site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्ने कोसिस गरियो’
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

शनिबार च्यासलमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको एक कार्यक्रममा उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षड्यन्त्र गरिरहेको बताए ।

Argakhachi Cement Island Ad

३९६ स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको उनले उल्लेख गरे । वर्तमान सरकार श्रमिकको नभई पुँजीपति वर्गको पक्षमा रहेको जिकिर उनले गरे ।

“हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थियौँ । सानातिना रोग हुँदा पनि दौडेर विदेश पुग्ने अथवा काठमाडौंमा सुविधासम्पन्न हस्पिटलहरू, मेडिसिटी होस् अथवा नर्भिक, ग्रान्डी होस् वा ह्याम्स – त्यहाँ गएर उपचार गर्ने सामर्थ्य राख्नेहरूका लागि धेरै ठूलो कुरा होइन होला, तर वर्षको ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएर पाँचजनाको परिवारले वर्षभरि एक लाख रुपैयाँसम्मको औषधि निःशुल्क पाउने भन्ने कुरा यो स्वास्थ्यको क्षेत्रमा गरिएको ठूलो क्रान्ति थियो । यो क्रान्तिको सुरुआत स्वास्थ्यमन्त्री हुँदा खगराज अधिकारीजीले गर्नुभएको थियो,” उनले भने, “पछि त्यो कार्यक्रमलाई हामीले देशैभरि अघि बढाएका छौँ । तर, आजको त्यो कार्यक्रमलाई समाप्त पार्ने कोसिस हुँदै छ । मैले अघि भूमि आयोगको कुरा गरेँ, कसरी त्यसलाई निष्प्रभावी पारियो भनेर एमाले सरकारबाट हटेपछि । यहीँनिर फरक पर्छ, राज्य कुन वर्गको पक्षमा चलेको छ भनेर । हामी नहुँदा श्रमजीवी जनताको पक्षमा गरिएको थुप्रै कार्यक्रमहरू ओझेलमा पारिँद छन् । खोसिँदै छन् । निष्प्रभावी पारिँदै छन् । बजेट दिइँदै छैन । हामीले एकैदिन ३९६ वटा पालिकामा आधारभूत हस्पिटल शिलान्यास गर्‍यौँ, आज ती हस्पिटलहरू अलपत्र पारिएका छन् ।”

कार्यवहाक महासचिव ज्ञवालीले आफ्नो पार्टी नेतृत्वको सरकारले श्रमिक जनताको हितका लागि प्रधानमन्त्री स्वरोजगार, राष्ट्रपति महिला उत्थानलगायत कार्यक्रम ल्याए पनि अहिले त्यसलाई निष्प्रभावी बनाउने काम गरिएको बताए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्