
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् ।
सोमबार संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् राजनीतिक थलो भएको र संसद्मा विभिन्न विचारधाराका पार्टी र नेताहरू एक ठाउँमा छलफल गर्ने थलो भएको बताए ।
उनले संसद् अवरुद्ध हुने विषय अनौठो नभएको पनि बताए ।
"संसद् भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरू र मानिसहरूको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद् अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद् अवरुद्ध हुने कुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो," उनले भने ।