अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले ‘फर्स्टलेडी’ बारे आफ्नो किताब ‘विकमिङ’ मा बहुतै घतलाग्दा टिप्पणी गरेकी छिन् । उनी भन्छिन् - ‘अमेरिकी फर्स्टलेडीका बारेमा कुनै लिखित निर्देशिका छैन । प्राविधिक हिसाबले यो कुनै काम मानिदैन न त यो कुनै आधिकारिक उपाधि नै हो । यसका लागि कुनै तलब छुट्याइएको छैन न त फस्टलेडीले यी र यस्ता दायित्व पूरा गर्नुपर्छ भनेर नै उल्लेख गरिएकोछ’ । यो स्थान राष्ट्रपतिको सहयोग र मनोरञ्जनका लागि तयार गरिएको अनौठो किसिमको 'साइड कार' जस्तो लाग्थ्यो उनलाई ।
उनीभन्दा पहिलेका राष्ट्रपति जर्ज बुसकी पत्नी फर्स्टलेडीका हैसियतमा सय्यौं उच्चपदस्थ व्यक्तिहरूसँग फोटो खिचेको देखेर उनलाई आश्चर्य लागेको थियो। पूरै कार्यक्रमभर कत्ति नआत्तिईकन, एकैछिन पनि आराम नगरी, शान्त मुद्रामा घन्टौं आतिथ्य प्रदान गरेको देखेर फस्टलेडीले निर्वाह गर्नुपर्ने दायित्व के हो यस्तो भन्ने खुल्दुली लागेको थियो उनलाई । हार्भर्ड ल स्कुलकी स्नातक मिसेल रबिन्सन बाराक ओबामाको सानिध्यमा आउनुपूर्व नै सिकागोको एक प्रख्यात कानुनी संस्थामा वकालत पेसामा आबध्द थिइन् । बिबाह हुनुभन्दा पहिलेदेखि नै अन्यान्य कामसहित कानुनी सेवामा संलग्न मिसेलले आत्मनिर्भर र सक्षम व्यक्तिका रूपमा आफ्नो बेग्लै पहिचान बनाइसकेकी थिइन् । त्यसैले सायद पतिको नामबाट आइमिलेको फस्टलेडीका हैसियतमा सुन्दर पोसाकमा सजिएर बिदेशी पाहुनालाई दिएको सत्कार, उनीहरूसँग शिष्ट तरिकाले मुस्कुराउँदै फोटो खिच्ने चिया पान गर्ने, उत्सव र बिदाका समयमा ग्रिटिङकार्ड आदानप्रदान गर्नेजस्ता काममा सीमित भएको देखेर अनौठो मानेकी हुन् । तिनै अफ्रिकी मूलकी अमेरिकी मिसेल केही वर्षपछि त्यही आलङ्कारिक सिटमा बस्न पुगिन् । गोराहरूको एकछत्र वर्चस्व रहेको अमेरिकी इतिहासमा ओबामामात्र एकजना अश्वेत राष्ट्रपति चुनिन सफल भए भने उनैकी पत्नी मिसेललाई पनि पहिली अश्वेत फस्टलेडी बन्ने सौभाग्य प्राप्त भएपछि उनी पनि पहिलेका फस्टलेडीहरूले जस्तै औपचारिकता निर्वाह गर्दै बसिन् ।
मिसेलका अनुसार परम्परागत औपचारिताबाहेक पनि यहाँ यस्तै गर्नुपर्छ भन्ने विशेष वाध्यता नहुँदा सबैले आआफ्नै इच्छा र चाखअनुसार आफ्नो समयमा केही न केही नयाँ काम देखाउने जमर्को गरेर गएजस्तै उनी पनि केही विशेष काम गर्न चाहन्थिन् ।
अमेरिकामा अहिलेसम्म ४६ जना राष्ट्रपति बनिसकेका छन् - सबै पुरुष । तिनका पत्नीहरू फस्टलेडी कहलाउँछन् । पत्नी नहुनेहरूका छोरी अथवा नजिकका कोही महिला नातेदार जसले राष्ट्रपतिको नजिकमा बसेर सल्लाह दिँदै आएको छ उसलाई नै फस्टलेडी भनिदो रहेछ । आजीवन अविवाहित पन्ध्रौं राष्ट्रपति जेम्स बुक्याननकी भतिजी ह्यारियट लेनले घरायसी कामका साथै ह्वाइट हाउसका औपपचारिक -अनौपचारिक काममा सघाएबापत उनैलाई फस्टलेडीको उपाधिले पहिलोपटक संबोधन गरिएको इतिहास रहेछ ।
