site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले बनायो डेंगी रोकथाम र नियन्त्रणको कार्ययोजना, विज्ञ भन्छन्– संक्रमण अझै बढ्छ

काठमाडौं । नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको छ । सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागु गरेको यो पहिलोपटक हो ।

यसअघि, सरकारले डेंगी रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यसपटक डेंगी नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाएर ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ ।

सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भूमिकाबारेमा स्पष्ट पारिएको छ । बुधबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा स्थानीय तहमा एक्सन प्लानसहित विशेष सर्कुलर जारी गरेको बताए ।

“डेंगीको जोखिम बढ्नसक्छ भनेर केही कार्ययोजना बनाएका छौँ । यो वर्षको कार्ययोजना बनीसकेको छ । कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास कसरी रोक्ने ? उपचारमा केके गर्ने ? स्थानीय तहको भूमिका के हो ? रेडक्रसको भूमिका के हो ? भन्ने विषय समेटेका छौँ,” मरासिनीले भने, “कार्ययोजना ७७ वटै जिल्लामा पठाइसकेका छौँ । बढी जोखिम भएका ९२ वटा पालिकामा एक्सन प्लानसहित विशेष सर्कुलर गरिसकेका छौँ । बढी जोखिम भएका ठाउँहरु काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका सरोकारवालाहरुसँग बसेर कार्यक्रम गरिसकेका छौँ । उच्चस्तरीय डेंगी नियन्त्रण कमिटीमा पनि छलफल गरेर निर्णयहरु गरेका हौँ ।”

डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको बताए । पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगी संक्रमण देखिएको उल्लेख गरे । भने, “सन् २००४ देखि २०२३ सम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगी संक्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार असार ३० सम्म दुई हजार ९३० जनामा डेंगी संक्रमण देखिएको छ ।”

मरासिनीले डेंगीको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको पनि बताए । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरिपरि पानी जमेको ठाउँको नष्ट गर्नु रहेको बताए । लामखुट्टेको वृत्तिविकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताउँदै उनले अहिले पनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको जानकारी दिए ।

लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मनसुन बढेसँगै डेंगीका बिरामीको संख्या बढेको बताए । 

“लामखुट्टेको वृत्तिविकास खास गरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुन्छ । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको अवस्था देखिन्छ,” उनले भने, “गत वर्ष जुलाई, अगष्ट र सेप्टेम्बरमा करिब ५४ हजारमा डेंगी संक्रमण देखिएको थियो । गत जुलाई १५ सम्म करिब तीन हजार केस रिपोर्टिङ भइसकेको छ ।”

डा.मरासिनीले डेंगी रोकथाममा सरकार गम्भीर भएर लागेको बताउँदै लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पुर्‍याउनुपर्ने बताए । डेंगी सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने उनले बताए । अस्पतालहरु पनि शतर्क र सुदृढ हुन जरुरी रहेको उनको भनाइ छ ।

“अस्पतालहरु पनि सुदृढ हुन जरुरी छ । उपचार पनि सहज हुन जरुरी छ । बिरामीहरुलाई रगतको अभाव हुन दिनु हुँदैन । डेंगीको रोकथाममा स्थानीय तह र आम मानिसको योगदान नै बढी हुने हुनाले जबसम्म उहाँहरु सचेत हुनुहुन्न, डेंगी बिरामी सार्ने लामखुट्टेको वृत्तिविकास कसरी हुन्छ ?,” उनले भने, “र, लामखुट्टेलाई कसरी हामीहरुले नियन्त्रण गर्ने भन्ने विषयमा आम जनताहरुको सचेतना पुग्दैन, तबसम्म नियन्त्रणको काम जटिल हुन्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगी रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताए । डा.पुनले डेंगी रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भन्दै तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगीको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताए ।

“डेंगी जोखिम सहरी इलाकामा बढी हुन्छ । मुख्यतः अव्यवस्थित सहरीकरणले डेंगी जोखिम निम्त्याउँछ । यस्तै ग्यारेजमा फालेका टायरहरु राखिन्छन्,” उनले भने, “फालेका टायरहरु नम्बर वान लामखुट्टेको लागि स्वर्ग जस्तै हो । वृत्तिविकास हुन्छ । र, त्यहाँबाट नै लामखुट्टेहरु तपाईँ हाम्रो घरघरमा आइपुग्छ ।”

सामान्यतया डेंगी वर्षा र वर्षापछिको समयमा बढी देखिन्छ । नेपालमा सन् २००४ मा डेंगी संक्रमण पुष्टि भएयता लगातार बढिरहेको छ । गत वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी मानिस डेंगीबाट संक्रमित भएका थिए । डेंगी संक्रमण तराईबाट पहाड हुँदै अहिले हिमालमा पनि केही केसहरु देखिने गरेको उनले बताए ।

“हरेक वर्ष हामी डेंगीको ठूलै जोखिममा रहन्छौ भन्ने हो । लामखुट्टेको टोकाइबाट बच्ने भनेको लामखुट्टे सर्ने वातावरण सृजना नगर्नु हो,” पुनले भने, “लामखुट्टे बस्ने वातावरण भनेको खाल्डाखुल्डी अव्यवस्थित वातावरण, फालिएको ड्रम, पुराना टायर, घरघरमा गमला राख्ने ठाउँ हो । पानी जम्ने वातावरणमा लामखुट्टे रहन्छ । डेंगी नलाग्नु भनेको डेंगी बस्ने वातावरण नै नष्ट गर्नु हो ।”

डेंगीले केही समययता प्रकोपको रुप लिइरहेको र आगामी वर्ष झनै जोखिम बढ्ने डा.पुनको भनाइ छ । उनले भने, “सन् २००४ मा सर्वप्रथम एकजनामा डेंगी देखियो । तत्पश्चात हरेक दुई तीन वर्षको अन्तरालमा यसले प्रकोपको रुपमा लिइरहेको छ । आगामी वर्ष पनि डेंगीको जोखिम हुने तथ्याङ्कहरुले देखाइरहेका छन् ।”

डेंगी संक्रमण भइहाले र लक्षण देखिइहाले चिकित्सकको परामर्श लिनुपर्ने भन्दै उनले डेंगी संक्रमणले ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण देखिने बताए । डेंगीले जटिल अवस्था ल्याउने सम्भावना रहेको भए पनि समयमै उपचार प्राप्त हुने उनको भनाइ छ ।

“सन् २०१९ मा पनि काठमाडौंमा धेरै फैलिएको हो । सन् २०२२ मा मलगायत केही डाक्टरसाबले के महसुस गर्नुभयो भने धेरै मानिसमा रक्तश्राव देखियो । नाकबाट, गिजाबाट या विभिन्न स्वरुपमा होला,” पुनले भने, “आगामी वर्ष डेंगीको जोखिम झनै बढ्दो देख्छु म । किनभने लामखुट्टेको वृत्तिविकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइँसराइ गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो हाम्रो लागि अझ जटिल अवस्था हुन सक्छ ।”

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro