्छन् । सिरोसिस भएका बिरामीमा भने राइबाभिरीन पनि समावेश गर्नु जरुरी हुनसक्छ ।

 

यी दुवै औषधि नेपालमा उपलब्ध छन् । तर, औषधि नियमन निकाय औषधि व्यवस्थापन विभागले सहजरूपमा राइबाभिरीन ल्याउने वातावरण नबनाइदिनाले अझै उपचार सहज भने छैन । यी औषधिबाहेक भाइरस निर्मूल पार्ने अरू औषधि पनि छन् तर हाम्रो देशमा हाल उपलब्ध छैनन् । विश्वको अन्य देशमा भोक्सिलाप्रेविर, ग्राजोप्रेविर, पिब्रेन्टास्विर, एल्बास्विर, ग्लेकाप्रेविर आदि प्रयोग गरेर हिपाटाइटिस ईको सफल उपचार भइरहेको छ ।  

 

विश्व स्वास्थ्य संगठनले सन् २०३० भित्रमा यो रोग उन्मूलन गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले पहल गर्ने हो भने हामीले पनि यो लक्ष्य भेट्टाउन सकिन्छ । हामी कहाँ उपलब्ध औषधि ठीक समयमा ठीक व्यक्तिमा प्रयोग गर्ने हो भने यो रोगलाई निर्मूल गर्ने प्रथम ५ देशभित्र हामी पनि पर्न सक्छौँ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro