site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बन्दुकधारी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

साँझको सात बजेको समय । घामले आफ्नो अनुहार डाँडाको टाकुरोमा लुकाइसकेको थियो । बिहानीबाट आँखा नउघारी आकाश रोइरहेको थियो । साँझ गएर रुन बिराम लियो । तर पनि ढुस्स परेर आफ्नो रिस देखाइरहेको थियो । परिणामस्वरूप सात बजे नै निस्पट्ट अँध्यारो भयो ।

मेरो घरअगाडि थापिएको सानो पान पसलमा साँझपख खानपिन भएपछि प्रायः गाउँघरका दाजुभाइ पान–चुरोट खान आउने गर्थे । आज पनि लीला दाइ पान खान आएका थिए । पिँढीको सीएफएल बल्ब फ्युज भएर अँध्यारोले प्रभुत्व जमाउन सफल भएको थियो । म पसल बन्द गर्ने तरखर गर्दै थिएँ ।

लीला दाइ पिँढीको बेन्चीमा बसेर पान चपाउँदै थिए । भदौको महिना लामखुट्टेले सन्चले बस्न कहाँ दिन्छ र ! पान हालेको मुखभन्दा लामखुट्टे मार्नमा उनका हात बढी चलिरहेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पसल बन्द गरेँ । लीला दाइले बिदा माग्दै भने, ‘लौ मनमाया, म घरतिर लाग्नुपर्यो । मच्छेटले बस्नै देन । पानी फेरि पर्ला झैँ हुँदै छ । छाता नलिई आइछु । पानीले बाटैमा भेटो भने भिजाउँछ ।’

‘हुन्छ दाजु, आउँदै गर्नु । तपाईं त आजभोलि आउनै छोड्नुभो ।’

Royal Enfield Island Ad

‘के गर्नु मनमाया, घरको कामले फुर्सत पाइँदैन । अँ साँच्चै, साइँलाको आउने कुरा छैन ? ऊ नआएको पनि चार वर्ष भइसक्यो त !’

‘तपाईंलाई सबै कुरा था’नै छ दाजु । त्यो कलकत्ताको विदेश पठाउने अजेन्टले दुबई पठाउँछु भनेर दश लाख ठगिदियो । दश लाख कलकत्तामै नकमाई घर फर्किदिनँ भन्नुहुन्छ साइँला । यो वर्षको दसैँमा चैँ कसै गरेर पनि एक हप्ताका लागि घर आउन कर गर्नुपर्नेछ ।’

मेरो कुरो अपूर्ण हुँदै तगारोबाट दुई जवान केटा भित्रिए । सुइँसुइँ पिँढीतिर आए । अँध्यारोले गर्दा ठ्याक्कै चिन्न सकिनँ । तर, उनीहरूले एकार्कामा फुस्फुसाएको सुनेर कुकी समाजका केटा भएको ठम्याएँ ।

रक्सी धोकेर आएका रहेछन् । ह्वास्सै गनायो । कुकी केटा हुन् भनेर जानिसक्दा डरले थुरुरु भएँ । तीन दिनदेखि लेलिनले ‘मेरो एक लाख ऋण फिर्ता गर्दे, नत्र अन्डरग्राउन्डका मान्छे पठाउँछु’ भन्दै धम्काएको थियो । डरै मात्र देखाएको होला भनी यादै गरेकी थिइनँ । तर, आज घरमै आइपुग्दा हंसले ठाउँ छोड्यो ।

पिँढीमा आएपछि एउटाले हातमा भएको सानो बिँडीको ठुटोलाई ओठमै बिलाउने गरी लामो सर्को तान्यो अनि फ्याँकेर भन्यो, ‘अन्दर चलो, प्राइवेटमा कुरा भन्छु !’

लीला दाइ बोल्न अघि सरेका थिए । अर्को जवानले पछाडिपट्टि कम्मरमा राखेको पिस्तोल निकालेर लीला दाइलाई बेन्चीमा थेचारिदियो । म डरले काप्न लागेँ । तर, डर उनीहरूलाई देखाइनँ ।

भित्र स–साना तीनवटा छोराछोरी टीभी हेर्दै बसिराखेका थिए । म डराएँ भने नानीहरूको के हाल होला ! यो डर कुकीको डरमा भारी पर्यो । मैले निडर रहने प्रण गरेँ ।

बाहिरको आवाजले दशवर्षे छोरो बाहिर निस्कियो । बन्दुकधारी केटा देखेर मसँग टाँसिन पुग्यो । छोराले सोलर लाइट बोकेर बाहिर आएको हुनाले ती जवानका अनुहार प्रस्टै देखियो ।

बन्दुकधारी हेर्दै डरमर्दा । लामा जगल्टा, एउटा गोरो, अर्को कालो । खैनी खाएर होला, दाँत कालो र पहेँलो रङले मिश्रित भएका । कालो बन्दुकधारीको गालामा छुरा चलेर बसेको जस्तो लामो कोटेको दाग पनि ।

मलाई फेरि धम्कायो, ‘भित्र हिन् भनेको, सुनेको छैन तैँले !’

‘म जान्नँ । लोग्ने नभएको घरमा आएर यसरी धम्काउन सरम लाग्दैन ? जे भन्नु छ यही भन्,’ निर्भीक भएर भनेँ ।

पिस्तोल ठड्याउँदै एउटाले भन्यो, ‘हम अन्डरग्राउन्डका मान्छे हो । लेलिनको वान लाख मनी जल्दी दे । नहीं तो मार देगा ।’

‘लेलिनलाई भनिसकेकी छु, मैले उसको ऋण लिएकी छैन । जसलाई ऋण दिएको छ, त्यैसँग माग भन्नु लेलिनलाई ।’

दुईजनाले कुकी भाषामा केही गन्थन गरे । मैले बुझिनँ ।

गन्थन सकेर मलाई फेरि धम्कायो, ‘भोलि फेरि आएगा । मनी रेडी राख, नही तो गोली मारेगा ।’

बन्दुकधारीले जाने संकेत दिएपछि अलिक ढुक्क भएँ । दुवै गए । तर, जानुअघि पसलबाट दुइटा पान, सिगरेट र माचिस सित्तैमा लगे ।

गाउँको महिला समितिलाई सिकायत गर्ने सुझाव दिएर लीला दाइ आफ्नो घरतिर लागे । पिस्तोल मेरो टाउकोमा तेर्स्याइएको थियो । घरमा लोग्ने थिएनन् । स–साना नानी लिएर बसेकी मलाई औधी डर लाग्यो ।

समय खेर नफ्याली भान्जाको घर पुगेँ । भान्जा जागिरबाट छुट्टीमा आएका थिए । भान्जालाई एकै सासमा घटनाको वृत्तान्त सुनाएँ । भान्जाले पनि महिला समितिलाई सिकायत गर्ने सल्लाहमा सहमति दिए । भान्जालाई अभ्यावेदन लेख्न लगाएँ । भान्जाले तुरुन्तै अभ्यावेदन लेखिदिए–
सेवामा, दिनांक– ०८/०७/२०२२
महिला समिति अध्यक्षा,
कोपाक गाउँ, सेनापति, मणिपुर ।

