site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्थानीय तहका कर्मचारीप्रति संघ सरकार किन कठोर ? 

काठमाडौं । आउँदो आर्थिक वर्षमा जनशक्ति थप नगर्ने नीति लिएको सरकार समायोजनपछि स्थानीय तहमा खटाइएका कर्मचारीप्रति पनि कठोर बन्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक कारण देखाउँदै कर्मचरीको नियुक्ति र सरुवामा कडाइ गरेको छ ।

मन्त्रालय र स्थानीय तहबीच समन्वय मिलेको छैन । हाल स्थानीय तहहरूले आफैँ नियुक्त गरेका कर्मचारीले तलब नपाउने अवस्था छ ।

कठोर बन्दै मन्त्रालय 

स्वास्थ्य मन्त्रालयले गएको जेठ ४ गते मन्त्रिपरिषद्ले स्वीकृत नगरी स्थायी पदपूर्ति नगर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकका पदमा लोकसेवाकै प्रक्रियाबाट पनि पदपूर्ति नगर्न मन्त्रालयको निर्देशन छ । यसरी पदपूर्ति गर्दा संघ सरकारलाई आर्थिक भार पर्ने मन्त्रालयको तर्क छ ।

कुनै स्थानीय तहमा सरकारले स्वीकृत गरेको दरबन्दीभन्दा बढी कर्मचारी भए तिनको तलबभत्ता स्थानीय तहबाटै व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ । नयाँ आधारभूत अस्पतालहरूमा स्थानीय तहहरूले पदपूर्ति गरेको भए त्यस्ता कर्मचारीको तलबभत्ता पनि सम्बन्धित पालिकाबाटै व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन छ ।

आधारभूत अस्पताल सञ्चालनका लागि सरकारले जनशक्तिको खाका तयार पारिसकेको छ । तर, नयाँ दरबन्दी खुलाएको छैन । आउँदो आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नयाँ दरबन्दी नथपिने प्रस्ट उल्लेख छ ।

समायोजन र नयाँ कर्मचारीका विषयमा मन्त्रालय कठोर हुनुमा मुख्य दुई कारण देखिन्छ । पहिलो, आर्थिक अभाव । दोस्रो, खटाइएको निकायमा कर्मचारी जान अटेर गर्नु ।

स्वास्थ्य क्षेत्रमा कुल दरबन्दी ३१ हजार रहेको मन्त्रालयको तथ्यांक छ । ०४८ सालयता स्वास्थ्यमा दरबन्दी थपिएको छैन । चालु आर्थिक वर्षको बजेटमा बढाइएको १५ प्रतिशत तलब संघसहित कुनै पनि तहका कर्मचारीले पाएका छैनन् । बढेको रकम पाउन कर्मचारीले असार मसान्त कुरिरहेका छन् ।

संघअन्तर्गतका कर्मचारीको बढेको तलब मात्र झन्डै चार अर्ब रुपैयाँ भुक्तान हुन बाँकी रहेको मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख तुलसीनाथ गौतमले बताए । २५३ पालिकाले कर्मचारीको तलब (बढेको १५ प्रतिशत) अपुग भएको भन्दै मन्त्रालयसँग माग गरेका छन् । बढेको तलब असार अनितमसम्म भुक्तान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाइसकेको छ ।

तर, स्थानीय तहहरूले संघ सरकारसँग समन्वय नगरी कर्मचारी नियुक्ति गर्दा दरबन्दीभन्दा बढी हुन आएकाको तलबभत्ता यतिखेर मन्त्रालयको टाउको दुखाइको विषय बनेको छ । मन्त्रालयले २६ हजार ७१७ कर्मचारीको समायोजन गरिसकेको छ । तर, स्थानीय तह र संघ सरकारको समन्वयबिना थपिएका २५० कर्मचारी दरबन्दीभन्दा बढी भएका छन् । तिनको तलब जोखिममा छ ।

“विभिन्न पालिकाले आफूखुसी कर्मचारी नियुक्त गर्दै उनीहरूको तलब भने मन्त्रालयमा माग गरेका छन् । दरबन्दीकै कर्मचारीलाई तलब खुवाउन मुस्किल भइरहेका बेला बिनादरबन्दीकालाई के गर्ने हो, समस्या खडा भएको छ,” गौतमले भने ।

