site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लिपुलेक र कालापानीको आँगनमा 

‘यो छ महिनाको अवधिमा मैले देशका तीन विभिन्न ठाउँमा आयोजित साहित्यिक कार्यक्रममा भाग लिने अवसर पाएँ । पहिलो, पौष महिना इलामको कार्यक्रममा गएको थिएँ – ठिकठिकै थियो ।

त्यसपछि वैशाखमा तेह्रथुम गएको थिएँ । इलामको भन्दा राम्रो कार्यक्रम त्यहाँको भयो र त्यसपछि अहिले दार्चुला आइपुगेको छु । यहाँको यात्रा र कार्यक्रम दुवै हिसाबमा सबैभन्दा राम्रो भयो ।

हाम्रो नक्साको छेउमा देखिने दार्चुला त नआइ नहुने ठाउँ रहेछ । यहाँका बासिन्दाहरू त देशको सीमारक्षा गरेर बसिरहेका जनताहरू रहेछन् । उनीहरूलाई म यसै मञ्चबाट नमन गर्दछु ।’

Dabur Nepal
NIC Asia

दार्चुला अनुभवलाई २०७९ जेठ १३ गते शुक्रबार खलंगाको खुलामञ्चमा आयोजित ‘विशेष कवि गोष्ठी’मा सभापतिका रूपमा मैले यस्तो भनेको थिएँ ।

वास्तवमा ममाथि दार्चुलाको प्रभाव परेको भनेकै यही, त्यहाँका बासिन्दाले सिमानाको पहरा दिइरहेको भन्ने अनुभव भयो ।

खलंगा दार्चुला अर्थात् म रहेको ललितपुर, अफलडोलबाट झन्डैझन्डै ९६५ किलोमिटर टाढाको ठाउँ – मैले नक्सामा देखेको नेपालको पश्चिमी भित्तो ।

‘दार्चुला बृहत् साहित्य महोत्सव’ गर्ने भनेर नेपाली साहित्यका एक जागरुक व्यक्तित्व किशन धामीले हामी केही लेखक÷कविलाई महिनौँअघिदेखि निमन्त्रणा दिएर तयार पारिराखेका थिए ।

अमेरिकाबाट धामीले हामीलाई मेसेन्जरमा पटकपटक स्मरण गराउँदै त्यो निमन्त्रणालाई दिनदिनै ताजा बनाइरहेका थिए ।

नेपालको सुदूरपश्चिममा रहेको दार्चुला कस्तो ठाउँ हो भन्ने खुल्दुली मनमा रहिरहेको थियो । त्यो निमन्त्रणा ‘मधुपर्क’का सम्पादक जयदेव भट्टराईलाई पनि आएको रहेछ ।

‘जाने हो दाइ ?’

‘जाने हो भाइ ?’

हामीबीच दार्चुला जानेबारे फोनमा छलफल भई नै राख्थ्यो ।

मैले ‘हुन्छ, जाने’ भनेर किशन धामीलाई अन्ततः निर्णय पठाएँ ।

Kishor Pahadi 31685761909.jpg

उताबाट मेसेन्जरमा धामीजीको सन्देश आयो, ‘आउँदो ११ गते बिहान ६ः३० बजेको पहिलो उडानबाट साहित्यिक यात्रा धनगढ़ी हुने भएकाले एक घण्टाअगाडि विमानस्थल पुगिदिनुहोला ।’

त्यसपछि लेखिएको छ, ‘म नेटवर्कबाट टाढा भएको हुनाले मोबाइलको डाटाले काम गरिरहेको छैन । ४५ मिनेटको यात्रा गरेर नेटवर्क भएको ठाउँमा पुग्दा बिजुलीको लोडसेडिङ...।’

यस्तो लेखेको देखेपछि म ट्वाँ परेर हेरेको हेर्यै भएँ । म अब त्यस्तो ठाउँमा पो जाँदै रहेछु ? त्यस्तो ठाउँ अर्थात् नेटवर्क र बिजुली नभएको ठाउँ, सुदूरपश्चिम ।

धामीजीले भनेझैँ हाम्रो यात्रा २०७९ जेठ ११ गते बिहान बुद्ध एयरको फ्लाइटबाट धनगढ़ीसम्म भयो । ६ः१५ बजे सार्पमा उडान भनिए तापनि विमान सधैँझैँ केही घण्टा ढिलो नै उड्यो ।

धनगढीमा हामीलाई दार्चुला लैजान धनगढी–बझाङ चल्ने ना७ख ८४११ नम्बरको बस तयार रहेछ । त्यो बस चढ्न लाग्दा बसभित्र राजेन्द्र शलभलाई पहिले नै अगाडिको सिटमा बसिरहेको देखेँ ।

‘किशोर, मेरो खुट्टा लामो भएको हुनाले म त पछाडिको सिटमा बस्न नसक्ने भएर मैले हामी दुईका लागि यहाँ अगाडिको सिट छानेँ है !,’ शलभले भने ।

कुरा के भएको थाहा थिएन । भएको के रहेछ भने, बसभित्र को कहाँ बस्ने भनेर आयोजकले नै प्रत्येक सिटमा नामसहितको कागत राखिदिएका रहेछन् । शलभ र म एउटै सिटमा परेका रहेछौँ । एउटै सिटमा तर कतै पछाडिको लहरमा ।

शलभ हाम्रो समूहमा सबैभन्दा अग्लो साथी भएर खुट्टा लामो भएको हुनाले खुट्टाको कारण पछाडि बस्न असुविधा हुने भएर उनले अगाडि खुट्टा फैल्याउन मिल्ने सिटमा सारिसकेका रहेछन् ।

शलभले भनेकै सिटमा म बसेँ र हाम्रो धनगढी–दार्चुलाको बसयात्रा सुरु भयो ।

बिहानको खाजा खान सवा नौ बजेतिर गोदावरीको होटेल गोदावरी रिसोर्टमा बस रोकिँदा पो नीलम कार्की निहारिकाले मलाई भनिन्, ‘किशोर दाइ, तपाईंले झेली गर्नुभो ! हाम्रो अगाडिको सिटलाई पछाडि पारिदिनुभयो ।”

उनले त्यसो भन्दा पो शलभले खुट्टाको लागि पछाडि पारेको सिट नीलम कार्की र ज्ञानु अधिकारीको रहेछ भन्ने थाहा भयो ।

मेरो कारण यसो भएको होइन भनी जनाउन पछि फर्किंदा त्यही बसमा आफू मात्र एक्लै सबैभन्दा पछाडिको सिटमा बसेर दार्चुला–धनगढीको त्यो ३५० किलोमिटरको यात्रा पूरा गरेको थिएँ ।

धनगढी–दार्चुलाको बसयात्रा पहाडी बाटो थियो । सडक साँघुरो । अर्कोतिरबाट बस आयो भने साइड दिनको लागि पनि ठाउँ नहुने र बस ब्याक गरेर साइड दिनुपर्ने । सडक त सबै पिच नै थियो, तथापि साँघुरो र भिरालो बाटो हुनाले हामी यात्रुहरूलाई डराउनुपर्ने परिस्थिति अस्वाभाविक होइन ।

लामो बाटो जाँदाजाँदै रात पर्यो । अन्धकार ।

त्यस्तो अन्धकारमा पनि बसका चालक साइड दिन बस सरर्र ब्याक गर्दथे । खलासीले भीर हेरेर ढ्याङढ्याङ पनि बजाउनु नपर्ने । चालकले त्यत्तिकै अन्धकारमै साइड मिरर हेरेर अर्को बसलाई साइड दिँदा हामी साहित्यसेवी यात्रुहरूभित्र चिसो दौडन्थ्यो ।

यसरी हामीलाई अन्ततः चालकले आधारातमा खलंगा पुर्याइछाडे । आधारातमै ढुक्क भएँ म लिपुलेक र कालापानीको आँगन दार्चुलाको खलंगा पुगेँ भनेर ।

आयोजकले हाम्रा लागि ‘होटेल भावना’मा कोठाहरू बुक गरिएको रहेछ । सबैलाई दुई÷दुईजना बस्न मिल्ने गरी छुट्ट्याएर ढोकामा नाम टाँसेका रहेछन् ।

मेरो नाम ‘जयदेव भट्टराई’सँग टाँसिएको थियो । जयदेव भट्टराई प्रिय मित्र तथा भाइ । म कोठा नम्बर ११० मा जयदेव भट्टराईसँग रहने भएँ । हामी दुवैले आ–आफ्नो बिछ्यौनामा राज जमायौँ ।

झ्यालबाट बाहिर हेर्दा पिर्लिकपिर्लिक वरिपरि र पारि डाँडाजस्तोमा बत्ती बलेका देखिए । थाकेर पुगेका हामी आधारातमै पनि मस्तसँग निदाएछौँ ।

भोलिपल्ट बिहान म छिटै बिउँझेँ । प्रायः छिटै बिउँझने बानी छ मेरो । झ्यालको पर्दा उघारेर बाहिर हेरेँ । उज्यालो भइसकेको थिएन, त्यस्तै पिर्लिकपार्लिक बत्तीहरू ।

दाँत दिनहुँ माझ्छु । दाँत माझेँ ।

दाह्री दिनहुँ खौरिन्छु । दाह्री खौरेँ ।

मुख सधैँ धुन्छु । मुख धोएँ र अब नुहाउन पर्र्यो भनेर बाथरूम जाँदा त अचम्म — बाथरुम सावर त आफ्नो ठ्याक्कै टाउकोको हाइटमा पो राख्या छ ! अचम्म लाग्यो । किनभने, हामीकहाँ त सावर एक÷दुई फिटमाथि नै राखिएको हुन्छ । त्यहाँ त मेरो टाउको ठोक्किएलाजस्तो हाइटमा पो थियो ।

