एक
रमाइलो दिन थियोे झन्झन् सुमधुर रात थियो
समयको मिठो अँगालोमा भरपुर मात थियो
व्यवधान पन्छाउँदै अगाडि बढ्न खोज्दै थिएँ
भाग्यसँगै विधाताले लगाएको धारे हात थियो ।
दुई
आश्वासनले भरिएको डोको लिएर आउँदै छन्
झन् गाँठैगाँठो पारेको पोको लिएर आउँदै छन्
मिठो सपना बाँड्छन् समृद्धिको लड्डु देखाउँदै
सात पुस्तालाई कमाउने धोको लिएर आउँदै छन् ।
तीन
किन आउँछ जिन्दगीमा निष्पट्ट कालो रात दिक्क लाग्छ
झन् विधाताले निरन्तर लगाइरहँदा धारे हात दिक्क लाग्छ
निष्ठा अनि विश्वासमा अडेको हुन्छ लाग्थ्यो मानवसंसार
आफ्नो भन्नेहरूबाट जब हुन्छ विश्वासघात दिक्क लाग्छ ।
चार
जन्मे हुर्केको देशको माटो चटक्कै माया मारेर जान्छन्
उज्जवल भविष्यको मिठो सपना पोको पारेर जान्छन्
यहीँ जन्मियो यहीँ हुर्कियो तर यहाँ भविष्य नदेखेपछि
मुटु गाँठो पार्दै आँखाबाट बलिन्द्र आँसु झारेर जान्छन् ।
पाँच
दुःखको महासागर तर्न मायाको लौरो चाहिँदो रहेछ
आँखाको आँसु भर्न पीडाको कचौरो चाहिँदो रहेछ
धाएर मन्दिरमा भगवान्लाई खुब खुसी पारे लाग्दथ्यो
मनको व्यथा दूर गर्न कलेजोको धुपौरो चाहिँदो रहेछ ।
(फुटुङ, काठमाडौं)