
काठमाडौं । भारतीय राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत कौरलाई अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ ।
आईसीसी आचारसंहिताको नियम उल्लंघन गरेको भन्दै कप्तान कौरलाई प्रतिबन्ध लगाइएको हो ।
गत शनिबार बंगलादेशविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आउट भएपछि कौरले आफ्नो ब्याटले स्टम्प हान्नुको साथै अम्पायर तनविर अहमदसँग विवाद गरेकी थिइन् ।
खेल सकिएपछि पनि उनले अम्पायरको आलोचनासमेत गरेकी थिइन् । उनले आईसीसीको नियमअनुसार लेभल–२ को उल्लंघन गरेको जनाएको छ ।
विकेटमा ब्याटले हानेको र अम्पायरसँग विवाद गरेकोमा उनले तीन डिमेरिट प्वाइन्ट पाउनेछिन् । सार्वजनिक रूपमा अम्पायरको आलोचना गरेको हुँदा उनले थप एक डेमिरेट प्वाइन्ट पाउनेछिन् ।
उनलाई कुल चार डेमिरेट प्वाइन्टको लागि सिफारिस गरिएको छ । कुनै पनि खेलाडीले २४ महिना भित्रमा चारदेखि डेमिरेट प्वाइन्ट पाएमा आईसीसीको नियमअनुसार एक टेस्ट, दुई एकदिवसीय वा दुई ट्वान्टी–२० खेलमा प्रतिबन्ध लाग्नेछ ।
यसअघि कौरलाई उनको म्याच शूल्कको ७५ प्रतिशत जरिबाना पनि गरिएको थियो ।
अम्पायर तनवीर अहमद, मोहम्मद कमरुज्जमान, थर्ड अम्पायर मोनिरुज्जमान र अम्पायर अली अरमानले कौरबारे रिपोर्ट गरेका थिए ।