जयदेव अझै निदाइराखेका थिए । पछि बिउँझेपछि मैले जयदेवलाई भनेँ, ल, सावर त कति कम हाइटमा राखेको रहेछ, मेरो टाउकोको हाइटमा पो छ ।’

मभन्दा अलि कम हाइटका जयदेवले भने, ए, मलाई त ठिक्क हुने भएछ ।’

म हाँसेँ । जयदेव मभन्दा कम हाइटको हुनाले ठिकै भनेका हुन् त्यसो त । तर, हामीबीच हाँसो चल्यो । जयदेव बेलाबेला यसरी नै हँसाउने गर्दछन् । रमाइला छन् । यात्रा अवधिभर जयदेवबाट यस्तै हँसाउने शब्दहरू बर्सिरहन्थे ।

जयदेवमा अर्को रमाइलो कुरा के भने, उनलाई पनि बिहानबिहान मर्निङवाक जानुपर्ने, मलाई पनि । अरू मस्तसँग निदाइरहेको बेला हामी दुवै खलंगाका डाँडाकाँडा, गल्ली भित्रभित्र पैदलयात्रा गर्ने गर्थ्यौँ ।

बिहान उज्यालो भएपछि देखियो, अँध्यारोमा पिर्लिकपार्लिक बत्ती देखिएको त उता सीमापारि भारतको धार्चुला पो रहेछ । एकदम नजिकको पहाड । बीचमा महाकाली नदी । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने एउटा झोलुंगे पुल रहेछ, जुन रातभरि बन्द हुँदो रहेछ ।

सीमाद्वार बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुँदो रहेछ । ७ बजे पारि भारतमा काम गर्न जानका लागि दार्चुलावासीहरू पुलबाहिर कुरेर बसिरहेका देखिन्थे । सीमा खुलेपछि ग्वारर्र उता जाँदा रहेछन् । त्यसो त उनीहरूले काम गर्ने भनेको त्यही ज्याला मजदुरी त हो नि ! त्यही ज्याला मजदुरी गरेर साँझ यता दार्चुलाको घरमा आउँदा रहेछन् ।

Kishor Pahadi 21685761950.jpg

हुन पनि यता दार्चुलाको बजारभन्दा उता धार्चुलाको बजार अलिकति ठूलो र विकसित देखिन्थ्यो नै । धार्चुलाको भोटिया पडावको बीचमा महात्मा गान्धीको पूर्णकदको सालिक र त्यहीवरिपरि भारतीय बजार । त्यो सालिकअगाडि त्यता घुम्न गएका हामी सबैले फोटो खिचाएको सम्झना भयो ।

पारितिरको भारतीय बजारमा भीआईपी बनियान किनेको सम्झना भयो ।  युनिलिभरको भ्यासेलिन किनेको सम्झना भयो र आफ्नो नेपालको बजारबाट अचार खाने भाङ्गो (भाङ्ग) किनेर ल्याई यता ललितपुरका आफन्तहरूलाई कोसेली पनि बाँडेको सम्झना भयो ।
०००
साहित्यले बनाएको सम्बन्ध धेरै बलियो र दिगो हुने गरेको छ ।

२०औँ वर्षअघि भेट भएका किशन धामीले त्यही सम्बन्धका कारण मलाई निम्तो दिए, नेपालको पश्चिमी भित्तो हेर्न जानका लागि । समयको अन्तरालमा किशन अमेरिका पुगिसकेका रहेछन् र त्यहीँबाट निम्तो दिएका थिए किशनले ।

हामी त्यसैकारण नेपालको पश्चिमी भित्तोको साहित्य, संस्कृति हेर्न पुगेका छौँ – दार्चुलाको लिपुलेक, खलंगा ।

भव्य साहित्यिक कार्यक्रम भए। ‘राजधानीका दृष्टिमा सुदूरपश्चिमको साहित्य’ विषयमा समूहगत विमर्श भयो । त्यस्तै, ‘सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा दार्चुलाको साहित्य र संस्कृतिको भूमिका’ विषयमा पनि समूहगत विमर्श भएको थियो ।

साहित्यिक कार्यक्रमसँगसँगै छलिया नृत्य, गौरा नृत्य, देउडा आदिको प्रस्तुति भए । दुहूँ गाउँपालिकाको सांस्कृतिक झाँकी देखियो ।

