site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ज्ञानेन्द्र शाहीको आरोप : अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराए
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आरोप लगाएका छन् । 

सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले करको दर हेरफेर गरी केही निश्चित घरानालाई पोस्नका लागि अर्थमन्त्री महतले बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको समाचार बाहिर आएको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरे । 

Argakhachi Cement Island Ad

प्रमुख सचेतक शाहीले एक हजार १०० भन्दा बढी विद्युतीय गाडी भन्सारबाट भित्रिएकै दिन अर्थमन्त्रीले अनधिकृत व्यक्तिहरुलाई बोलाएर करको दर हेरफेर गराएको समाचार आएकाले सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताए । 

“भर्खरै एउटा समाचार आएको छ । अर्थमन्त्रीज्यूले करका दर हेरफेर गर्नुभयो भनेर । केही व्यापारिक घरानालाई पोस्ने गरेर भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउने गोप्य कोठामा लगियो भनेर समाचार आएको छ । नेपाल सरकार मात्रै होइन । भन्सार विभागका उपसचिवहरु पनि त्यहाँ भित्र छिर्न पाउँदैनन्,” उनले भने, “म आज संसद्लाई यो जानकारी गराउन चाहन्छु । अघिल्लो वर्ष पनि यस्तै भयो । अहिलेको वर्ष छिट्टै समिति गठन गरेर यदि यो काम अर्थ मन्त्रालयबाट भएको हो भने अर्थमन्त्रीमाथि कारबाही गरियोस् ।”

प्रमुख सचेतक शाहीले राज्यविरुद्धको अपराध हुने गरी करको दर हेरफेर गर्ने काममा केही अनधिकृत व्यक्तिहरुलाई संलग्न गराउने कुरा सैह्य हुनै नसक्ने चेतावनी समेत दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्