काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एनड रिफर्म कमिसन (एनडीआरसी)का उपाध्यक्ष छोङ लियाङबीच चीनको बेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताअनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो ।
उपाध्यक्ष डा. श्रेष्ठले एनडीआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिए ।
यस्तै, आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए)का उपमन्त्री डेङ बोगिङबीच पनि द्विपक्षीय भेटवार्ता भएको जनाइएको छ ।