site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी तीव्र, उद्धारमा कठिनाइ
संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवाखोलामा शनिबार राति आएको भीषण बाढीले चैनपुर–बारबिसे सडकखण्डअन्तर्गत दोभानेको मोटरेबल पुलसहित आसपासका बस्तीमा पुर्‍याएको क्षति । तस्बिर : सुजन बज्राचार्य/रासस ।

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार राति खसेको पहिरोमा पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता भएहरूको खोजी तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै गए राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६, मेहेले भालुखोपका एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै, सोही स्थानका गणेश तामाङ पनि पहिरोमा परेर बेपत्ता छन् । बेपत्ता हुनेको अहिले खोजी सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उनका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यता, वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् ।

मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिइसकेको प्रजिअ चेम्जोङले जानकारी दिइन् ।

यसैगरी, चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी–पहिरोले मानव बस्ती जोखिममा परेको छ । ठाउँठाउँमा भौतिक संरचनामा क्षति पुगेको छ ।

स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३, आङ्खोपका प्रेमकुमार सेलिङसहितका तीन घर पहिरोले बगाएको छ । त्यस्तै, अरू तीन घर उच्च जोखिममा परेको शिक्षक समेत रहेका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिए ।

यस्तै, सिरिजंघा गाउँपालिका–८, याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटेल (कटेज) काबेली खोलामा आएको बाढीमा परेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढी–पहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै, तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टंकप्रसाद खतिवडाका अनुसार तीन घर उच्च जोखिममा परेको छ ।

मैवाखोला गाउँपालिका–६, फाकुम्बामा पनि केही घर पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन् । ताप्लेजुङको सदरमुकामसहित धेरै क्षेत्रमा विद्युत् समेत अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुंगे पुललगायत भौतिक संरचनामा समेत बाढी–पहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ ।

वर्षाका कारण गएको शुक्रबारदेखि जिल्लामा बाढी–पहिरोको घटना भएको हो । अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाका सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताइन् ।

उनले स्थानीय तह समेतको समन्वयमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिए ।

प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढी–पहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहन जिल्लावासीलाई आग्रह गरेकी छन् । रासस

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्