काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू फुटबल हारेको टिम जस्तै भएको टिप्पणी गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए ।
“केन्द्रीय समितिमा पाँच दिन कुरा सुन्दा केही पनि रहेनछ । लोकप्रिय रहेछ पार्टी केही समस्या रहेनछ भन्ने लाग्छ । पार्टी महामन्त्री बोल्छ यो मौन बस्यो भने सबै ठिक हुन्छ भन्ने छ । यो दुईवटै चिन्ताले पार्टी दुर्घटनामा छ । यो बेला समालिने बेला हो । आत्म निरीक्षण गर्नुपर्छ,” उनले भने, “हामी फुटबल हारेको टिम जस्तो भएका छौँ । यस्तो किन भयो ? बुझ्नुपर्छ ।”
उनले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । थापाले बाहिर जाँदा समस्या देखिने बताए ।
“पछिल्ला दिनमा महसुस गरेको कुराले आत्तिएको छु । जे बाहिर गयो खुसी छ, जो बाहिर गएन उ दुःखी छ । गाउँको किसानदेखि ठूलो उद्यम गरेकाहरु शिक्षक कोही पनि खुसी छैन,” थापाले भने, “होप नै मरेको देख्छु । भोलि राम्रो हुने बारेमा कतै विश्वास नै छैन । निराशा डरलाग्दो हुन्छ र यसको व्यापार डरलाग्दो हुन्छ । यसको व्यापार गर्ने हाम्रो वरिपरि छन् ।”