site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

चीनको विकास सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० का सम्बन्धमा चिनियाँ र नेपाल सरकारका प्रतिनिधिको फरक फरक अभिव्यक्तिले अन्योल उत्पन्न भएको छ । यो अन्योल असमझदारी नबन्दै अन्त्य गरिनु दुवै देशको हितमा हुनेछ ।

पछिल्लोपटक पोखरा विमानस्थलमा पहिलो वैदेशिक उडानका रूपमा चिनियाँ जहाज अवतरण हुँदा आयोजित समारोहमा चिनियाँ राजदूतले विमानस्थलको निर्माण बीआरआई परियोजना अन्तर्गत भएको बताएका थिए । नेपालका परराष्ट्रमन्त्रीले भने सोमवार संसदीय समितिमा नेपालमा बीआरआई अन्तर्गत कुनै पनि परियोजना सञ्चालन नभएको स्पष्ट पारेका छन् ।

कुनै एउटा योजना वा परियोजनाका सम्बन्धमा सरकारी अधिकारीबीच देखिने विवादबाट त नेपाल र चीनको मित्रता पक्कै प्रभावित नहोला । तर, बीआरआईका विषयमा देखिएको दुवै पक्षको हठले भने अप्ठेरो अवस्था उत्पन्न हुन सक्छ । 

नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको छ । त्यसअन्तर्गत विकास परियोजना सञ्चालनका लागि समझदारी अर्थात् मेमोरेन्डम अफ अन्डरस्यान्डिङ पनि सन् २०१७ मा भइसकेको हो । परियोजना कार्यान्वयनका लागि गरिएको समझदारी कार्यान्वयनमा भने धेरै ढिलो गरिएको देखियो । 

बीआरआई परियोजनामा अनुदान र ऋण सहयोग दुवै हुने र ऋणको ब्याज चर्को हुने र अन्य सर्तहरू पनि कडा हुने भएकाले नेपाली अधिकारीले यसलाई अगाडि बढाउने आँट नगरेका हुन् भन्ने तर्क अनौपचारिकरूपमा गरिएको सुनिन्छ । अर्कोतर्फ,  बाहिरी दबाबका कारण बीआरआईका परियोजना अगाडि नबढाइएको भन्ने गाइँगुइँ पनि हुने गरेको छ । 

यथार्थ के हो भन्ने स्पष्ट जानकारी दिन भने नेपाली र चिनियाँ दुवै पक्षले कन्जुसी गरेका छन् । फलस्वरूप, बीआरआईका सम्बन्धमा नेपाली जनमानसमा भ्रम र अन्योल उत्पन्न भएको छ । बीआरआई हल्ला गरिएजस्तै ऋण पासो नै हो तरु 

नेपाललाई मित्रराष्ट्र चीनले ऋणको पासोमा पार्ने कपट गर्ला भने विश्वास गर्न सकिँदैन । तर बीआरआईसम्बन्धी सम्झौताहरू पारदर्शी नभएका कारण भ्रम सिर्जना गर्नेहरूलाई सजिलो भएको छ । साथै, यस्ता परियोजनाका सर्तहरू सबैले थाहा पाउने गरी पारदर्शी हुनुपर्छ भन्ने आग्रहलाई अन्यथा भन्न पनि मिल्दैन ।

यसैले बीआरआई सुरु भएको हो कि होइन  र त्यस परियोजनाका सुविधा र सर्तहरू के कस्ता छन् भन्ने आधिकारिक जानकारी दुवै पक्षले सार्वजनिक गरेर अन्योल अन्त्य गर्नु आवश्यक देखिन्छ । सरकारी अधिकारीहरूको अकर्मण्यता र हठका कारण दुवै देशबीचको सम्बन्ध चिसो हुन दिनुहुँदैन ।

चीनका लागि नेपाल बीआरआईमा सहभागी थुप्रै देशमध्ये एउटामात्रै हो । यसैले नेपालभित्रको भ्रम निवारण उसको प्राथमिकतामा नपर्न सक्छ । नेपालका लागि भने चीन महत्त्वपूर्ण मित्र हो । चीनसँगको मित्रता विकास सहयोगमा सीमित हुन सक्तैन ।

यसैले परराष्ट्रमन्त्रीले नै अग्रसरता लिएर भए पनि बीआरआई परियोजनाका सम्बन्धमा दुई देशबीच रहेको असमझदारी तत्काल अन्त्य गराउनु उचित हुनेछ । त्यसैक्रममा बिआरआईका सम्बन्धमा भएका सम्झौता र समझदारी पनि पारदर्शीरूपमा सार्वजनिक हुने बन्दोबस्त मिलाइनु दुवै देशको हितमा हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro