
काठमाडौं । एकप्रकारको ढुसीजन्य वनस्पती च्याउ मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कतिपय जंगली च्याउ विषालु पनि हुन्छन् । खेती गरेर उमारेका च्याउहरू मात्र खान राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ ।
च्याउमा पाइने पौष्टिक तत्त्व
च्याउ निकै शक्तिवर्धक हुन्छ । च्याउमा विशेष गरेर प्रोटिन, भिटामिन र विभिन्न खनिज पदार्थ पाइन्छ ।
च्याउमा मानव शरीरका लागि नभई नहुने विभिन्न प्रकारका प्रोटिनहरू पाइन्छ । भिटामिन ‘ए’, ‘बी’, ‘सी’ पनि प्रशस्त मात्रामा पाइन्छ । च्याउमा क्याल्सियम, फोस्फोरसलगायत खनिज पदार्थ समेत पाइने स्वास्थ्य मन्त्रालयअन्तर्गतको सो केन्द्रले जनाएको छ ।
च्याउ कहाँ पाइन्छ ?
प्रकृतिमा अनेकौँ जातका च्याउहरू जंगलमा त्यत्तिकै उम्रिरहेका हुन्छन् । हिजोआज जंगलीभन्दा पनि कृत्रिम तरिकाले व्यावसायिक रूपमा खेती गरेर उत्पादन गरिएका च्याउ प्रशस्त पाइन्छ ।
विषालु च्याउ
जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । तीमध्ये कतिपय विषालु हुन्छन् । त्यस्ता च्याउमा भएको विष पकाउँदा पनि नष्ट नहुने केन्द्रले जनाएको छ ।
जंगली च्याउमा कुन खान हुने र कुन खान नहुने सजिलै चिन्न सकिँदैन । नेपालमा विषालु च्याउ सेवनबाट बर्सेनि केही मानिस बिरामी र केहीको मृत्यु समेत हुने गरेको छ ।
विषालु च्याउ खाँदा हुने असर
विषालु च्याउ खाएमा पेट बाउँडिने, बान्ता आउने, पखाला लाग्नेजस्ता लक्षण देखा पर्न सक्छ । सिकिस्त अवस्थामा कलेजो र मिर्गौलाले काम नगर्ने हुन्छ । अन्त्यमा बिरामीको मृत्यु समेत हुन सक्ने केन्द्रले जनाएको छ ।
विषालु च्याउ खानबाट बच्ने उत्तम उपाय
खान हुने र नहुने च्याउको पहिचान गर्न निकै कठिन हुन्छ । घरेलु रूपमा उत्पादन गरिएका च्याउ खानु नै विषालु च्याउबाट बच्ने सबैभन्दा उत्तम उपाय हो ।
विषालु च्याउ खाएका बिरामीको उपचार
विषालु च्याउमा हुने विष हटाउने कुनै विनाशक औषधि हालसम्म उपलब्ध छैन । विषको असर शरीरमा फैलिन नदिनु उपचारको उत्तम उपाय हो ।
होसमा भएका बिरामीलाई विषको मात्रा निकाल्न बान्ता गराउने, श्वासप्रश्वास बन्द भएका बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराउनेजस्ता प्राथमिक उपचार गर्न सकिन्छ । प्राथमिक उपचारबाट बिरामीको अवस्था सुधार नभएमा सकेसम्म छिटो अस्पतालमा लैजानुपर्छ । विषको असर शरीरमा फैलिन नदिन बिरामीलाई अस्पतालमा लैजानु नै उत्तम उपाय भएको केन्द्रले जनाएको छ ।