राष्ट्रपतिको अतिरिक्त राज्यका गभर्नरकी पत्नीलाई पनि फस्टलेडी भनिने सामान्य नै रहेछ । राष्ट्रपति पुरुष नभएर महिला भयो भने त्यस्तै दायित्व निर्वाह गर्ने पुरुषलाई के भन्ने होला भन्ने चर्चा पनि भएको रहेछ अमेरिकामा ।
हिलारी क्लिन्टन राष्ट्रपति पदको उमेद्वार बनेका बेला चुनाव प्रचारका क्रममा कसै कसैले बिल क्लिन्टनलाई हुनेवाला ‘फर्स्ट जेन्टलम्यान’ पनि भन्न थालेछन् । तर, उनी पहिले नै राष्ट्रपति बनिसकेको हुँदा जसले पनि मिस्टर प्रेसिडेन्ट भनेर बोलाउँदा यो पदावली उति प्रचलनमा आएन । तर जुन जुन स्टेटमा महिला गभर्नर छन् उनीहरूका जीवनसाथीलाई ‘फर्स्ट जेन्टलम्यान’ भन्ने चलन राम्रै चलिसकेको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सामाजिक सञ्जालमा उहाँकी पत्नीलाई ‘फर्स्टलेडी’ भनेको देखियो । राष्ट्रपतिको संवैधानिक व्यवस्था भएपछिका प्रथम राष्ट्रपति रामवरण यादवलाई सघाउने छोरीलाई कसैले फस्टलेडी भनेजस्तो लागेन । विद्यादेवी भण्डारी महिला नै राष्ट्रपति भएकाले त झन् ‘फस्टलेडी’ को सान्दर्भिकता नै देखिएन छ । देशले राष्ट्रपति पाउन थालेको एक दशकपछि ‘फस्टलेडी’ शब्दको प्रयोग बढ्दै गएको छ यतातिर पनि ।
यसभन्दा पहिले शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला यदाकदा आरजु देउवालाई कसैले फस्टलेडी भन्ने संबोधन गरेको पनि देखिएको थियो । हाम्रो सन्दर्भमा यो उपाधि कतै उल्लेखित छ कि छैन थाहा छैन । छ भने नेपाली संविधानले राष्ट्राध्यक्ष घोषणा गरेका राष्ट्रपतिकी पत्नीलाई अथवा अधिकारसंपन्न कार्यकारी प्रमुख प्रधानमन्त्रीकी पत्नी कसलाई यो उपाधि प्रदान गरिएको छ ? हालसालै दिल्ली भ्रमणका बेला प्रधानमन्त्रीको छोरी गंगा दहाललाई पनि फस्टलेडी हुन खोजेकी भनेर कटाक्ष गरिएको थियो सामाजिक सञ्जालमा । भारतमा पत्रकारहरूले पनि तपाईँ फस्टलेडी हो ? भनेर सोधेछन् । उनले यो गोलमटोल पदवी बारे के उत्तर दिइन् थाहा भएन । प्रधानमन्त्री पुष्पलमल दहालकी पत्नीको निधनपछि उनलाई फस्टलेडीको सम्मानसाथ अन्त्येष्टि गरिएको भनिएको थियो समाचारमा ।
साधारणतया राजाकी पत्नीलाई रानीको दर्जा दिए जस्तै गणतान्त्रिक मुलुकमा राष्ट्रपतिकी पत्नीलाई प्रथम महिला अथवा फस्टलेडी भन्ने चलन सामान्य लाग्छ । तापनि राजा भएको देश जापानमा प्रधानमन्त्रीकी पत्नीलाई फस्टलेडी भन्ने चलन रहेछ । पाकिस्तानीहरू भने राष्ट्रपतिलगायत प्रधानमन्त्रीकी पत्नीलाई पनि फस्टलेडी भन्दा रहेछन् । हाम्रो सन्दर्भमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्यपछि यस्तै मुलुकको देखासिकी गरिएको होला भन्ने अनुमान गर्न करै लाग्छ । अरूकै प्रचलन पछ्याएकै भए पनि अन्यथा मान्ने कुरा भएन । किनभने अनेक प्रचलन, रीतिरिवाज र संस्कारहरू एक ठाउँबाट अर्को ठाउँमा सर्दै जान्छन्, एक समुदायबाट अर्कोले नक्कल गर्छन् । आखिर मानिस अर्कोको अनुभवबाट सिक्ने प्राणी त हो ।