आदरणीया अध्यक्षा,
म मनमाया देवी । यही गाउँकी निवासी हुँ । गाउँलाई थाहा छ, मेरा श्रीमान् चार वर्षदेखि परदेशमा हुनुहुन्छ । दुःखसुखमा छोराछोरी पालेर बसेकी छु । श्रीमान् विदेश जाने हुँदा इम्फालको मैतेई सनजाओबा सिंहलाई श्रीमान्ले घरको जमिन बेच्नुभएको थियो । ऊ तीन वर्ष यही बस्यो । पछिल्लो वर्ष सनजाओबाले नेपालीभाषीलाई नै हामीबाट किनेको जमिन बेचरे यहाँबाट गयो । तल्लो गाउँ, लाइकोटको लेलिन सनजाओबाको घरमा एकचोटि आएको जस्तो लाग्छ । केही हप्ता दिनबाट लेलिनले मसँग एक लाख पैसा मागेर मलाई दिक्क लगाइरहेको छ । हिजो त लेलिनले अन्डरग्राउन्डका मान्छे पठाएको थियो । दुईजना पिस्तोल बोकेर आएका थिए । डराए, धम्काए । भोलि आउँछौँ भनेका छन् । छोरो मान्छे नभएको घरमा स–साना छोराछोरी लिएर बसेकी छु । घरमा बस्न डरै भयो । तपाईंहरूले केही उचित मद्दत गर्दिनुपर्यो । लाइकोटको गाउँबुढालाई भनेर लेलिनबाट पिछा छोडाइदिनुहोस् । म समितिको सधैँ आभारी रहनेछु ।
भवदीया,
मनमाया
०००
भान्जाले भोलिपल्ट आफैँ अभ्यावेदन महिला समितिलाई बुझाएर आए । समितिले भरसक सहायता गर्ने आश्वासन दिए । म बिचरीको पीडा सम्झेर समितिले त्वरित कारबाही गर्दै त्यही दिन दुईजना सदस्य लेलिनको घरमा गए । घरमा लेलिन रहेनछ । उसकी श्रीमतीसँग भेटेर सिधै मेरो घरमा आए । उनीहरूले यथाशीघ्र कारबाही गरेको जानकारी मलाई दिए ।

‘मनमाया, तिम्रो अभ्यावेदन पाएपछि हामी भर्खरै लेलिनको घरमा गएर आएका हौँ । तिम्रो’नि गल्ती रहेछ । सनजाओबाले जमिन बेचेर उसका ऋणदातालाई पैसा दिएको समय लेलिनलाई किन खबर दिइनौ ? त्यसैमा लेलिन रिसाएको रहेछ । उसले तिमीलाई भनेको थियो अरे– सनजाओबाले मेरो एक लाख लगेको छ, उसले जमिन बिक्री गर्ने कुरा गर्दै थियो, जमिन बेचेको खबर पाइसक्दा मलाई पनि खबर दिनू ।

उसकी श्रीमतीले सुनाई– सनजाओबा कता भाग्यो थाहा छैन । मनमायाको जमिन किनेर बसेको थियो । जमिन बेचेको खबर मलाई सुनाइन । उसलाई सबै थाहा भएर पनि बुझ पचाई । अब एक लाख मनमायाले नै दिनुपर्छ ।

निकै उफ्रिँदै थिई उसकी श्रीमती । तर, हामीले पनि टाइट भएर भन्दिएका छौँ– जसलाई ऋण दिएका छौ, उसैसँग पैसा माग । किन एउटी अबला नारीलाई पिरोल्छौ ?,’ अध्यक्षाले आफ्नो भरिलो अनुहारमा कान्ति छर्दै भनिन् ।

‘दिदी, लेलिनले मलाई खबर त गर्नू भनेको थियो, तर सनजाओबाले जमिन बेचेको बेला सबैलाई बोलाएको थियो । उसको घरमा ड्याम्मै ऋणदाता आएका थिए । म पनि आफ्नै काममा मग्न थिएँ । सनजाओबाले गाउँभरि ऋण गर्यो । ऊ त जमिन बेचेर हरायो, तर मलाई भने घाँटीमा हड्डी अड्काइदियो ।’

‘अब तिमी चिन्ता नगर । हामीले लेलिनकी स्वास्नीलाई मजाले सम्झाइदिएका छौँ । फेरि पनि तिमीलाई पिरोल्ने काम गरे भने गाउँबुढालाई भनेर कारबाही गर्न लगाउँछौँ ।’

मलाई आश्वासन दिएर गए । म अलिक ढुक्क भएँ । तर, लेलिन चुप कहाँ बस्थ्यो र, महाकपटी मान्छे ! महिला समिति आएको बुझेर लेलिन रिसले धुवाँ भयो । मेरो घरमा आई त हालेन, तर डर भने भइरह्यो ।
०००
सिकायत गरेको भोलिपल्टै लेलिनले तिनै दुईजना बन्दुकधारीलाई महिला समिति अध्यक्षाको घरमा धम्काउन पठायो । साँझ परेपछि अध्यक्षाको घरतिर बन्दुकधारी बाइकमा सवार भएर गए । अध्यक्षाको घरमा ताला लगाइएको रहेछ । ती अध्यक्षालाई कुर्न लागे ।

अध्यक्षा आउन्जेल समयको सदुपयोग गर्दै छेउको पसलमा पैसा लुट््ने योजना बनाए बन्दुकधारीले । रामनाथको पसल छेउमै थियो । झमक्कै रात परेकोले बाटो चकमन्न थियो । रामनाथले पसल बन्द गर्न मात्रै लाग्दै थिए, पसलभित्र बन्दुकधारी भित्रिए । अनि, रामनाथको कनपट्टीमा पिस्तोल ताकेर पैसाको दराज खोल्न लगाए ।

रामनाथ शिक्षक पनि थिए । शान्त स्वभावका रामनाथले बन्दुकधारीसँग लडाइँ गर्ने हिम्मत जुटाउन सकेनन् । कनपट्टीमा पिस्तोल राखेपछि अरू के नै उपाय हुन्छ र ? आत्मबलबाहेक पिस्तोलको अघि बाहुबलको केही भर हुन्न । त्यही आत्मबलको आडमा रामनाथले एउटालाई धकेल्ने प्रयास गरे । तर, पिस्तोलको चुच्चोले घोचेपछि समयसँग हार्नुबाहेक अरू केही विकल्प भेटेनन् । यसै पनि गाउँ कैयौँ वर्षदेखि बन्दुकधारीबाट त्रसित हुँदै आएको थियो । दराजबाट दिनभरि बिक्री भएका रुपियाँ एउटाले मुठ्याएर ज्याकेटको खल्तीमा घुसार्यो ।

यति गरेर ती दुई बाइकतिर लम्किँदै थिए, रामनाथ ‘चोर...चोर’ भनेर चिच्याउन थाले । गाउँ केही क्षणमै गुजिल्टियो जसरी चिनीका दाना देखेपछि कमिला गुजिल्टिन्छन् । अन्डरग्राउन्डका मान्छे भनेर चिच्याउँथे भने सायद यति छिटो सहायता गर्न आउने थिएनन् होला । तर, रामनाथले लगाएको जुक्ति सटीक ठहर्यो । भीडले बन्दुकधारीलाई घेर्यो । एउटा उम्कियो । अर्कोलाई सबैले रामधुलाई गर्न लागे ।

तल्लो बाटाको छेउ प्रेम कार्कीले छोराको जन्मदिन समारोह मनाउँदै रहेछन् । प्रेम कार्की इन्डियन आर्मीका जवान थिए । छोराको जन्मदिनमा निकै साथी भेला पारेका रहेछन् । चोर समात्ने गुहार लगाइएको आवाजले बाहिर मात्र निस्किँदै थिए, बन्दुकधारी भाग्दै गरेको फेला पारे । प्रेम कार्की र तिनका साथीले च्याप्प समाते, बिरालोले मुसो समातेजसरी ।

बन्दुकधारीले पिस्तोल तन्काई त हाल्यो । प्रेम कार्की डिउटीमा रहँदा यस्ता बन्दुक दिनै सिरानीमा लिएर सुत्ने फौजी मान्छे । पिस्तोलमा मेगजिन नरहेको बुझिहाले । बन्दुकधारीलाई कान तात्ने गरी बजाए । शेष काम अरूले गरे । दुइटै अन्डरग्राउन्डलाई छेउमा रहेको असम राइफल्स कैम्पमा जिम्मा लगाइदिए ।

अन्डरग्राउन्डका शीर्षस्थले बन्दुकधारीलाई कुटेको गाउँमा सोधपुछ गरे । फौजीले कुटेको जानेपछि हाम्रा मान्छे होइनन् भनेर हात उठाइदिए । तर, भित्रभित्रै आगो बल्न लाग्यो ।

ऋण उठाउन लागेको कहानीले ठूलो रूप धारण गर्यो । झ्यासमा आगो लगाएको जंगलमै सल्कियो । मलाई धम्काउने बन्दुकधारीले फल पेटभरि खाए । उनीहरू साँच्चिकै भित्रका मान्छे थिए या ढोङ गरेर धम्काउन मात्र आएका थिए, मलाई ज्ञान भएन । तर, उनीहरूलाई आदेश दिने कपटी लेलिन गाउँभरि मैले ऋण लिएर नदिएको झुटो हल्ला फिँजाइरहेको थियो ।

महिला समिति आक्रोशित भएर लाइकोट–गाउँबुढालाई तुरुन्तै फोन हानियो । फोनमै सबै घटना सुनाइदिए । महिला समितिले भोलिपल्ट तुरुन्तै मिटिङ गर्ने कुरा राखियो ।

गाउँबुढाले बिरामी छु भनेर मिटिङमा नआउने जनाए । गाउँबुढाको कुरा सुनेर फोनमै झर्किइन् अध्यक्षा, ‘यसो भनेर हुन्छ ? तपाईंको गाउँको मान्छेले यसरी हाम्रो गाउँको मान्छेलाई पिरोल्न पाउँछ ? तपाईं आउन नसक्ने हो भने हामी नै तपाईंको घरमा आउँछौँ । त्यही मिटिङ गरौँला ।’

गाउँबुढाले असहाय स्वरमा भन्यो, ‘लेलिनलाई जे गर्न मन छ, गर । ऊ मेरो बात सुन्दैन ।’

सनजाओबालाई खोजेर बोलाइयो । महिला समितिका सदस्यहरू, गोर्खा युनाइट एसोसिएसनका केटा अनि सनजाओबा भएर भोलिपल्ट गाउँबुढाको घरमा गयौँ । लेलिनलाई मिटिङका लागि बोलाउन सयचोटि फोन गर्दा पनि अहिले इम्फालमा छु, भ्याउँदिन भन्यो । तर, समिति मिटिङ गरेर जाने अठोटमा रह्यो । लेलिनलाई बेलुकीबखत मिटिङमा आउन करै लाग्यो ।

मिटिङ सुरु भयो ।

पहिले लेलिन बोल्यो, ‘यो मनमायाको जमिन किनेर सनजाओबा फोर यर्स तक बसेको हो । यसले मेरो वान लाख मनी लगेको वान यर भो, अझै दे’को छैन । माग्न जाँदा जमिन सेल गरेको बेला दिन्छु भनेको हन्ड्रेड टाइम्स भयो । मैले मनमायालाई सनजाओबाले जमिन सेल गरेको बेला खबर गर्नू भनेको थेँ । तर, यसले मलाई भनेन । झुठ बोला । सायद सनजाओबासित मिलेर मेरो वान लाख डायजेस्ट गर्न ट्राय गरेको होला । सनजाओबा त भागिहाल्यो, यसैको जमिन किनेर बसेको थियो । नाइबर थियो, योसित पैसा नमागी कोसित लिने ?’

लेलिनले आफ्नो कुरा सकेपछि अध्यक्षा बोलिन्, ‘यो लेलिनले मनमायाबाट ऋण लिएको रहेनछ । सनजाओबाबाट ऋण लिएको हामी सबैले थाहा पायौँ । फेरि किन यो अबला नारीलाई यो लेलिनले पीर दिएको ? मनमायाले सनजाओबालाई जमिन बेचेको भन्दैमा सनजाओबाले लिएको ऋण मनमायाले तिर्नुपर्छ भन्ने कहाँसम्म न्यायोचित हो ?’

गाउँबुढाको ध्यानाकर्षण गराउँदै अध्यक्षाले थपिन्, ‘फेरि अन्डरग्राउन्डका मान्छे लगाएर यसले किन यसरी धम्काएको ? भन्नुहोस् ओझा (मणिपुरमा महोदयलाई ओझा भनिन्छ), के यस्तो गर्नु ठिक हो ?’

गाउँबुढाले भन्यो, ‘सनजाओबा तैँले लेलिनबाट पैसा लिएको थिइस् ?’

सनजाओबाले भने, ‘मैले पैसा लिएको लेलिनबाट हैन, लेलिनको ससुराबाट लिएको थिएँ । यो लेलिनसँग मेरो बात भएको छैन ।’

लेलिन झर्किंदै बोल्यो, ‘यस्तो भन्न पाइन्छ र ? मेरो ससुराले मसित वान लाख मनी लिएर सनजाओबालाई दिया था । ससुरो त मरो । उसको ऋणकर्ता तँ होस् । मेरो ऋणकर्ता मेरो ससुरो । ऊ मरो । अब मेरा लागि तँ नै ऋणकर्ता हो । अब मेरो ससुरो र तँ नभएपछि मनमाया मेरा लागि ऋणकर्ता । इसलिए मैंने मनमाया से मेरा पैसा मांगा है ।’

टाउकोमा हात राखेर अध्यक्षाले भनिन्, ‘हरे राम ! लेलिनले कहाँको कुरा कहाँ ल्याएर मनमायाको टाउकोमा खन्याउँदै छ । ओझा, यसरी कहाँ मिल्छ ? यो लेलिनलाई सनजाओबाबाट पैसा लिन लगाएर मनमायाको पिछा छोड्ने वाचा गराउनुहोस्, हामी यही चाहन्छौँ । तब गएर दुई समाज मिलेर बस्न सक्छ । दुई समाज लडेर बसेको कहाँसम्म ठिक हो, भन्नु त !’

गाउँबुढाले निकै बेर सोच्यो अनि लामो सास फेरेर भन्यो, ‘कुरा त ठिक हो अध्यक्षाको । लेलिन, तैँले अबदेखि मनमायालाई पीर नगर्नू । तैँले तेरो ऋणकर्ता भेटिस् । यसैबाट तेरा ससुराको पैसा लिनू ।’

गाउँबुढाले सनजाओबालाई औँल्याउँदै सोध्यो, ‘सनजाओबा, तैँले के गर्न लेलिनको ससुराबाट पैसा लिएको थिइस् ?’

‘म र लेलिनको ससुरो साथी थियौँ । एक वर्षअघि पैसा डबल हुने स्किम मेरो हात परेको थियो । यो स्किम इम्फालको मेरो एकजना साथीले मलाई भनेको थियो । यस स्किमका लागि मलाई पाँच लाख चाहियो । सालभरिमै पाँच लाखलाई दश लाख बनाउने उद्देश्यले धेरैजनाबाट ऋण गरेर कम्पनीमा पैसा जमा गर्दिएँ । यही क्रममा लेलिनको सुसराबाट एक लाख लिएँ । पैसा जमा गरेको महिना दिनमै कम्पनीले चम्पट खोल्यो । जमिन बेचेको पैसाले पनि ऋण तिर्न पुगेन । लेलिनका सुसुराको निधन हुनाले उसको परिवारलाई खबर गरिनँ । अलिक पछि उसको परिवारलाई पैसा दिने सोचेको थिएँ,’ सनजाओबाले जवाफ फर्कायो ।

मैले केही बोलिनँ । अध्यक्षाले सबै पीडा थामिदिइन् । समाज मेरा लागि ढाल बनिदियो । सनजाओबाको कुरा पूरा भएपछि गाउँबुढाले भन्यो, ‘अब कुरा यहीँ सक्यो । लेलिनले अब उप्रान्त मनमायसँग पैसा नमागेर सनजाओबासँग माग्नेछ ।’

सनजाओबाले टाउको हल्लाउँदै ‘हुन्छ’ को संकेत दियो । लेलिनले केही बोलेनm गाउँबुढातिर निर्दयी नेत्रले हेरिरह्यो ।

मिटिङ सकिएपछि गाउँबुढासँग अध्यक्षा र म भएर भेट्यौँ । अध्यक्षाले भनिन्, ‘ओझा, यो लेलिनलाई चैँ अलिक टाइट गर्नुहोला । सारै दुःख दिँदै छ ।’

गाउँबुढाले भरिया गलेर बोलेझैँ भन्यो, ‘म केही भन्न सक्दिनँ । मेरो कुरा केही सुन्दैन । तिमीहरूलाई जे पनिसमेन्ट जहाँबाट मिल्छ, त्यहीँ गएर दिन लगाओ ।’

गाउँबुढाको निरुउत्साहित उत्तर उसको जातिगत मोह थियो या साँच्चिकै उसका लागि बोझ भएको थियो, त्यसबखत अड्कल काट्न सकिएन ।

केही दिनमा भित्री कुरा सुनियो । मिटिङको अघिल्लो दिन लेलिनले गाउँबुढालाई बेस्मारी मान्छे लगाएर कुटाएको थियो अरे ! लाइकोट गाउँको हुनेवाला गाउँबुढा मै हुँ भनेर लेलिनले कुरा फिँजाएको पनि सुनियो ।
०००
लेलिनले सुरु गरेको काण्ड यहाँ सकिएन । अन्डरग्राउन्डका शीर्षस्थ नेताले दुई बन्दुकधारीलाई हाम्रा मान्छे हुन् भनेर सार्वजनिक रूपमा स्वीकारेनन् । सार्वजनिक रूपमा नस्वीकारे पनि गुप्त रूपमा दुईजना बन्दुकधारी उनीहरूका मान्छे भएको पुष्टि गर्दै गाउँलेले पक्राएको कारणले आक्रोश पोख्न थाले । गाउँलेसँग छलफल गर्न गाउँको व्यवस्था र प्रशासनसँग आबद्ध भएर काम गर्ने गोर्खा युनाइट सोसाइटीका नेताहरूलाई अन्डरग्राउन्डका नेताहरूबाट कल आयो ।

पहिले सोसाइटीका कोषाध्यक्ष भरत चापाईं परे । भरत गाउँमा मानिएका व्यक्ति थिए । ३५ वसन्त पार गरेका युवा, अनुशासित, शान्त एवम् गम्भीर स्वभाव भएकाले सबैले विश्वास र सम्मान राख्दथे । गाउँकै भारती संस्कार विद्यालयमा अध्यापन गर्थे । अध्यापनका साथै भरत सामाजिक कार्यमा अत्यन्तै सक्रिय रहन्थे । गोर्खा युनाइट सोसाइटीबाहेक अखिल मणिपुर गोर्खा एसोसिएसन कोपाक इकाइ प्रमुख थिए । रामनाथको पसलमा लुटपाट गर्न आएका बन्दुकधारी पक्राउ पर्दा उनीहरूलाई कुट्नेहरूको भीडमा उनी पनि सामेल थिए ।

बन्दुकधारी पक्राउ परेको केही दिनमा भरतलाई कल आयो, ‘भरत, म थाङबोय बोल्छु ! तेरो गाउँलेले गर्दा मेरो दुइटा मान्छे फौजीले समातो । दुइटा पिस्तोल पनि लगो । तेरो गाउँलेले बिग मिस्टेक गरो । यसको कस्सिक्वेन्सेस डेन्जर हुन्छ अब । तँ पनि मेरो मान्छे कुटेको बेला थियो, फौजीलाई खबर गरिस् ! तेरो सोसाइटीसँग टक गरेर दुई लाख जल्दी दिनू । न’भा रिजल्ट ठिक हुँदैन ।’

