site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा लगानी गर्न खोज्दै एलन मस्कको कम्पनी, कानुन बाधक !

काठमाडौं । विश्वकै धनाढ्य व्यक्तिको स्थान ओगटेका अमेरिकी उद्यमी एलन मस्कको कम्पनी स्टारलिंकले सन् २०२४ मा नेपालमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउनेगरी लगानी गर्न खोजेको छ ।

यसका लागि केही समयअघिदेखि नै कम्पनीका प्रतिनिधिहरूले सरकारी अधिकारी एवम् नेताहरूसँग प्रस्ताव राख्दै आएका छन् । 

केही दिनअघि मात्रै स्टारलिंकका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग भेटवार्ता गरेका थिए ।  एलन मस्ककै अन्तरिक्ष कम्पनी स्पेसएक्सअन्तर्गत रहेको स्टारलिंकले अहिले ५० भन्दाबढी देशमा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।

पृथ्वीको तल्लो कक्ष अर्थात् लो अर्थ ओर्बिट (एलईओ)मा स्याटेलाइट (भूउपग्रह) राखेर तीव्र गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने लक्ष्य कम्पनीको छ ।

सन् २०१९ यता झन्डै चार हजार स्याटेलाइटको झुण्ड स्टारलिंकले अन्तरिक्षमा राखिसकेको छ । यसले ४२ हजार स्याटेलाइट त्यहाँ राखेर विश्वभर तीव्र गतिको भरपर्दाे इन्टरनेट सेवा दिने लक्ष्य राखेको छ ।

स्टारलिंकले आफ्नो वेबसाइटमा इन्टरनेट कहाँ–कहाँ उपलब्ध छ भनेर राखेको नक्सामा नेपालमा सन् २०२४ मा सुरु हुने भनेर लेखेको छ । यस्तै, भुटान र बंगलादेशमा पनि सन् २०२४ मा सुरु हुने भनेर लेखेको छ भने, भारत र पाकिस्तानमा नियामकको स्वीकृति कुरिरहेको भनेर लेखेको छ ।

सञ्चारमन्त्रीसँग भेटेरै अनुरोध
दूरसञ्चार ऐनले कुनै पनि सेवा प्रदायक कम्पनीमा कम्तीमा २० प्रतिशत नेपाली अथवा स्वदेशी लगानी हुनुपर्ने व्यवस्था गरेको छ । ८० प्रतिशतसम्म लगानी विदेशी कम्पनीहरूले गर्न सक्छन् ।

तर, स्टारलिंकले पूर्ण आफ्नै लगानीमा नेपालमा सञ्चालनमा आउन चाहेको संकेत गरेको अधिकारीहरूको भनाइ छ । करिब तीन साताअघि स्टारलिंकको भारतका प्रतिनिधिले सञ्चारमन्त्री शर्मासँग भेट गरेको निकट स्रोतले जनाएको छ ।

“भेट भएको थियो । त्यतिबेला उहाँहरूले अलि अनुकूल वातावरण बनाउनुपर्‍यो भन्ने खालको अनुरोध गर्नु भएको थियो,” स्रोतले भन्यो, “मन्त्रीज्यूले नेपालको प्रचलित कानुन, नियमभित्र रहेर अध्ययन गर्ने, नेपालको अहित हुनेगरी काम नगर्नेगरी अध्ययन गरिरहको भन्नुभयो ।” 

स्टारलिंकले नेपाली बजारमा भित्रिन केही समय पहिलेदेखि नै उत्सुकता देखाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विशाल सापकोटाले बताए । नेपालको विद्यमान कानुनबमोजिम कम्पनीले प्रक्रिया पुर्‍याएर आएमा कुनै बाधा नहुने मन्त्रालयका सहायक प्रवक्तासमेत रहेका सापकोटाको भनाइ छ । 

नयाँ प्रविधिको र खासगरी लो अर्थ ओर्बिटमा (पृथ्वीको सतहदेखि करिब साढे ५०० किलोमिटर माथि) रहेको स्टारलिंकको इन्टरनेट नेपाल भित्रिनु सकारात्मक बिषय नै हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको भनाइ छ ।

स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न चाहेको र आफैँलेसमेत कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेको उनले बताए । तर, दूरसञ्चार कम्पनीमा २० प्रतिशत स्वदेशी लगानी हुनुपर्ने कानुनी व्यवस्था अनुरुप मात्रै कम्पनीले नेपालमा लगानी गरेर सेवा सञ्चालनमा ल्याउन सक्ने उनको भनाइ छ ।

“इन्टरनेट सुविधा नपुगेको नेपालका पहाडी र हिमाली क्षेत्रका लागि सस्तो र तीव्र गतिको नयाँ प्रविधिको इन्टरनेट पुग्नु राम्रै कुरा हो । तर, सेवा सञ्चालनमा ल्याउन कम्पनीले औपचारिकरूपमा प्रस्ताव ल्याएको छैन,” प्राधिकरणका अध्यक्ष खनालले भने ।

यसका लागि स्टारलिंकले कानुनसम्मत भएर आउनुपर्ने या सरकारले कानुन संशोधन गर्छ या अरु के व्यवस्था गर्छ सोहीअनुसार प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । 

स्टारलिंकको इन्टरनेट नेपालमा हाल रहिआएका कम्पनीको भन्दा बढी राम्रो हुने विश्वास छ । सञ्चार मन्त्रालयका उपसचिव विशाल सापकोटाले स्टारलिंकले पछिल्लो समय मन्त्रालयमा कुनै विशेष प्रस्ताव नल्याएको बताए ।

“पहिले नै जुन प्रस्ताव आएको थियो त्यहीँ हो । नेपालको विद्यमान कानुनअनुसार कम्पनी भित्रिन सक्छ तर, लगानीको विषयमा ऐन–कानुन नै संशोधन गर्ने वा अरु विकल्पको कुरा उठेको छैन,” मन्त्रालयका उपसचिव सापकोटाले भने ।

स्टारलिंकले विद्यमान कानुनअनुसार भित्रिएमा २० प्रतिशत स्वदेशी अथवा नेपाली लगानी समावेश गर्नुपर्नेछ । तर, कम्पनीले पूर्णरूपमा आफ्नै लगानी खोजिरहेका कारण नेपालमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्न अप्ठेरो पर्ने देखिन्छ ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro