सन् २०२३ को जनवरीयता नेपालमा डेंगी संक्रमितको संख्या तीनहजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांक अनुसार जनवरीयता जुलाई १५ सम्म संक्रमितको संख्या दुई हजार ३० पुगेको छ ।
६६ जिल्लामा डेंगी देखिएकोमा सबैभन्दा बढी सुनसरीमा एक हजार ५७१ जना संक्रमित भएका छन् । काठमाडौं उपत्याकाका तीन जिल्लामा गरी १०७ जना संक्रमित भएका छन् ।
प्रस्तुत छ, डेंगी संक्रमणबाट जोगिने उपाय र यसका विविध पक्षबारे यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश :
डेंगी ज्वरो र अन्य ज्वरो कसरी छुट्याउने ?
पछिल्लो समय भाइरल, र डेंगी एकैपटक फैलिरहेका छन् । यो अवस्थामा आफूलाई के भएको हो भनी बिरामीलाई यकिन गर्न गाह्रो हुन सक्छ । तर, डेंगीको लक्षण अन्यभन्दा केही फरक हुन्छ, संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरू दुख्छन् । ज्वरोसँगै शरीरमा असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरू हुन् ।
कुन अवस्थामा डेंगी संक्रमण एक अर्कामा सर्छ ?
डेंगी व्यक्तिबाट व्यक्तिमा सर्दैन । तर, एउटै ठाउँमा बस्ने जस्तै परिवार, एउटै फ्ल्याटमा बस्ने व्यक्तिहरूमा संक्रमण भएको देखिन्छ । यसको कारण एउटै संक्रमित लामखुट्टेले वरिपरिका धेरैजनालाई टोक्नु हो । डेंगी फैलाउने लामखुट्टे सामान्यतया आठदेखि बाह्र दिनसम्ममा संक्रमण सार्न सक्षम हुन्छ र प्रजननको समयमा यसलाई धेरै प्रोटिन चाहिने भएकाले एउटै लामखुट्टेले धेरैजनालाई टोक्ने गर्छ । यसरी एउनै लामखुट्टेबाट धेरैजनामा संक्रमण सर्न भने सक्छ । तर, मानिसबाट मानिसमा भने सर्दैन ।
एकपटक डेंगी भएकालाई दोहोरिए कत्तिको सिकिस्त बनाउँछ ?
डेंगी संक्रमण गराउने चार प्रकारका भाइरस हुन्छन्, जसलाई सोरोटाइप भनिन्छ; डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी ४ । यीमध्ये कुनै एक भाइरसका कारण संक्रमित भएको व्यक्ति दोस्रोपटक सोही भाइरसबाट संक्रमित हुँदैन । तर, सेरोटाइप फरक भएर डेंगी फैलिएमा व्यक्तिमा दोहोरिन सक्छ । मैले हेरेका बिरामीमध्ये डेंगी दोहोरिएका संक्रमितमा झन कडा लक्षणहरू देखिने, गाह्रो हुने भएर अस्पताल आएको पाएको छु ।
लामखुट्टे नियन्त्रणका लागि गरिने फगिङले स्वास्थ्यमा असर गर्दैन ?
लामखुट्टेको लार्भा नष्ट गर्न फगिङ रसायनसहितको धुवाँ लगाउने वा स्प्रे छर्किने अभ्यास नेपालमा धेरै छ । तर, यसले मानव स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेबारे खासै अध्ययन र चर्चा भएको पाइँदैन ।
यद्यपि मास्कलगायत अन्य सुरक्षाका उपायहरू अपनाउन जरुरी हुन्छ । तर, लामखुट्टे पूर्ण रूपमा नियन्त्रणका लागि यी उपायहरू पर्याप्त छैनन् । विशेषगरी डेंगी संक्रमण गराउने एडिस जातको लामखुट्टे मानिसकै संसर्गमा रहन मन पराउने भएकाले व्यक्तिगत सुरक्षाका उपाय उपनाउनु नै संक्रमणबाट बच्नु हो । त्यस्तै, लामखुट्टे बस्ने वातावरण नबनाउनु, घर वरिपरि पानी जम्न नदिनु नै फगिङभन्दा प्रभावकारी उपायहरू हुन् ।
डेंगी संक्रमितले किन पेन किलर औषधि खान हुँदैन ?
कडा डेंगी संक्रमित भएकाहरूमा अत्यधिक शरीरको दुखाइ हुने भएकाले धेरै बिरामीले पेन किलर खाने गरेका छन् । फ्लेक्सोन, ब्रुसिटलगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । यस्ता औषधिको प्रयोगले नाक, गिजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउन सक्छ । त्यसैले डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरू बारम्बार खान र जीवनजल पानी धरै पिउन म सल्लाह दिन्छु ।