भरतलाई उनको मुटुमा सोला हानेझैँ भयो । डराउँदै जवाफ फर्काए, ‘ओजा, म त स्कुल टिचर हुँ । म त्यो दिन त्यहाँ थिइनँ पनि । सोसाइटीका ठूला नेतालाई भन्नु । अनि, गाउँलाई थाहा पनि थिएन दुईजना ओझाका पार्टीका मान्छे रहेछन् । थाहा भएको’भा केटालाई गाउँलेले कुट्ने थिएन ।’

भरतले थाङबोयलाई धेरै बरेसम्म सम्झाउने प्रयास गरे । तर, ऊ कहाँ मान्थ्यो ! यसै पनि अन्डरग्राउन्डका मान्छे निर्दयी, कडा र भावनारहित हुन्छन् । हप्ता दिनमा दुई लाख पैसा दिने धम्की दिएर कल काट्यो ।

भरतले गाउँका ठुलाबडा र गोर्खा युनाइट सोसाइटीका सदस्यलाई थाङबोयले पैसा डिमान्ड गरेको जानकारी गराए । चाँडै मिटिङ राख्न भने । मिटिङ बस्यो ।

‘थाङबोयले यसै धम्काएको होला, केही प्रतिक्रिया नदिँदा आफैँ कल गर्न छोड्छ । समय बद्लिएको छ, यो समयमा पनि भित्रीका मान्छेले पैसा मागेजति दियो भने हामीलाई सधैँ हेप्छन् । सधैँ हामीमाथि अत्याचार गर्छन् । हामीले हिम्मतले काम लिनुपर्छ,’ मिटिङमा यही छलफल भयो ।

एक हप्ता बित्यो । थाङबोयले भनेअनुसार गाउँलेले पैसा बुझाएनन् । थाङबोय रिसले आगो भयो । अन्डरग्राउन्डले धम्काएको खण्डमा गाउँ नडराउँदा उनीहरूको इज्जतको हनन हुने कुरा पनि आयो । थाङबोयले सोसाइटीको महासचिवलाई कल गरेर समयमा पैसा नदिएको दण्ड दिँदै पाँच लाख रुपियाँ तीन दिनभित्र दिन धम्की दियो ।

योचोटि पनि गाउँले नडराउने नै अठोटमा रह्यो । सबैले एकजुट भएर परिस्थितिको सामना गर्ने साहस बटुले । यस्तो घटना पहिलोचोटि गाउँमा घटेको थिएन । अन्डरग्राउन्डले अपहरण गरेर पैसा डिमान्ड गरेका कैयौँ घटनाहरूले गाउँ त्रसित थियो । यसचोटि पछिल्लो समयजसरी निहुरिएर पैसा नदिऊँ भन्ने निर्णयले सबैलाई हिम्मत दियो ।

तीन दिनभित्र पाँच लाख पैसा नदिँदा योचोटि थाङबोयले अध्यक्षालाई कल गरेर दश लाख रुपियाँ हप्ता दिनमा दिन कडा धम्की दियो । पैसा समयमा नपुर्याएको खण्डमा निकै ठूलो काण्ड गर्ने थप धम्की पनि दिइराख्यो ।

गाउँमा फेरि मिटिङ भयो । पैसा नदिने, हिम्मत नहार्ने नै फैसला भयो । अन्डरग्राउन्डको धम्कीलाई विधायक, सांसद र मुख्यमन्त्रीसम्म पुर्याउने प्रस्ताव सर्वसम्मतिमा पास भयो । विधायकले अन्डरग्राउन्डको प्रमुखलाई कल गरेर डिमान्ड निरस्त गर्ने आश्वासन दिए ।

गाउँको टोली मुख्यमन्त्री कार्यालय गएर मुख्यमन्त्रीलाई भेटे । समस्या राखे । मुख्यमन्त्रीले त्वरित कारबाही गर्दै गाउँका लागि सुरक्षाको बन्दोबस्त गरिदिए । गाउँमा दिनरात चौबिस घण्टा कमान्डोले सुरक्षा दिन थाल्यो । गाउँ ढुक्क भएर आफ्नो दैनिकी काममा व्यस्त भयो । यो गाउँका लागि सफलता थियो । हिम्मतले लिएको फैसलामा सबै गौरवान्वित भएका थिए ।

सरकारले सधैँ यसरी सुरक्षा गर्ने कुरा आएन । गाउँमा शान्ति कायम देखेर सरकारले एक महिनापछि कमान्डोलाई गाउँबाट बोलायो । अन्डरग्राउन्डले कुरा बिर्सिएछ भनी गाउँलेहरू मस्त भए ।
०००
चाडबाडको समय थियो । सबै तिहारको तयारी गर्न लागेका थिए । भैली खेल्नेहरू तयारीका लागि दिनै अभ्यास गर्दै थिए । केटाकेटीले तिहारअगाडि नै पटाका पट्काउन थालिसकेका थिए ।

भाइटीका आउन पाँच दिन मात्र बाँकी थियो । भरत साँझपख साँस्कृतिक कार्यक्रमका लागि मिटिङ गर्न गाउँको सभाघर गएका थिए । मिटिङ सक्दा ६ बजिसकेको थियो । अँध्यारोले चारैतिर आफ्नो वर्चस्व कायम गरिसकेको भान लाग्थ्यो ।

यसै पनि अन्य राज्यहरूको तुलनामा पूर्वोत्तर राज्यमा घाम चाँडै अस्ताउँछ । मिटिङपछि भरत अध्यक्षासँगै निस्किए । राष्ट्रिय राजमार्गमा दुवै गफ गर्दै जाँदै थिए । बाटो चकमन्न थियो । सबै गाउँले आफ्नो घरभित्र थिए । छिनछिनमा पटाका पड्किरहेका थिए ।

मंसिरको बेला जाडोले आफ्नो गति बढाउन थालेको थियो । भरतले भित्रबाट टिसर्ट र बाहिर पातलो स्वेटर लगाएका थिए । दुवै हात खल्तीमा हालेर हिँड्दै थिए । अध्यक्षा भरतभन्दा उमेरमा केही वर्ष सानो हुनाले दुवै साथीसरह थिए । अध्यक्षा भरतका काँधमा हात राखेर अगाडि बढ्दै थिइन् ।

दुई सय पाइला चालेपछि पान पसल आयो । अध्यक्षाले जर्दा पान मुखमा ठुसिन्, भरतले सेन्टर फ्रेस । शिक्षक थिए, सात्विक रहने उनको स्वभाव थियो । पसलेलाई टाटा गरेर २० पाइला पार गरेपछि आ–आफ्नो घरतिर लाग्दै मात्र थिए, पूर्व दिशाबाट सियाज कार सुइँय्य आएर घचक्क रोक्यो । तीनजना केटा फुत्त उत्रिए । कार स्टार्टिङ मुडमा भइरह्यो ।

तीनजनामध्ये एकजनाले अध्यक्षालाई धम्काउँदै भन्यो, ‘ओय, गाडीमा जल्दी बस् !’

अध्यक्षाले डरलाई लुकाएर निडर भएर भनिन्, ‘तिमीहरू को हौ ? म किन जाने ?’