र साहित्य ? दिनभरिको भव्य कविगोष्ठी नै आयोजना भएको थियो, खलंगाको खुलामञ्चमा ।

राजधानीबाट ९६५ किलोमिटर टाढाको त्यस दुर्गम ठाउँमा खुसीको कुरो, एउटा साहित्यिक संस्था नै रहेछ – ‘दार्चुला साहित्य समाज’को नाममा । जिल्ला प्रशासन कार्यालयमा दर्ता नै गरिएको संस्था रहेछ, जुन नरेन्द्रसिंह बडालको अध्यक्षतामा अहिले सक्रिय रहेको छ ।

कविगोष्ठीमा ती नरेन्द्रसिंह बडाललगायत त्यस भेगका थुप्रै कविका कविताहरू सुनिए । त्यताका कविहरूको रचनामा विशेषतः राजधानीप्रति गुनासाहरू देखिए । तीमध्ये अम्बिका जोशी ‘आयुषा’को ‘ए राजधानी’ कविताले राजधानीबाट त्यहाँ पुगेका सबै कविहरूलाई उद्वेलित गर्यो–
ए राजधानी,
मेरो निम्तो छ तिमीलाई 
आऊ एकपटक
कमसे कम हेरेर जाऊ  
तिम्रो सौतेनी आँखामा नपरेको
मेरो विकट बैतडी
तिम्रोजस्तो 
महँगो मेजमानी त गर्न नसकौँला 
तारेहोटेलका तारा टिपेर
मकै भटमासको सही
कमी हुने छैन न्यानो आतिथ्यतामा
फर्किंदा,
अलिकति ऐँसेलु बोकेर जानू
नौलो कोसेली हुनेछ तिम्रो प्रियाका निम्ति 
सँगसँगै, 
अलिकति चिसो बतास पनि बोकेर जानू 
मेरो अपीको 
हिमाली काखबाट निस्केको
र,
फोक्सो सफा गर्नू वर्षौँदेखि मैलिएको
एकपटक निर्मल स्वास लिएर
र, फेरि
लैजानू 
तिमीले बोक्न सक्नेजति 
लालीगुँरास पनि 
बाँडिदिनू, सिंगो काठमाडौंलाई  
गाउँले सुन्दरताको रातो लाली
त्यसमध्येबाट एक थुँगा झिकेर
हाम्रो सिगास मन्दिरमा चढाउनू 
र,
वरदान माग्नू– 
हे माते, 
तिम्रोजस्तै स्वच्छ, सफा, हराभरा 
बनाइदेऊ न
मेरो पशुपतिनाथको सासस्थान वरिपरि पनि 
संग्ल्याइदेऊ न 
वाग्मतीको मुहान
गुह्वेश्वरीका छालहरू 
सम्याइदेऊ न 
अग्ला–अग्ला महल अघिल्तिरका
झन् अग्ला फोहेरका पहाडहरू 
उडाइदेऊ न 
यो नाकै ठुसाउने दुर्गन्ध
आँखा बिझाउने 
धुलो, धुवाँ र कार्बन
सिकाइदेऊ न 
मेरो ठाउँका यी कु–मान्छेलाई 
मानवीय संवेदना, ऐँचो, पैँचो
सरसापट, साथ, सहयोग
हटाइदेऊ न
हामीभित्रको मपाईं
सत्ता–शक्तिको घमण्ड
राजधानी हुनुको दम्भ
सराबरी, बराबरीको
यी बैतड्यालहरूजस्तै
अनि,
राजधानी फर्किएपछि भन्नू– 
कस्तो लाग्यो विकट बैतडी ?
सुन्न मन छ तिम्रो प्रतिक्रिया 
तिम्रै मुखबाट
एकपटक आएर फर्किएपछि
आखिरमा 
खुब लामो रहेछ महाकाली त...।
आऊ है 
ए राजधानी !
ए राजधानी !!
(प्रस्तुत कविता संस्मरणमा राख्न भनेरै कविसँग मागेको हुँ ।)

Kishor Pahadi 11685761975.jpg

गोकुलेश्वर बैतडीका नवोदित किशोरी कवि अम्बिका जोशी ‘आयुषा’को  यो कविताले सबैलाई झसंग पारिदिएको थियो । म अझै सम्झन्छु त्यो र त्यस्तै अन्य कविताहरूको प्रभावमा परेर मैले सभा विसर्जन गर्ने क्रममा यसो भनेको थिएँ, ‘दार्चुला भन्नासाथ राष्ट्रियताका कुरा आउँछन् । मनमा काँडा पलाउँछन् । आज वाचित थुप्रै कवितामा राष्ट्रियता र सिमानाका सन्दर्भ आएका छन् । यसले कवि राष्ट्रियता र बचेको सीमा जोगाउन तत्पर छ भन्ने स्पष्ट देखिन्छ ।’

र, यही सत्य थियो, सत्य छ र सत्य रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro