काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अयोजना गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा योपटकजस्तो प्रतिस्पर्धा सायदै कुनै सिजनमा भएको थियो । अंकतालिकामा अन्तिमसम्म यति धेरै रोमाञ्चक प्रतिस्पर्धा हुँदा पनि दर्शकबाट यो सिजनको लिग उपेक्षित रह्यो ।
लिग कतिसम्म प्रतिस्पर्धात्मक रह्यो भने, २३औँ चरण सकिँदा पनि यही क्लब च्याम्पियन बन्छ भन्ने अनुमान गर्न गाह्रो थियो । २४औँ चरणमा साविक विजेता मच्छिन्द्र क्लबले च्यासल मैदानमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २–१ को नतिजा सुम्पिएपछि लिग अब चर्च ब्वाइजले जित्छ भन्ने अनुमान सुरु भएको थियो ।
गएको मंगलबार थ्री स्टार क्लबसँग भिड्नुअघि चर्च ब्वाइजलाई च्याम्पियन बन्न एक अंक आवश्यक थियो । खेल गोलरहित बराबरीमा सकियो । त्यही नतिजाले चर्च ब्वाइज ‘डेब्यु’ सिजनमै च्याम्पियन बन्यो ।
लिग च्याम्पियनको त टुंगो लाग्यो, तर रेलिगेसनबाट बच्ने होड अन्तिम खेलसम्मै रह्यो । मंगलबारै एफसी खुमलटारले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराएपछि रेलिगेसनको लडाइँ झनै अनिश्चित बनेको थियो । लिगमा अन्तिम चरणको खेल बाँकी हुँदा फ्रेन्ड्स क्लब र खुमलटार समान २७ अंकका साथ क्रमशः १३ र १४औँ स्थानमा थिए । एपीएफ ३१ अंकका साथ ११औँ स्थानमा थियो । ललितपुरको रैथाने क्लब थ्री स्टार २९ अंकका साथ १२औँ स्थानमा थियो ।
अन्तिम खेलमा फ्रेन्ड्सले एपीएफलाई ४–० ले हराउँदै अर्को सिजन ‘ए’ डिभिजन लिगमा स्थान पक्का गर्यो । फ्रेन्ड्सको जितसँगै एपीएफको रेलिगेसनमा पर्ने सम्भावना कायम रह्यो । त्यसपछि रेलिगेसनको छिनोफानो हुन उसले जावलाखेल र थ्री स्टारबीचको अन्तिम खेल कुर्नुपर्ने भयो । अन्तिम खेलमा थ्री स्टारले जिते मात्र एपीएफ रेलिगेसनमा पर्थ्यो । अन्यथा, एपीएफ रेलिगेसनबाट जोगिन्थ्यो । किनभने, थ्री स्टारले बराबरी खेलेको अवस्थामा अंक बराबरी हुन्थ्यो र ‘हेड टु हेड’को आधारमा एपीएफ जोगिन्थ्यो ।
तर, कथा थ्री स्टार जोगिने थियो । अन्तिम खेलमा थ्री स्टारले जावलाखेललाई १–० ले हराउँदै रेलिगेसन टार्यो । अन्तिम खेलमा थ्री स्टारका कप्तान विक्रम लामाले पेनाल्टी अवसर सिर्जना गरे । र, सन्न्यास लिने घोषणा गरिसकेका विक्रम आफैँले पेनाल्टी हान्न तयार भए । उनले गरेको पेनाल्टी गोलमा थ्री स्टार घटुवा हुनबाट जोगियो । विक्रमले पनि आफ्नो अन्तिम खेल यादगार बनाए ।
अन्ततः एपीएफ र खुमलटार ‘बी’ डिभिजनमा घटुवा भए । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड एक खेलअगावै च्याम्पियन बन्यो । अर्को नवप्रवेशी खुमलटार भने शीर्ष डिभिजनमा अडिन सकेन । साविक विजेता मच्छिन्द्र उपाधि ह्याट्रिक गर्नबाट चुक्यो । यसबाटै पनि थाहा हुन्छ, लिग कति प्रतिस्पर्धात्मक रह्यो भनेर ।
दर्शकबाट उपेक्षित लिग
नेपाली फुटबल र लिगको इतिहास प्रस्ट छैन । तर, लिग वि.सं. २०११ मा सुरु भएको भन्न सकिन्छ । सुरुमा नेपाल फुटबल संघ थियो । ०३० पछि नेपाल फुटबल संघ विघटन भयो र कमल थापाको नेतृत्वमा अखिल नेपाल फुटबल संघ गठन भयो । ०३२ बाट लिगको जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)को काँधमा पुग्यो । यसपालिको लिग ४४औँ संस्करण हो ।
र, सम्भवतः दर्शक उपस्थितिको हिसाबमा यो सबैभन्दा कमजोर लिग बन्यो । निकै महत्त्वपूर्ण मानिएका केही खेलमा दर्शकको उपस्थिति हेर्ने हो भने टिठलाग्दो थियो । नेपाल पुलिस र मच्छिन्द्रबीच च्यासल मैदानमा सम्पन्न खेलमा जम्मा एक हजार दर्शक उपस्थित थिए । यही खेलको नतिजाले उपाधि होड खुला बनेको थियो ।
यस्तै, दशरथ रंगशालामा सम्पन्न चर्च ब्वाइज र थ्री स्टारबीचको खेल । त्यो खेलबाट चर्च ब्वाइज च्याम्पियन बन्ने सम्भावना थियो । थ्री स्टार रेलिगेसनमा धकेलिने सम्भावना थियो । त्यसकारण उक्त खेलमा दुवै टिमका समर्थकले रंगशाला भरिनुपर्ने थियो । तर, दर्शक उपस्थित थियो – जम्मा २६ सय ।
अर्को महत्त्वपूर्ण खेल थियो, एपीएफ र फ्रेन्ड्सबीच । त्यो खेल पनि दशरथ रंगशालामै थियो । यो खेल पनि दुवै क्लबका लागि ‘गर या मर’को स्थिति थियो । फ्रेन्ड्सले एपीएफलाई ४–० ले हराउँदै रेलिगेसन टार्यो । यो खेलमा दर्शक संख्या थियो, दुई हजार मात्र ।
अर्को महत्त्वपूर्ण खेल हो, खुमलटार र चर्च ब्वाइजबीच एन्फा मुख्यालयमा भएको खेल । उक्त खेल चर्च ब्वाइजको उपाधि खुसी साट्ने अन्तिम खेल थियो । खुमलटारलाई रेलिगेसनबाट जोगिने झिनो आशा कायम राख्ने खेल । तर, त्यो खेलका क्रममा जम्मा ८०० दर्शक उपस्थित भएका थिए ।
अन्तिम खेल थियो, जावलाखेल र थ्री स्टारबीच । यही खेलको अन्त्यसँगै यो सिजनको लिग समापन हुने थियो । र, यो खेलको नतिजाले रेलिगेसनमा पुग्ने टिमको टुंगो लाग्ने थियो । तर, यो खेलमा दर्शकको उपस्थिति सन्तोषजनक थिएन । यो खेलका लागि साधारणतर्फको प्यारापिटमा दर्शकलाई निःशुल्क प्रवेश दिइएको थियो । र पनि दर्शकको उपस्थिति थियो, सात हजार मात्र ।
यही तथ्यांकबाट प्रस्ट हुन्छ, यो वर्षको लिग दर्शकबाट उपेक्षित रह्यो । दर्शकको अनुपस्थितिबारे प्रत्येक क्लबका प्रशिक्षकले लिग अवधिभर गुनासो गरिरहे ।
डबल राउन्ड रोबिन लिग
लामो समयपछि लिग ‘डबल राउन्ड रोबिन’ पद्धतिमा सञ्चालन भयो । पछिल्लोपटक २०६६÷६७ सालमा यस्तो पद्धतिमा लिग सञ्चालन भएको थियो । त्यसपछि डबल राउन्ड रोबिन पद्धतिमा लिग सञ्चालन भएको यो पहिलोपटक हो । सुरुमा लिग हुनेमै शंका थियो । पटक–पटक लिगको मिति परिवर्तन भएपछि अन्ततः ०७९ फागुन १९ गतेदेखि लिग सुरु भएको थियो ।
लिग सुरु भएपछि पनि सफलतापूर्वक सम्पन्न हुनेमा शंका थियो । किनकि, एन्फासँग लिग सञ्चालनका लागि बजेट अभाव थियो । तर, जसोतसो लिग सम्पन्न गर्न एन्फा नेतृत्व सफल भएको छ ।
स्टारडम नभएको लिग
एन्फाले लिग सुरु गर्ने तयरी गरिरहँदा नेपालका स्टार खेलाडी विदेशिने क्रममा थिए । राष्ट्रिय टिमका अधिकांश खेलाडी अष्ट्रेलिया भासिएका थिए । लिग सुरु भएपछि पनि केही स्टार खेलाडी अष्ट्रेलिया गए । लिग सुरु हुनुअघि नै विदेशिने नेपाली खेलाडीको संख्या चार दर्जनको हाराहारीमा पुगिसकेको थियो ।
त्यसले लिगमा खेलाडीको अभाव हुने भनियो । सोही कारण एन्फाले प्रत्येक क्लबमा विदेशी खेलाडीको कोटा बढाएर पाँच पुर्याएको थियो । पाँचमध्ये तीन विभिन्न मुलुकका विदेशी खेलाडी, एक एसियाली र एक दक्षिण एसियाली हुनुपर्ने प्रावधान बनाएको थियो । र, मैदानमा एकैपटक चार विदेशी खेलाडी खेल्न पाउने नियम बनाइएको थियो ।
लिगमा स्टारडम भएका खेलाडी भएनन् । नेपाली राष्ट्रिय टिमको ठूला नाम भनिएका विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, नवयुग श्रेष्ठ थिए । तर, उनीहरूको प्रदर्शन ‘स्टारडम’ भन्ने खालको थिएन । त्यसकारण न खेलाडीले आफूलाई त्यस रूपमा प्रस्तुत गरे न क्लब वा एन्फाले खेलाडीलाई त्यस रूपमा प्रस्तुत गर्यो । मच्छिन्द्र क्लबका अफिज ओलावालेले बरु आफूलाई त्यस रूपमा उभ्याए । उनी लिगकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने ।
लिगको अन्तिम दिनअघि मुख्य प्रयोजक
एन्फाले लिग सुरु हुनुअघि पटक–पटक मुख्य प्रायोजनका लागि आवेदन खुला गरेको थियो । तर, एन्फाले मुख्य प्रायोजक भेट्टाउन सकेन । भएकै कतार एयरवेजसँग पनि सम्झौता नवीकरण गर्न सकेन । त्यसकारण लिग मुख्य प्रयोजकविना नै चल्यो । लिगमा अन्तिम चरणको खेलअघि भने एन्फाले मुख्य प्रायोजकका रूपमा कतार एयरवेजसँग सम्झौता नवीकरण गर्न सफल भयो । लिग समापन कतार एयरवेजकै ब्यानरमा गरिएको थियो ।
विदेशी खेलाडीकै भर
नेपालका स्टार खेलाडीहरू विदेशिने लर्को लागेपछि लिगमा खेलाडी अभाव हुने अनुमान गरिएको थियो । यद्यपि, जसोतसो लिग सम्पन्न भएको छ । खेलाडी अभाव हुने अनुमान गर्दै एन्फाले विदेशी कोटा बढाएको थियो । मैदानमा एकैपटक खेल्न पाउने खेलाडीको संख्या तीनबाट चार पुर्याएको थियो ।
त्यसकारण सबै क्लबले महत्त्वपूर्ण पोजिसन विदेशी खेलाडीको जिम्मेवारीमा छाडेका थिए । जसकारण लिगमा विदेशी खेलाडीले प्रभुत्व जमाए । विदेशीले राम्रो प्रदर्शन गरेको दिन क्लबले जित्थे । विदेशी खेलाडीले खेल्न नसकेको दिन क्लब हार्ने अवस्था बन्यो । प्रशिक्षकहरूले खेलपछिको पत्रकार सम्मेलनमा बारम्बार यही कुरा दोहोर्याए, “आज हाम्रा विदेशी खेलाडी चल्न सकेनन् । त्यसकारण नतिजा हाम्रो पक्षमा आएन । विपक्षी टिमका विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्दा तीन अंक लिन सफल भए ।”
लिगमा उच्च गोलकर्ता बनेका शीर्ष पाँचमा नेपालका एक मात्र खेलाडी अटाए । सातदोबाटो युथ क्लबका दीपकराजसिंह ठकुरी १२ गोलसहित लिगको पाँचौँ उच्च गोलकर्ता बन्नु नै नेपाली खेलाडीको सबैभन्दा उत्कृष्ट प्रदर्शन रह्यो ।
अनन्त सर्वोत्कृष्ट, ओलावाले उच्च गोलकर्ता
लिगमा चर्च ब्वाइज युनाइटेडका रक्षक अनन्त तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । अनन्तले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । थ्री स्टारका लाकेन लिम्बू उदीयमान खेलाडी चुनिँदा चर्च ब्वाइजकै गोलकिपर प्रिसो सर्वोत्कृष्ट गोलकिपर घोषित भए । लाकेनले एक लाख ५० हजार र प्रिसोले दुई लाख रुपैयाँ पुरस्कार पाए । लिगको ‘फेयर प्ले टिम’ बनेको नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँ पुरस्कार पायो ।
मच्छिन्द्र क्लबका अजिफ ओलावाले प्रतियोगिताको उच्च गोलकर्ता बने । प्रतियोगिताभर २३ गोल गरेका ओलावालेले रेलिगेसनमा परेका फुटबल क्लब खुमलटारका मेसुके ओलोमेउलाई पछि पारेका थिए । ओलावाले तीन लाख रुपैयाँबाट पुरस्कृत भए । उच्च गोलकर्ताको सूचीमा दोस्रो स्थान हासिल गरेका ओलोमेउले १८ गोल गरे । तेस्रो स्थानका एन्कोटो मोसाबीले १६ गोल, चौथो स्थानका रफिक एमिनुले १४ गोल र पाँचौँ स्थानका दीपकराजसिंह ठकुरीले १२ गोल गरे ।