यति भन्दैमा अर्कोले अध्यक्षालाई तानेर कारमा हाल्ने यत्न गर्यो । तर, अध्यक्षाले प्रतिकार गरिन् । भरतले पनि अध्यक्षालाई सहयोग गर्दै उनीहरूमाथि खनिए । पाँचजनामा कुटाकुट हुन लाग्यो । भरतभन्दा अध्यक्षा अलिक शारीरिक रूपमा बलवान् थिइन् ।

पसलमा बसेकी महिला डरले गुहार लगाउन पनि सकिनन् । भरत र अध्यक्षा आफूलाई छुटाउन सक्दो बल लगाएर संघर्ष गर्दै थिए । यत्तिकैमा एउटाले भरतलाई पिस्तोलको बटले घुच्चुकमाथि ड्याम्म हान्यो । भरतका आँखा तिरिमिरिए । पृथ्वी गोलाकारमा घुम्न थाल्यो । यसरी पृथ्वी गोलगोल घुमेको भरतले सानोमा छँदा हाराहुरी खेल्दा देखेका थिए । उनको चेत बिलाउँदै गयो ।

अचेत भरतलाई गाडीमा बसेको चालक बाहिर आएर पछाडिपट्टिको सिटमा राख्यो । अध्यक्षा संघर्ष गर्दै थिइन् । भरतलाई अचेत बनाउनेले फेरि ब्ल्यांक फायर गर्यो । अध्यक्षा डरले तर्किइन् । तीनैजना गाडीभित्र पसे । गाडी पलमै हावाको साथी भइदियो । पिस्तोलको आवाज पटाकाको आवाजमा विलीन भयो । परिणास्वरूप पिस्तोलको आवाज कसैले बुझेनन् ।

गाडी गुडेको पन्ध्र मिनटमा भरतको चेत फर्कियो । बाहिर हेरे । अड्कल काट्दा उनलाई लाइकोटको बाटोतिर लगेको थाहा लाग्यो ।

‘मलाई कहाँ र किन लगेका ?,’ उनलाई के कारण र किन लगेका हुन् भन्ने बुझिसकेका थिए, तर पनि प्रश्न गरे ।

‘राम्रोमा पैसा माग्दा दे’न । तेरा गाउँलेले टेन लाख दिन्छ अब ।’

यही उत्तर आउँछ भन्ने अनुमान गरिसकेका थिए भरतले । टाउकोमा दाहिने हातले छामे, तातो रगत हातमा लाग्यो । स्वेटरमा पुछे अनि भने, ‘मलाई चैँ किन लगेका ? म टिचर हुँ । मलाई छोड्देऊ ।’

एउटाले मुष्टि उज्याउँदै धम्कायो, ‘धेर नबोल ! आई विल किल यु, बुझिस् !’

भरतले चुप लागेर बस्नुमै बुद्धिमत्ता ठाने । लाइकोट पुगिसकेपछि गाडी रोकियो । भरतलाई आँखामा कालो फेटा बाँधिदिए । सब अन्धकार । यसै पनि गाडीमा होस आएपछि उनले बुझिसकेका थिए– मेरो मृत्यु निश्चित छ ।

एउटाले हातमा समातेर डोहोर्यायो । अर्कोले टर्चलाइट बालेर बाटो देखाउन लाग्यो । उसका पछिपछि सबै हिँड्न थाले । करिब एक घण्टा हिँडेपछि भरतका आँखालाई आजाद गरिदिए ।

अँध्यारो थियो । चारैतिर रुखैरुख । डाँडाबीचको भीरमा पुगेको उनले अनुमान काटे । आकाशतिर हेरे, जुन झुल्किन मात्रै लागेको थियो । मान्छे चिन्ने गरी उज्यालो छाइसकेको थिएन ।

तीनजना बन्दुकधारी थपिएका रहेछन्, भरतले आँखाको पट्टी खोलेपछि थाहा पाए । डर लागे पनि उनले हिम्मतसाथ सोधे, ‘टिचर मान्छेलाई किन यसरी दुःख दिएका ? कहाँ लिएर जान लागेका ? मलाई छोड्देऊ ।’

यति के सोधेका थिए, एक बन्दुकधारीले पहिले मुखमा एक मुष्टि बलपूर्वक कस्यो । अनि, कम्मरमा राखेको पिस्तोल भरतको कनपट्टीमा ताकेर भन्यो, ‘बोल्छस्...!’ अनि, तीन–चार अभद्र गाली ओकल्यो ।

यत्तिकैमा अर्को बन्दुकधारीले पिस्तोल तल गर्दै कुकी भाषामा केही भुतभुतायो । दुवैजनाको बोलाइ र भावले भरतले अड्कल काटे– यसलाई मार्नु हुँदैन । डिमान्ड पूरा भयो भने फिर्ता गर्नुपर्छ । पैसा नदिँदा मात्र मार्ने हो ।

भरतको सातोपुत्लो सबै उड्यो । हातगोडा थरर्र कामे । अघिको मुष्टि प्रहारले नाकबाट रगत भललल बग्यो । खल्तीबाट रुमाल निकालेर पुछे । तर, रगत अडिएन । भरत थच्चक्क बसे । टाउको पछाडि गरेर रगत रोक्ने प्रयास गरे । केही बेरमा रगत रोकियो । उनले अब चुप बस्ने नै कसम खाए ।

हिँड्ने क्रम फेरि आरम्भ भयो । जंगलमा बाटो कहाँ थियो र ! झाडी पेलेर बाटो बनाउँदै निस्किए । झारले पासेको त ठिकै थियो, तर सिस्नामा हातखुट्टा लाग्दा रसाउन लागेका आँखाबाट पानी बरर्र झर्थे । कतै ठुटामा, ढुंगामा ठोक्किएर बुढीऔँलाबाट रगत निस्किन्थ्यो ।

भरतले चप्पल लगाएका थिए । उनले सम्झिए, मिटिङमा निस्किएको बेला श्रीमतीले जुत्ता लगाएर जान भनेकी थिइन् । तर, श्रीमतीको कुरा नसुनी चप्पल नै लगाएर गएका थिए । अहिले श्रीमतीको मायाको सम्झनाले मन झन् भक्कानियो ।

ती बन्दुकधारीलाई यस्तो बाटो हिँड्ने बानी परेको होला, कतै नबिसाई हिँडे । भरतको अभ्यास थिएन । गलेर लखतरान भए । तर, केही बोल्नु भएन । ज्यान जाने डर । उनले आफू मरेको दृश्य अगाडि देखिरहेका थिए । तर, मान्छेको मन हो, बाँच्ने आशा पालिरहन्छ ।