समायोजनका क्रममा मन्त्रालयले दुई पालिकाबीचको सहमतिमा दरबन्दी मिलान गर्ने व्यवस्था गरेको थियो । सोहीक्रममा दरबन्दीभन्दा थप गरी कर्मचारी नलिन पटक–पटक स्थानीय तहहरूलाई सूचित गरिएको थियो । तर, मनोमानी नियुक्त गर्दा समस्या आएको मन्त्रालयको जिकिर छ ।

संघ सरकार कठोर बन्नुको अर्को कारण कर्मचारी खटाइएको ठाउँमा नजानु पनि हो । समायोजन भएका मध्ये ८९१ कर्मचारी अहिले पनि काजमा बसिरहेको मन्त्रालयको तथ्यांक छ । काज सरुवा र घरपायकको माग गर्दै दिइएका ६९३ जनाको निवेदन मन्त्रालयमा थुप्रिएको छ ।

मन्त्रालयका अनुसार हाल रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ३६ कर्मचारी काजमा छन् । सुर्खेतको एउटै पालिकामा स्वास्थ्यका ५३ कर्मचारी काजमा छन् । काजमा कर्मचारी बढी रहनेमा कञ्चनपुरको भीमदत्त, बाँकेको कोहलपुर, पोखरा, धनगढी, हेटौँडालगायत स्थानीय तह छन् ।

समायोजनका क्रममा घरपायक सेवा गर्न पाउने स्वास्थ्य सेवा ऐनमा रहेको व्यवस्थाको फाइदा उठाउँदै कर्मचारीले खटाइएको ठाउँमा जान नमानेको मन्त्रालयको बुझाइ छ । यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनपत्र बुझी खटाएको ठाउँमा नगएका कर्मचारीलाई तत्काल रमाना गरी पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।

“स्वास्थ्य सेवाका कर्मचारीहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिई नियमित रूपमा बिरामीको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकाले सरुवा, काज वा अन्य कुनैपनि बहानामा मन्त्रालय/विभाग आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण/निगरानी गर्नुहुन,” मन्त्रालयको निर्देशनमा भनिएको छ ।

संघ सरकार गैरजिम्मेवार बन्न पाउँदैन 
समायोजनका कर्मचारीको तलबभत्ताको विषयले समस्या उत्पन्न भएको यो पहिलोपटक होइन । गत आर्थिक वर्षमा पनि आफूखुसी कर्मचारी नियुक्त गर्ने स्थानीय तहलाई मन्त्रालयबाट तलबभत्ता नपठाउने भन्दै पटक–पटक पत्र पठाइएको थियो ।

समायोजनका क्रममा मन्त्रालयले नै मिलान अनुमति दिनु र अहिले आएर तलबभत्ता निकासा गर्न आनाकानी गर्नु गैरजिम्मेवारीपना भएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे बताउँछन् । “मन्त्रालयले समायोजनका क्रममा प्रदेश र स्थनीय तहले जति कर्मचारी माग्यो त्यति पठायो, त्यति बेला न सम्बन्धित तहको आवश्यकता हेरियो न दरबन्दीको अध्ययन नै गरियो,” उनी भन्छन् ।

समायोजनका क्रममा कतिपय कर्मचारी राजनीतिक स्वार्थको सिकार बनेको उनको बुझाइ छ । “कर्मचारी समायोजनका लागि दोहोरो सहमति दुई स्थानीय तहका बीच भए पनि अन्तिम अनुमति दिने त मन्त्रालय नै हो, त्यति बेला अहिलेको अवस्था आउला भनेर सोच्नु पर्दैनथ्यो ? दुई तहको स्वार्थको बीचमा निर्दोष कर्मचारीको तलब रोक्न मिल्छ ?,” घिमिरे प्रश्न गर्छन् ।

स्थानीय तहहरूले पनि आफूले माग गरेर राखिएका कर्मचारीको तलबभत्ताको समस्या मन्त्रालयतर्फ पन्छाएर भाग्न नमिल्नेमा घिमिरे जोड दिन्छन् ।

त्यसो त स्वास्थ्य क्षेत्रमा समयानुकूल जनशक्ति थप गर्नुपर्ने माग यतिखेर स्थानीय तहदेखि संसद्सम्मै उठाइएको छ । तर, मुलुकको खस्कँदो अर्थतन्त्रका कारण तत्काल नयाँ दरबन्दी थप्ने अवस्था नरहेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत बताउँछन् ।

आउँदो आर्थिक वर्षको बजेटमा स्वास्थ्यतर्फ ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमा कहीँ कतैबाट बजेट थपिने अवस्था आए त्यसलाई जनशक्ति थप गर्न छुट्ट्याइने मन्त्री बस्नेतले संसद्मा बताएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro