
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेताहरूले भाषण सुनाएर संगठन विस्तार नहुने बताएका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा उनले युवालाई पुरानो भाषण सुनाएर संगठन विस्तार नहुने बताए ।
“एक सयपटक तपाईंहरूको भाषण सुनाएर, मेरो भाषण सुनाएर संगठन विस्तार हुँदैन,” उनले भने, “अब हाम्रो संगठनको लक्ष्य क्षेत्र युवा विद्यार्थी हुनुपर्छ । अहिले ८ कक्षामा पढ्ने विद्यार्थी चार वर्षमा १२ मा पुग्छ । उसका लागि योजना बनाऔँ ।”
भट्टराईले कांग्रेसमा नेतृत्व गर्न चाहनेको पंक्ति ठूलो भएकाले सबैले अवसर पाउनुपर्ने बताए । उनले समानुपातिक, राष्ट्रिय सभा, राजनीतिक नियुक्ति र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दोहोर्याएर अवसर दिन नहुने बताए ।
“अब हामी समानुपातिक र राष्ट्रिय सभा कसैलाई दाहोर्याएर दिदैनौँ भनेर यो मिटिङबाट पास गरौँ । पोलिटिकल अपोइन्मेन्ट र पालिका प्रमुख र उपप्रमुख दोहोर्याएर नदिने निर्णय यो मिटिङले गर्नुपर्छ । किनभने पुरानो पार्टी हो धेरै नेतृत्वमा जान चाहन्छन्,” उनले भने
उनले जारी बैठकले कांग्रेसको गुट उपगुट अन्त्य भएको संकल्प पनि पारित गर्नुपर्ने पनि बताए ।