झन्डै ६ घण्टा हिडेँपछि कब्रु पहाड कटे । भरत १८ वर्ष पुग्दा कब्रु चढेका थिए । कब्रु भोलेबाबाको वासस्थान हो भन्ने हिन्दुहरूको मान्यता छ । सालको फेब्रुअरी–मार्चमा कब्रुबाबाको दशर्न गर्न भक्तजनको यहाँ मेला लाग्छ । यो ठाउँमा पाण्डव अज्ञातवासको बेला आएका थिए अरे भन्ने पनि मान्यता छ । भरतले यिनै भोलेबाबा र पाण्डवसँग आज पुनः सकुशल घर पुर्याइदिन प्रार्थना गरे ।

कब्रु पहाडपछि एक डाँडो काटेर बास बस्ने बन्दुकधारीले सल्लाह गरे ।

बास बस्ने कुनै घर थिएन । ओछ्यान घाँस भएको जमिन र छानो खुला आकाश थियो । छेउमा सानो कटेरो रहेछ । कुकीहरूले डाँडामा दाउरा काट्न या तुलफूल लगाउन आउँदा आराम गर्ने ठाउँ हुनुपर्छ । खुट्टा सुन्निएर उचाल्न पनि सकेनन् । नाकको रगत सुकेर कट्कटिएको थियो । खुट्टा पासेर रातै भएका थिए । हातलाई काँडा र सिरुले म्वाइँ खाएर राता धर्कैधर्का पारिदिएका थिए ।

सातजनामा एकजना बन्दुकधारी डिउटीमा बस्यो । बाँकी सुते, पानी खाएर । डिउटी गर्नेले भरतलाई पानी खान दियो, उनले ‘खान्नँ’ भनिदिए । ‘मार खान्छस् ?’ भनेपछि भरतले बोतल समाते । यसै पनि तिर्खाले घाटी सुकेको थियो । तीन घुट्की पानी खाएर उनले बोतल जिम्मा लगाइदिए ।

भरतलाई निद्रा पटक्कै लागेन । लागोस् पनि कसरी ? उनले अड्कल काटिसकेका थिए, बन्दुकधारीले मलाई मार्नेछन् भन्ने । कारण, उनको परिवार यति ठूलो रकम, दश लाख चाँडै दिने स्थितिमा थिएन । गाउँलेले दिने कुरा आएन । गाउँले यो परिस्थितिसँग लड्ने अठोट गरिसकेको थियो ।

‘समाजमा आइपरेको बेला हामीले हिम्मत राख्नुपर्छ, अबदेखि अन्डरग्राउन्डका मान्छेले जति माग्यो त्यति पैसा दिनु हुँदैन,’ भरतले नै मिटिङमा भनेका थिए । यी कुरा अहिले सम्झिँदै भाषण गर्नु र यथार्थ भोग्नुको अन्तर अनुभव गरे । अर्को मनले सोचे– समाज र जातिका लागि एकजनाले बलिदान गरेको सर्वदा ठिक हो । हुनसक्छ, एकजनाको बलिदानको परिणास्वरूप समाजले अगाडि गएर यसप्रकारका परिस्थितिसँग लड्ने ढाडस पाउँछ कि !

फेरि उनी आफैँ तर्क गर्न लागे– यसरी बलि हुने पहिलो म मात्रै कहाँ हो र ? बितेका ३० वर्षमा झन्डै १२–१५ गोर्खाली दाजुभाइ अपहरण भएका हुन्, जसमा ६ जनालाई अन्डाग्राउन्डले मारे पनि । पैसा दिन सक्नेहरू बाँचे । चार वर्षअगाडि नै छिमेकीले आठ लाख तिरेर छोरालाई बचाएका हुन् । तर, गाउँलेले सुइँको थाहा पाएन । पछि गएर एक कान दुई कान हुँदा मात्र थाहा लाग्यो । मेरो मरण निश्चित छ अब । खुइय काढेर निदाउने प्रयास गरे । तर, निद्रा देवीले आफ्नो काखमा सुताउन सकिनन् ।

भरतलाई मर्ने डरभन्दा परिवारको चिन्ताले सतायो । चार वर्षकी छोरी, काखको दुधे छोरा, श्रीमती, आमा, रोगले ग्रसित भएका बुढा बाबालाई हिजै अस्पतालमा लिएर गएका थिए । परिवारको पीरले आँखा सजल भए । मनमा गाँठो पर्यो । भरतले एकचोटि आकाशमा नियालेर हेरे, जूनको उज्यालो परसम्म थियो । आँखा चिम्म गरेर उनी परिवारको सम्झनामा मग्न भए ।
०००
भरत अपहरण भएको खबर अध्यक्षाबाट सुनेपछि गाउँमा हल्लाखल्ला हुन थाल्यो । अध्यक्षा र पाकाहरूले पुलिसलाई खबर दिए । गाउँका हट्टाकट्टा, चर्का स्वभाव भएका युवाहरू राजमार्गमा गुडुल्लिए । ‘हाम्रो मान्छे यसरी किड्नेप गर्न पाउँदैनन् अन्डरग्राउन्डले’ कराउँदै भीड आक्रोशित हुन लाग्यो ।

केही समयमा पुलिस आइपुग्यो । पुलिसले ‘चाँडै खोजेर ल्याउँछौँ, सबैजना घरमा जानू’ भन्यो, तर भीड कहाँ मान्नेवाला थियो र ? अपहरण गरेको मान्छेलाई पुलिसले घर ल्याइदिएको इतिहास थिएन । पुलिसको अनुरोधलाई लत्याउँदै रागमार्ग बन्द गर्ने युवाले अठोट गरे । क्रोध देखाए । अपहरण गरेकोमा उग्र प्रतिक्रिया देखाए ।

गाउँ गुडुल्लेको देखेर पुलिस जवान हतास भए । युवालाई मत्थर पार्ने भरसक प्रयास गरे । तर, असफलता हात लाग्यो । केही निमेक नलागेपछि उनीहरूले गाउँका पाकालाई भरतका लागि सर्च अप्रेसन सुरु गरेको जानकारी दिएर चाँडै फेला पार्ने पूर्ण आश्वासन दिँदै राजमार्ग बन्द नगर्न अनुरोध गरे ।

गाउँका पाकाले युवालाई सम्झाए, ‘हिंसात्मक धर्नाभन्दा शान्तिमय धर्ना गरौँ । राजमार्ग बन्द गरेर प्रशासन एवम् जनताको कार्यमा बाधा न बनौँ । पुलिसले भरतको खोजबिन सुरु गरेको छ, चाँडै भरतलाई हामीबीच ल्याउने कुरा भएको छ ।’ यसरी निकै बेर सम्झाएपछि युवा शान्त भए ।

यता, भरतको परिवार डर एवम् शोकले व्याकुल भयो । सबैको हालत पानीबाट निकाल्दा छट्पटाएको माछासरि भएको थियो । भरतकी श्रीमती रोएर मुर्छै परिन् । भरतको अपहरणले घरदेखि गाउँसम्म ठूलै हल्ला गरायो । यसरी अपहरण हुँदा गाउँ–समाज जागेको पहिलोचोटि थियो । नभए अपहरण गर्दा कसैलाई खबर नै हुँदैनथ्यो ।