अनेकौं देशका प्रचलनको अनुसरण गर्नेक्रममा अहिलेका राष्ट्रपतिकी पत्नीका अतिरिक्त तत्कालीन प्रधानमन्त्री पत्नी आरजु अथवा अहिलेका प्रधानमन्त्रीकी पत्नी सीता दहाल र छोरी गंगा दाहालसमेत जसलाई पनि फस्टलेडी भन्दा पनि अर्घेल्याइँ गरेको भन्न नमिल्ने लचिलो दर्जा रहेछ यो ।
हरेक सफल पुरूषका पछाडि कुनै न कुनै महिलाको हात हुन्छ भन्ने कहावतअनुसार देशको उच्च पदस्थ पुरूषहरूका विश्वासी र सहयोगीलाई दिइने सम्मानको प्रतीक रहेछ यो पदवि । अधिकांश समय पत्नीले र कहिले काहीँ छोरी अथवा अरू कसैले पनि यसको दायित्व निर्वाह गर्दा रहेछन् । इतिहासले यस्तै देखाउँछ ।
स्वतन्त्र भारतमा सुरुदेखि नै राष्ट्रपतिकी पत्नीलाई फर्स्टलेडीको दर्जा दिइए पनि सार्वजनिक कार्यक्रममा उनीहरूको न्यून उपस्थितिले गर्दा यसको प्रयोगै छैनजस्तो लाग्छ । वर्तमानमा द्रौपदी मुर्मु स्वयं महिला राष्ट्रपति हुँदा फस्टलेडी छैनन् अहिले भन्दारहेछन् भारतीयहरू । अमेरिकामा जस्तो फर्स्ट जेन्टलम्यानको दर्जा भने यतातिर उति सुन्नमा आउँदैन र पनि भारतकी प्रथम महिला राष्ट्रपति प्रतिभा पाटेलका पतिले यस भूमिकामा भारतमा सानातिना काम गरेको उल्लेख देखिन्छ ।
हाम्रो सन्दर्भमा भर्खर चल्तीमा आएको तर यकिनसाथ को हो फस्टलेडी भन्ने नै टुङ्गो नलागेजस्तो अवस्थामा उनीहरूको काम र कर्तव्य के हो भन्ने कुरा खोज्नु झनै कुहिरोमा काग हराए जस्तै त होला भन्ने लागे पनि जताबाट हामीले यो शब्द प्रयोगमा ल्यायौँ त्यतैको प्रचलनलाई नियाल्दा थाहा हुन्छ नितान्त अनौपचारिक भईकन पनि फस्टलेडी भन्ने दर्जाले अपार सम्मान बोकेकोछ ।
अमेरिकी फर्स्टलेडीका कामका बारेमा ‘काम छ, तलब छैन, 'प्ल्याटफर्म' छ शक्ति छैन अनि ह्वाइट हाउसको 'इस्ट विङ'मा धेरै कर्मचारी त छन् तर बजेट छैन’ भन्ने गरिए पनि यसप्रतिको आकर्षण पनि उत्तिनै छ । अनि काम गर्न उत्सुकहरूलाई धेरथोर र अवसर पनि प्रदान गरेकै रहेछ यसले । तैपनि बुझ्नुपर्ने कुरा के हो भने पुरूषद्वारा आर्जित पदका पछाडि फुर्को लागेको, कामकर्तव्यविहीन फस्टलेडीजस्तो स्वतः मिलेको पदमा काम गर्दा अधिकांश महिलाले आफ्नो खुबी देखाउन सकेका छैनन् । यदाकदा खुलेर काम गर्न खोज्नेहरूलाई समाजले अंकुश लगाएका यथेष्ट प्रमाणहरू देखिन्छन् । त्यसैले त कसैले आफूले चाहेका कामै थाल्न नसक्ने, कसैले अत्यधिक आलोचना सहन नसकेर कामै छोडेर चुप लाग्न पनि बाध्य भएको देख्दा 'प्ल्याटफर्म' छ 'पावर' छैन भनेर यस पदवीको सही मूल्याङ्कन गरिएको प्रतित हुन्छ ।
