site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनि उत्तरपुस्तिकामै गुरुआमासँग बिलौना गरेँ...

म मेरी गुरुआमालाई सँधै सम्झन्छु । होँचो कदकी, रातो टिका र थोरै सिन्दुर, हल्का मेकअप, हलुका रंगको सारी । मिस कमै हाँस्नु हुन्थ्यो र प्रायः गम्भीर मुद्रामा चिउँडोमा हात राखेर हामीलाई नियाल्नु हुन्थ्यो । यो चित्र मैले उहाँलाई सम्झेर कोरेको हुँ । किन सम्झन्छु त म उहाँलाई ? आज गुरुपूर्णिमाका दिन खुलासा गर्दैछु ।

विसं २०३५ साल, शान्ति विद्या गृह, लैनचौर। मेरो सात कक्षाको अन्तिम परीक्षा । विषय - सामाजिक शिक्षा ।

म पढाइमा त्यति कमजोर थिइन । सामाजिक शिक्षामा पनि ठीकै थिएँ । तर, पहिलो प्रश्नको उत्तर आएन । दोस्रो सकिहालौँ भनेको त्यसको पनि आएन । प्रश्नपत्र सानो हुन्थे, पुछारसम्म हेरेँ । कुनै पनि प्रश्नको उत्तर आएन । पटक पटक प्रश्न पढेँ, कोसिस गरेँ, सकिन। अगाडिपछाडि साथीहरू पाना भरी लेख्दैथिए । मेरो उत्तरपुस्तिकामा भने नामबाहेक एक अक्षर कोरिएको थिएन सफा थियो। अत्तालिएँ। फेल हुने निश्चित भयो। मनमा अनेक कुरा खेल्न थाले । अब साथीहरू आठमा पुग्ने र म सातमै हुने भएँ। पीडा, डाहा, छटपट । शून्य । के गर्ने ?

Prabhu Bank
Agni Group
NIC Asia

घरबाट सगुन थमाएर पठाएकी आमालाई सम्झेँ । रुनै मन लाग्यो । अनि सबै माया गर्ने आफन्त सम्झेँ । आफूलाई सम्हालेँ । साथीको सार्ने वा सोध्ने बानी छैन । सोधेपनि कुनै तथ्य हो तर सोधी सोधी पुस्तिका नै त कसरी भर्ने !

खाली कागज बुझाएर हिँड्ने पनि आँट आएन । किनभने त्यसरी बुझाउनु आत्मसमर्पण हो, सातमै रहने । मनमनै शुभचिन्तकसँग माफी मागेँ, मनमनै आमालाई आइन्दा राम्रो गर्ने वचन दिएँ । अझै एक घन्टा बाँकी रहेको घन्टी बज्यो । परिक्षा सुपरभाइजर घरी घरी नजिक आउँथे । म झनै आत्तिन्थेँ । सायद उनलाई मेसो भयो होला- राजेशले सकेन ।

Global Ime bank

समय घर्किंदै गयो। सोचेँ खाली कापी बुझाउनुभन्दा त्यसैमा सामाजिक शिक्षाकी शिक्षिकासँग माफी माग्छु । भटाभट बिलौना लेख्न थालेँ यही दुई घन्टा लामो तनावपूर्ण पल । के लेखेँ सबै याद त छैन तर पुछारमा थपेँ - 'म कमजोर होइन तर यी प्रश्नको उत्तर अहिले आएन, मलाई माफ गरेर पास गराइदिनुस् बिन्ती छ’। गुरुआमालाई वचन पनि दिएँ - ‘आइन्दा यसो हुँदैन, म सुध्रिन्छु’ भनेर। एउटा पेज लगभग भरेँ होला। कपी बुझाएँ। अन्य सबै विषय राम्रै गरेँ।

दिनहरू तनावपूर्ण बिते। तर, मानसिकरूपमा म सातकै लागी तयार भएँ । यसरी परीक्षा बिग्रिएको कसैलाई भन्न सकिन ।

परीक्षालगत्तै जाडोको बिदा सुरु भयो। हरेक वर्ष झैं गाउँ गएँ - नवलपरासी । टेलिफोन सञ्चार माध्यम केही थिएन । हरेक वर्ष हालखबरसहित परीक्षाको नतिजा चिठीमार्फत मामा घरका बाजेले पठाउँथे काठमाडौंबाट। यसपाली चिठी आएन । फर्किने समय भइसके पनि चिठी आएन । किन आएन ?  फेल भएको समाचारको लागि पनि व्यग्रता थियो ममा । कता कता मनको कुनामा आस पनि थियो 'के-कसो भएर पास भइहाल्छु कि न' भनेर । तर पनि मेरो तयारी भने फेल हुने नै थियो ।

ठूली दिदी आइपुगिन् काठमाडौंबाट । समाचार पक्कै ल्याइन् । म नजिकै परिन । सबैको पर्खाइ मेरै नतिजामा केन्द्रित थियो । म भान्साको ढोकाबाट डरैडरले चिहाइरहेँ ।

एकछिनमा आमाले डाकिन् । झनै डर भयो । आमाले सुरूमा मलाई हजुरआमालाई ढोग्न अह्राइन् अनि बुबालाई अनि आफूलाई । हरेक वर्ष झैँ सबैलाई गुलियो बाँडिन् । म अताल्लिएँ, डराएँ । दिदीलाई सोधेँ, फेरि सोधेँ, नजिस्कन भने, कसम ख्वाएँ पटकपटक । दिदी छक्क परिन् । अनि म रोएँ । घोप्टो परेँ । गुरुआमाको मुहारबाहेक केही देखिएन ।

‘धन्यवाद, गुरुआमा, मलाई बुझ्यौ, विश्वास गर्‍यौँ । म तिमीलाई बदलामा सफल भएर देखाउँछु’ भने । आज ४५ वर्षपछि पनि जीवनको उतारचढाव, सफलताअसफलता, पल पल सम्झनामा रहेकी छिन् मेरी शान्ति मिस । नमन ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement