site stats
बाह्रखरी :: Baahrakhari
कला
शम्भुजितलाई प्रश्न– पछिल्लो समयको संगीतप्रति सन्तुष्ट हुनुहुन्छ ?

काठमाडौं । संगीतकार शम्भुजित बास्कोटाले पछिल्लो समयका नेपाली गीतसंगीतप्रति आफू ‘कन्फ्युजन’मा रहेको बताएका छन् । कतै राम्रो भन्न मन लाग्ने कतै नराम्रो पनि भन्न मन लाग्ने उनको टिप्पणी छ ।

“यति धेरै पढेलेखेर आएका नयाँ भाइबहिनी हुनुहुन्छ, उहाँहरूको संगीत नेपालबाहिर पनि पुगिरहेको छ, यो हेर्दा राम्रो भन्न मन लाग्छ,” शम्भुजित भन्छन्, “तर, सँगै भाषा, लयलाई बिगारेर गीतसंगीतका नाममा विकृति भित्र्याइरहनुभएको छ, यसलाई कसरी राम्रो भन्नु ?”

प्यारोडीलाई गीत भनेर ल्याउने, व्यंग्य गर्ने र त्यसलाई पनि गीत भनेर सार्वजनिक गर्ने गरिएको उनी बताउँछन् । बोलेर पनि गीत भन्दै ल्याउने गरिएको र यस्तो प्रवृत्तिलाई राम्रो भन्न नसकिने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

पछिल्लो नयाँ पुस्तालाई नेपाली संस्कृतिबाट विमुख पार्ने गीतसंगीत पनि आइरहेको शम्भुजितको गुनासो छ । “हाम्रो संस्कार र संस्कृतिमा गाली गर्ने चलन छैन । तर, यहाँ गीतमा गाली गरिरहेको म देख्छु, यो गीत सुनेर नयाँ पुस्ताले के सिक्ने ?,” उनको प्रश्न छ, “आमा–बुवा के हो, परिवार के हो, संस्कार र संस्कृति को हो, नेपाली कला र हाम्रो मौलिकता के हो यसलाई गीतसंगीतले भुल्न हुँदैन । हामी संगीतकर्मीले बिर्सिनु हुँदैन ।”

कुनै पनि देशको पहिचान भनेको संस्कार र संस्कृति भएको संगीतकार शम्भुजित बताउँछन् । त्यसमाथि नै प्रहारको अनुभूति हुन थालेको उनी बताउँछन् । भाषा, वेशभूषा, संस्कार, संस्कृति, रीतिरिवाज देशको पहिचान भएको र यसबाट उन्मुक्ति खोज्नुलाई अतिक्रमण भनेर बुझ्नुपर्नेमा उनको जोड छ ।

पछिल्लो समय लहडमा ठूलो माइलेजका लागि सेन्सर नगरिएका गीतसंगीत आएको भन्दै यसमा ध्यान दिनुपर्ने उनको धारणा छ । “यसबाट म त्रसित छु । यसले हाम्रो संस्कार र संस्कृतिको विकासमा असर गर्छ । हाम्रो राम्रो पक्षलाई नकारात्मक प्रभाव पार्छ,” उनी भन्छन् ।

पहिलेका सिर्जनालाई बिगारेर त्यसको केही अंशसहित अहिले कतिपय गीतसंगीत ल्याइएको उनले बुझेका छन् । नयाँ सिर्जना ल्याउन उनको सुझाव छ ।

“यहाँ के देखिरहेको छ भने, हाम्रो पुरानो गीतसंगीतबाट अलिकति निकाल्ने, पाश्चात्यबाट पनि केही निकाल्ने देखिएको छ । एउटा देशको अलिकति, अर्को देशको अलिकति निकालेर सार्क म्युजिक भइरहेको छ,” शम्भुजित भन्छन्, “मिसमास गरेर गीत ल्याउने चलन देखियो । यस्ता कुराले हामीलाई अगाडि बढाउँदैन ।”

कुनै समय नेपाली गीतसंगीतमा हिन्दी सिर्जनाको पूर्ण प्रभाव रहेको उनी बताउँछन् । त्यसमा ठूलो मिहिनेत गरेर आफूहरूले नेपाली संगीतलाई मौलिकता दिएको उनले स्मरण गरे । “हामीले त्यो समय मिहिनेत गरेर हाम्रो आफ्नै पहिचानसहितको गीतसंगीत बनायौँ,” उनी भन्छन्, “अब फेरि हामी आफ्नो पहिचान भुलेर अरूको पछि लाग्छौँ भने कसरी हुन्छ नेपाली संगीतको विकास ? कसरी बच्छ हाम्रो पहिचान ?”

अहिलेका गीतले नेपाली पहिचान समेटेको छ/छैन संगीतकर्मी स्वयंले आफ्नो मूल्यांकन गर्नुपर्नेमा उनको जोड छ । पछिल्लो समय दोहोरी फोहोरी हुँदै गएजस्तै सुगम संगीतमा पनि मिसमास भएको र यसले नेपाली गीतसंगीतको विकास र विस्तार नहुने शम्भुजितको धारणा छ ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्