सन् १७७४ मा स्वतन्त्र भएपश्चत् झण्डै अढाई सय वर्षभन्दा लामो निर्वाचनको इतिहास पार गर्दा अमेरिकीहरूले ४६ जना राष्ट्रपति चुनिसकेका छन् सबै पुरूषमात्र । कोही आठ वर्ष, कोही चार बर्ष त कोही दुई कार्यकाल पछि फेरि तेस्रोपटक पनि राष्ट्रपति बनेकाछन् । यति लामो कालखण्डमा एकैजना पनि महिला निर्वाचित नभएको देख्दा महिलाप्रतिको अमेरिकीहरूको दृष्टिकोण कति अनुदार रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । आधुनिक जगतमा अत्यधिक प्रयोग हुने समावेशिताको अभयासको यिनीहरू कुन हदमा बेवास्ता गर्नसक्दा रहेछन् भन्ने उदाहरण अरू खोज्नै पर्दैन ।
उत्कृष्ट लोकतन्त्रको अभ्यास गर्दै गरेको भनिने मुलुकमा बल्लबल्ल एकपटक उमेद्वार बन्नपाएकी हिलारी जस्ती योग्य, प्रतिभाशाली सक्षम महिलालाई हराएर डोनाल्ड ट्रम्पजस्ता नौटङ्कीलाई जिताएका मतदाताको चेतनाको स्तर पनि यसले स्पष्ट पारेकै छ । विडम्बना, जतिसुकै योग्य र सशक्त महिला पनि राष्ट्रपति होइन तर उनीहरूको पत्नीका हैसियतले प्रदान गरेको ‘फर्स्टलेडी’ भनिने नितान्त अनौपचारिक उपाधि र यसबाट निर्दिष्ट परम्परागत अभ्यासमा मात्रै रम्न बाध्य छन् अहिलेसम्म ।
मिसेल ओबामाले आफ्नो किताबमा ‘परम्परागत औपचारिताबाहेक पनि यहाँ यस्तै गर्नुपर्छ भन्ने विशेष वाध्यता नहुँदा सबैले आआफ्नै इच्छा र चाखअनुसार केही न केही नयाँ गर्ने जमर्को गरेर गए’ लेखेकी छिन् ।
अमेरिकाबाहिरको कुराबाट थालौं - फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सारकोजीकी पत्नी कार्ला ब्रुनी फेसन मोडेल हुन् । यी सुपर मोडेल गीत रचना गर्न र गायनमा पनि सोखिन छिन् । सार्कोजी राष्ट्रपति होउन्जेल उनले आफ्ना सोख छोडेर सार्कोजीकी सहायक भएरै काम गरिन् अथवा नामकी फस्टलेडी काम राष्ट्रपतिको अवश्यकताअनुसारको उत्सवमा सामेल हुने, फोटोखिच्ने, ग्रिटिङ कार्ड पठाउने आदि आदि । राष्ट्रपतिको कार्यकाल समाप्तिपछि अहिले उनी आफ्नै रुचीका काममा फर्केकी छिन् । ब्रुनीमात्र होइन अमेरिकाका कतिपय पेसामा संलग्न महिलाहरूले फस्टलेडी बनेपछि आफ्ना आर्जनका पेसा छोडेर फर्स्टलेडीकै अनौपचारिक काममा रमाएका पनि छन् ।
आफ्नो कमाइ गुमे पनि राष्ट्राध्यक्षको पत्नीका हैसियतमा मिल्ने मानसम्मान र इज्जतका अतिरिक्त यसले प्रदान गर्ने विशेष अवसरले गर्दा यो पद आकर्षणक रहिआएको छ । त्यसैले त होला- पति, पिता अथवा जो कोही नातेदार राष्ट्रपति हुँदा महिलाहरू फस्टलेडीको दर्जाका पाउन उत्सुक नै हुन्छन् । कतिपय बेला यो दर्जा प्राप्तिका लागि महिलाहरूबीच संघर्ष नै पनि चलेको देखिन्छ । उदाहरणका लागि जर्मनीमा एडल्फ हिटलर चान्सलर भएका बेला उनीसँग सम्बध्द दूई महिलाको भूमिका रहस्यपूर्ण रहेको देखिन्छ । एउटी थिइन् - हिटलरलाई औपचारिक उत्सवमा सहयोग गर्ने तथा नाजीवाद विस्तार गर्न महत्त्वपूर्ण भूमिका भएका उनकै प्रधान सेनापतिकी पत्नी क्यारिन ग्लोरिङ । अर्की हिटलरकी लामो समयसम्म अनन्य मित्र भएर सँगै बसेकी, एउटै संगठनमा काम गर्ने इभा ब्राउन । हिटलरसँगै झण्डै डेढ दशकभन्दा लामो समय सँगै बसेकी (लिभिङ टुगेदरको हैसियतमा) ब्राउन र हिटलरले दोस्रो विश्वयुध्दमा पराजित भएपछि सँगै आत्महत्या गरेको मानिन्छ । अझ अनौठो त के भने मृत्युवरण गर्नुभन्दा एक दिन पहिलेमात्र आजीवन अविवाहित रहेका भनिने हिटलर र इभाले विवाह गरेका थिए । हिटलरका यिनै दुई सहयोगी महिलाहरूबीच आफू फस्टलेडी घोषित हुनुपर्छ भन्नेमा लामो समय भित्रभित्रै निकै संघर्ष चलेको थियो ।
अमेरिका स्वतन्त्र भएपछि सन् १७८९ मा प्रथम राष्ट्रपति बनेका जर्ज वासिङ्टन पत्नीलाई आफ्नो सहयोगका लागि पनि धेरै काम दिन चाहन्थे । तर, उनकी पत्नी मार्था वासिङ्टन भने राजनीतिक मुद्दाहरुबाट परै रहन कोसिस गर्थिन् तापनि मानिसहरू उनका ससाना क्रियाकलाप बडो सूक्ष्मरूपमा अवलोकन गरेर राष्ट्रपतिलाई हस्तक्षेप गर्छिन् भन्ने ठानेर उनलाई ‘लेडी वासिङ्टन’ भन्न थालेछन् । त्यसबेलासम्म फस्टलेडीभन्ने चलन चलिसकेको थिएन ।
दोस्रा राष्ट्रपति जोन एडम्सकी पत्नी अबिगेल एडम्सको स्वभाव भने मार्थाको भन्दा ठीक उल्टो थियो । फर्स्टलेडीबाट अपेक्षा गरिने सामान्य सामाजिक क्रियाकलाप र राष्ट्रिय उत्सवका औपचारिकताबाहेक राजनीतिका हरेक पक्षमा निकै चाख थियो उनलाई । राजनीतिक दलका अनेकौं मुद्दामा प्रत्यक्ष सामेल हुने र राष्ट्रपतिलाई पनि सल्लाह दिन्थिन् उनी । उनका यस्ता गतिविधि जनमानसले पचाउन नसकेर उनलाई नै ‘मिष्टर प्रेसिडेन्ट’ भन्न सुरू गरेका थिए रे ।
प्रथम विश्वयुध्दताका राष्ट्रपति रहेका उडरो विल्सनकी पत्नी पनि पतिको हरेक काम याद राख्ने व्यक्ति थिइन् । युध्द सकिने बेला फ्रान्सको भर्सलिजमा सन्धि हुँदा पतिसँगै उनी पनि गएको जनताले उति मन पराएनन् । विल्सन स्ट्रोकका कारण शारीरिक रूपमा अशक्त थिए । त्यसले पत्नी विल्सनले उनलाई छोड्न पनि मिल्दैन थियो । यसले गर्दा उनी बढी सक्रिय हुनै पर्थ्यो । महिलाको सक्रियता देख्न नसक्नेहरूले विल्सनको सरकारलाई ‘पेटिकोट गभर्नमेन्ट’ को नाममा उल्याउन सुरू गरेका थिए ।
फ्र्यांङ्कलिन रूजबेल्टकी पत्नी एलिनोर रूजबेल्ट फस्टलेडी हुँदामात्र होइन रुजबेल्टको निधनपछि पनि अत्यन्त सक्षम व्यक्ति मानिन्थिन् । उनको राजनीतिक र सामाजिक सक्रियताको सही मूल्याङ्कन गर्दै उनीपछिका रास्ट्रपति जोन एफ केनेडीले एलिनोरलाई संयुक्त राष्ट्रसंघमा अमेरिकाको प्रतिनिधि बनाएका थिए । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको प्रारम्भिक प्रारूप तयार गर्नमा उनको ठूलो भूमिका थियो भनिन्छ । पतिको निधनपछि त उनी डेमेक्र्याटिकपार्टीको पूर्णकालिक सदस्यको हैसियतले डेढ दशकभन्दा बढी सक्रिय रहिन् । उनको लगनशीलता, इमानदारी र निन्तरको सक्रियता देखेर केनेडी चकित पर्थे । त्यसैले उनलाई महिला आयोगको अध्यक्षको काम पनि सुम्पिएका थिए । यस कामको दायित्व उनले बाँचुन्जेल निर्वाह गरिन् । यस्ती क्षमतावान पत्नीको सहयोगले रुजबेल्टलाई हरेक जटिल निर्णय पनि लिन सहज हुन्थ्यो भनिन्छ । एलिनोरले दोस्रो विश्वयुध्दताकाका अनेक उतारचढाव सूक्ष्मरूपमा अध्ययन गर्ने र प्रतिवेदन तयार गर्ने तथा प्रेस विज्ञप्ति निकाल्नसमेत सघाउँथिन् रूजबेल्टलाई । उनलाई रूजबेल्टको ‘आँखा र कान’ भन्ने गरिन्थ्यो ।
करिब अढाई सय वर्षभन्दा लामो अमेरिकी इतिहासमा राष्ट्रपतिको उमेद्वार बन्ने साहस गर्ने र अवसर पाएकी एकमात्र महिला हिलारी क्लिन्टनले पनि पहिला त फर्स्टलेडीकै जिम्मेवारी समालेकी हुन् । डेमोक्र्याटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा बाराक ओबामाभन्दा पछि परेकाले उमेद्वारीका लागि उनले ओबामाका दुई कार्यकाल कुर्नुपरेको थियो । त्यस समयमा पनि राष्ट्रपति ओबामाले उनको राजनीतिक सुझबुझ र कूटनीतिक दक्षताको कदर गर्दै विदेश मन्त्रीजस्तो महत्त्वपूर्ण पद सुम्पेका थिए । पार्टी संगठनमा लामो समय खटेकी, कानुनकी ज्ञाता र सबै आधारमा दक्ष हिलारीले फस्टलेडी हुँदा आफ्नो विद्वताअनुसार वैदेशिक मामलामा केही नीतिगत सुधार हुनुपर्ने कुरामा सुझाव राख्दा पनि विरोधै सहनु परेको थियो । स्वास्थ्य सेवामा सुधारका विषयमा उनका पतिले सुम्पेको दायित्व थाल्दा एक प्रकारको आलोचना खेप्न परेको थियो भने छोड्दा अर्को प्रकारको आलोचना सुन्नु परेको थियो ।
सरसर्ती हेर्दा जुन जुन फस्टलेडीहरू अमेरिकी समाजको परम्परागत अपेक्षाअनुसार राष्ट्रपतिको छायाको रुपमा रमाए, जो जो राज्यको महत्त्वपूर्ण सवालमा उदासीन रहन्थे वा आफ्ना विचार दिन हिच्किचाउँथे उनीहरूले अमेरिकी समाजमा प्रशंसा पाउँथे । उदाहरणको लागि केनेडी पत्नीको सुन्दरताको बखान हुन्थ्यो, ह्वाइट हाउस सिँगार्ने उनको कामले पनि प्रशंसा पायो । बारबारा बुसको साक्षरता अभियान, उनैकी बुहारी लौरा बुसको लाइब्रेरी स्थापना, न्यान्सी रेगनको लागुपदार्थ विरोधी अन्दोलन, मिसेल ओवामाको ह्वाइट हाउसको करेसाबारीमा अर्ग्यानिक तर्कारी उत्पादन गर्ने र बालबालिकाको पोषणसम्बन्धी अभियानले निकै प्रशंसा बटुलेको देखिन्छ । कतिसम्म भने महिलाको केस विन्यास र फेसन डिजाइन पनि कोही कोही फस्टलेडीको पहिचान नै बन्यो । ह्वाइट हाउस वरपर चेरीका बिरूवा लगाउने अभियान पनि रूचाइयो । यस्तै कुरा अमेरिकी जनमानसले बढी रूचाए, यस्तै कामहरू प्रशंसित भए । तर जसजसले केही नयाँ विचार अघि सार्ने जमर्को गरे, जसजसले राजनीति, विदेशनीति, प्रशासन, न्यायसेवा र सुरक्षाजस्ता महत्त्वपूर्ण मानिने सवालमा चासो लिए तिनको व्यक्तित्व पचाउन अमेरिकी समाजलाई गाह्रो भयो ।
रोनाल्ड रेगनकी पत्नी न्यान्सी पतिका विस्वासपात्र कर्मचारी 'हायर' र 'फायर' गर्न रूचि देखाउने, राष्ट्रपतिको भ्रमणको एजेण्डा तय गर्ने काममा तल्लिन भएको देखेर सबैले उनलाई फर्स्टलेडीको दायित्वभन्दा अघि बढेर ‘झन्डै राष्ट्रपति हुन खोजेकी’ सम्म भने । चलाख न्यान्सीले जनविरोध देखेर राष्ट्रपतिसँग सम्बन्धित काम चटक्कै छोडिन् र दुर्व्यसनविरूध्द काम गर्न थालिन् । अनि हाईहाई हुन थालिन् ।
न्यान्सीजस्तै जिम्मी कार्टरकी पत्नी रोजलिन अन्य देश देशावर डुलेर देशको बन्दव्यापार र सूरक्षा मामला मजबुत बनाउने हेतुले काम गर्न थाल्नेबित्तिकै ‘फर्स्टलेडीले गर्ने कामबाट अन्यत्र बरालिएकी’ भन्ने आरोप आउन थाल्यो । त्यसपछि त्यस्ता काममा चासो लिन छोडेर उत्सवका कार्यक्रममा मात्र सीमित हुन थालिन् । अनि अमेरिकीहरूले उनलाई प्रशंसा गर्न थाले ।
यसरी राष्ट्रपतिकी पत्नीले राजकाजमा अलिकति पनि चासो र संलग्नता बढाएको अमेरिकी दुनियाँलै पटक्कै मन नपराएको देखेर आफ्नो चाखका काम त्यागेर भागेका थुप्रै फर्स्टलेडीहरू छन् अमेरिकी इतिहासमा । आफ्नो चाहना र क्षमता अनुसार राज्य र राष्ट्रले गर्ने कामप्रति अग्रसरता देखाएको रूचाएनन् अमेरिकी जनताले । जनताको असन्तुष्टिलाई हेरेर फस्टलेडीहरू आफ्ना चाहनालाई तिलाञ्जली दिएर एक कदम पछि हट्न बाध्य भएका छन् ।
हाम्रा गाउँघरमा अलिक टाठीबाठी पत्नीलाई ‘मुख छँदाछँदै नाकले पानी खान मिल्दैन’ अथवा ‘ पोथी बासेको सुहाउँदैन’ भन्दै खुम्चिएर बस्न बाध्य पारेजस्तै फर्स्टलेडीहरूलाई पनि आफ्नो अतिरिक्त औकात देखाउने अवसर दिएन अमेरिकी समाजले ।
जनताको लगातारको चेतावनी र निर्वाचित राष्ट्रपतिजस्तो नभई यस आलङ्कारिक उपाधिको सीमितता बुझेर नै होला कुनै फर्स्टलेडीका गतिविधिका कारण राष्ट्रपति र सरकारलाई अप्ठ्यारोमा परेको घटना भने देखिँदैन अमेरिकी इतिहासमा । यसको उल्टा फिलिपन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसकी पत्नी इमेल्दालाई राष्ट्रपतिको अधिकारको दुरूपयोग गर्दै अत्यन्त विलासी जीवन व्यतित गर्ने व्यक्तिको रूपमा विश्वले चिन्छ । सरकारको खर्चमा देश देशावर डुल्नुपर्ने, महङ्गा ब्रान्डेड सामान किन्नुपर्ने, गरगहना, लुगा र जुत्ताकी सौखिन इमेल्दाका ३ हजार जोर त जुत्ता नै थिए भनिन्छ । आफ्नै सरकार लुट्नेमा दरिएका मार्कोस दम्पतीको नाम भ्रष्टाचारीको रूपमा गिनिज बुकको रेकर्डमै रहेको थियो ।
फर्स्टलेडीका हैसियतले देश विदेशमा ख्याति कमाएकी एक महिलाको नाम सुन्नमा आइरहन्छ आजभोलि । अमेरिकी टाइम म्यागेजिनको मूल्याङ्कनमा सन् २०२३ सालका विश्वका सयजना प्रतिभाशालीमध्येकी एक हुन् - ओलेना जेलेन्स्का । उनी अहिले रूसी आक्रमणको प्रतिरोध गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पत्नी हुन् । सहरी संरचना र व्यवस्थापनजस्तो विषयमा स्नातक गरेकी ओलेना उनका पतिजस्तै सिनेमा क्षेत्रमा परिचित नाम हो । पटकथा लेखनदेखि सिनेमा निर्माणका अनेक पक्षमा काम गरिसकेकीछन् उनले । गीत, संगीतकी पारखी पियानो वादक अनि खेल रूचाउने ओलेना विद्यालयमा शैक्षिक सुधार, लैङ्गिक हिंसाविरूध्दका अनेकौं अभियान र युध्दपीडितका उद्धारका थुप्रै काममा संलग्न छन् । युक्रेनका आन्तरिक सुधारका कामबाहेक ओलेनाको नाम अहिले फर्स्टलेडीका हैसियतले अन्तर्राष्ट्रिय स्तरमा विशेषरूपले चर्चित हुँदै छ ।
२३, अगस्ट २०२१ मा यिनै जेलेन्स्काको अगुवाइमा युक्रेनको राजधानी किभमा ‘फर्स्टलेडिज एण्ड जेन्टलमेन’हरूको सम्मेलन भएको थियो । विभिन्न देशका ११ जना फर्स्टलेडीहरूले भाग लिएको यस सम्मेलनले कोभिडपछिको यथार्थ र समाधानका उपाय पत्ता लगाउने प्रयत्न गर्दैछ । सम्मेलनले अन्तर्राष्ट्रिय साझा मञ्चको निर्माण गरेर सबैको अनुभव र आवश्यकताको आधारमा जनहितमा काम गर्ने प्रतिबध्दता जनाएको छ । फर्स्टलेडीज र जेन्टलमेनहरूको भूमिकामा रही हरेक काम प्रभावकारी ढङ्गले सिध्द गर्ने प्रतिबद्धता सहभागीहरूले जनाएका छन् । ऐलेसम्म आआफ्ना देशमा मात्र सीमित फर्स्टलेडीहरूको संगठनको विस्तार र यसले विश्वव्यापीरूपमा दिन सक्ने योगदानको बारेमा सोच्ने र कोरोनापीडित तथा युध्दपिडीतको पक्षमा काम गर्ने विशेष मिसनको प्रारम्भ गर्ने श्रेय यिनै ओलेना जेलेन्स्कालाई जान्छ । जेलेन्स्काले फस्टलेडीमात्र होइन अहिलेसम्म निस्क्रिय प्रायः रहेका फस्टजेन्टलमेनहरूको सहभागिता जुटाएर सहकार्यको थालनी गर्ने जुन प्रयत्न गरिन् त्यसको प्रशंसा भइरहेको छ ।
उनले १९ जुलाई २०२२ मा अमेरिकी संसद्लाई सम्बोधन गर्ने मौका पाएकी थिइन् । ओजपूर्ण भाषणमा उनले विश्वव्यापीकरणको आजको युगमा कुनै मुलुकका पनि भिन्न समस्या छैनन्, साझा मूल्य र साझा विचारबाट अभिप्रेरित हाम्रा समस्या पनि साझा नै हुन् भन्दै युक्रेनमाथिको रसियन आक्रमणमा परेका परिवार र बालबच्चाको भविष्य बारे सबैको ध्यान जानुपर्नेमा जोड दिएकी थिइन् । अन्य देशबाट फर्स्टलेडीका हैसियतले अमेरिकी संसद्मा सम्बोधन गर्ने पहिली महिला हुन् उनी । उनको निर्भीक अभिव्यक्ति र सारगर्भित भाषणले अमेरिका र बाहिर पनि निकै प्रशंसा बटुलेको थियो ।
यिनै ‘फस्टलेडी अफ याक्सन’ भनिने जेलेन्स्काको अगुवाइमा आउँदो २३ जुलाई २०२३ मा युक्रेनमा फर्स्टलेडीज एन्ड फर्स्ट जेन्टलमेनहरूको अर्को सम्मेलन आयोजना गरिँदैछ । आजको असन्तुलित समाजका साझा समस्या निवारणका लागि फस्टलेडी र फस्टजेन्टलमेनहरूले प्रभावकारी भूमिका खेल्न सक्छन् भन्ने उनको ध्येयमा पहिलेभन्दा धेरै देशबाट सहभागी हुने अपेक्षा गरिएको छ । फेसन, कला र संस्कृतिलगायत मानव अधिकार, शान्ति र सुरक्षासम्बन्धी अनेकौं अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित ओलेना जेलेन्स्काको मिसनको प्रभावकारिता कति बढ्ने छ भन्ने हेर्नका लागि किभमा हुने सम्मेलनमा विश्वका कति फस्टलेडी र जेन्टलमेनले भाग लेलान् र के के काम गर्ने प्रतिबध्दता जनाउलान् भन्ने कौतुहल यही जुलाई महिनाको अन्त्यसम्म मेटिनेछ ।
के यस सम्मेलनमा मेरो देशका फर्स्टलेडीलाई पनि निम्त्याइएला? कि यसबारे हाम्रा फस्टलेडी र फर्स्टजेन्टलमेन बेखबर नै रहलान् ? भाग लियो भने प्रतिनिधित्व गर्ला कसले ? एकदुई साता पर्खेपछि यो जिज्ञासा पनि मेटिनेछ । पर्खौँ न त !