भरत भारती संस्कार विद्यालयका शिक्षक, समाजसेवी एवम् अखिल मणिपुर गोर्खा एसोसिएसनका सदस्य हुनाले पनि मणिपुरभरि उनी अपहरण भएको खबर जंगलमा आगो लागेसरि फैलियो । भोलिपल्टबाटै भारती संस्कार विद्यालयका विद्यार्थीले राजमार्गछेउ धर्ना सुरु गरे ।

मणिपुरभरि अखिल मणिपुर गोर्खा एसोसिएनका प्रत्येक इकाइले धर्ना एवम् जुलुस निकालेर विरोध प्रदर्शन गरे । खबर विधायक, सांसददेखि लिएर मुख्यमन्त्रीसम्म पुग्यो । मुख्यमन्त्रीले भरतलाई चाँडै सकुशल घर ल्याउने आश्वासन दिए । भरत अपरहरण भएको समाचार राज्यको न्युज चैनल, न्युज–पोर्टलदेखि लिएर सामाजिक सञ्जालभरि फैलियो ।

अन्डरग्राउन्डको यो अप्रिय कार्यप्रति सबैले आक्रोश देखाए । निन्दा गरे । भरतको अपरहरणले गोर्खा समाजलाई एकजुट पार्न सफल भयो । तर, यहाँ कसैको ज्यान पनि सकुशल बचाउनु थियो । आक्रोशले मात्र होइन, नीतिगत लडाइँ लड्न पनि आवश्यक थियो ।
०००
सरकारको नजरबाट अन्डरग्राउन्ड कहाँ लुक्न सक्छ ? किनभने, अन्डरग्राउन्डलाई संरक्षण दिने त सरकारको शीर्ष पदमा बसेका हुन्छन् ! राजनीतिको मञ्चमा यस्ता अन्डरग्राउन्डको भूमिका निकै दह्रो भएको हुन्छ । सरकारले आफ्नो औपचारिकता पालना गरेर आश्वासन दिँदै थियो । भरत भने जंगलमा अन्तिम सास गन्दै बसेका थिए ।

भोलिपल्ट बिहानै बन्दुकधारीले भरतलाई अर्कै ठाउँ सारे । जनताको धर्नाले सरकारमाथि दिएको दबाबले अन्डरग्राउन्ड पनि दबाबमा आएको थियो । कतै फौजले हमला गरिहाल्यो भने भारी नोक्सान हुन्छ भन्ने डरले घण्टाघण्टामा ठाउँ फेर्ने बन्दुकाधारीले योजना बनाएका थिए ।

बिहानको दश बजेपछि अर्को डाँडामा गएर डेरा लगाए । सानो कटेरो थियो । दुई बन्दुकधारीले झोलाबाट पकाउने भाँडा र चामल निकाले । छेउछाउबाट दाउरा भेला पारे । कटेरोमा आगो सल्काए । भात पकाए । भरतलाई भोकको भन्दा घरको चिन्ताले सताइरहेको थियो । घरी आँखाबाट आँसु बग्थे, घरी छोराछोरीको यादले एकैतिर टोलाइरहन्थे ।

बन्दुकधारीले भात पकाइसकेर भरतलाई खान बोलायो । ‘म खाँदिनँ । म दाल–तरकारीबिना भात मात्र खान सक्दिनँ । मेरो घाटीमा केही महिनाअगाडि अप्रेसन भएकाले मलाई निल्न गाह्रो पर्छ,’ भरतले डराउँदै उत्तर दिए ।

भात पस्किने बन्दुकधारीले कर्कश आवाजमा भन्यो, ‘भात खा, न’भा मर्छस् भोकले ! तेरो गाउँकाले पैसा दिने कुरा गरेको छैन । पुलिसमा कम्प्लेन गरेको छ, मुख्यमन्त्रीलाई भनेको छ । यु विल डाय डेफिनेटली !’

बन्दुकधारीको कुराले भरतलाई थप विश्वास भयो– मेरो मृत्यु निश्चित छ । उनले सोचे– सरकारले पैसा दिने होइन । यिनीहरूले पैसा पाएनन् भने मलाई मारेरै आफ्नो रिस मार्छन् । हे दैव, मेरो परिवारको जिम्मा अब तिमीलाई छोडेँ !

आशा मान्छेको अन्तिम हतियार हो । यही आशाको भरमा भरतले सोधे, ‘यसरी किन मलाई किडनेप गरेर राखेको ? के पाउँछौँ तिमीहरूले ? मैले तिमीहरूको केही बिगारेको छैन । मेरा घरमा स–साना नानी छन् । बिरामी बाबा–आमा छन् । प्लिज छोड्देऊ मलाई ।’

भरतले यति के भनेका थिए, एउटा बन्दुकधारीले केराको पातमा खाँदै गरेको भात राखेर भरततिर झम्टिएर आयो अनि चल्नीमा बन्दुक राखेर भन्यो, ‘बोल्छस्, गोली खान्छस् ! तेरो मान्छेले हाम्रो दुइटा मान्छे फौजीमा लगो । दुइटा पिस्तोल लगो । मारदिन्छु नि गोली !’ बन्दुकधारी खितिती गर्दै हाँस्यो । ऊ हाँसेपछि अरू पनि गलल हाँसे निकै बेर ।

अर्को बन्दुकधारीले त्यसलाई पछाडि तान्दै मणिपुरी भाषामा भन्यो, ‘छोड् दे, बिचरा टिचर हो । मेरा दाजुका नानी यो पढाउने स्कुलमा पढ्छन् ।’ भरतले मनैमने सोचे– दुष्टका बीचमा एकजतना त शिष्ट मान्छे हुँदो रहेछ ।

सबैले जर्रो भातपानी पिउँदै खाए । भरतले पानी खाएरै भोक टारे । उनका खुट्टा घट्नुभन्दा आफ्नो आकार बढाइरहेका थिए ।

बन्दुकधारी फोनबाट कसैलाई कल गर्दैन थिए । पक्राउ पर्ने डर थियो । दिनमा दुई–तीनजना बन्दुकधारी फेरिइरहन्थे । कोही धर्नाको स्थिति र सरकारले के भन्दै छ, त्यसको खबर लिएर आउँथे ।

बेलुका खबर लिएर आउने बन्दुकधारीले जुस लिएर आएछ । भरतलाई दियो । उनले खाँदिनँ भन्ने अवस्था थिएन । यसै पनि भरत भोकले लखतरान भएका थिए । बेलुकासम्म तीन ठाउँ सरिसकेका थिए । उनले मेलैसित गन्दा दुई दिनमा आठ डाँडा कटिसकेका थिए । भरतले आज पनि जंगलको झारपातलाई नै ओछ्यान बनाएर सुते ।

सुत्नुअघि उनको घाँटीको समस्यालाई देखेर भान्से बन्दुकधारीले भातको माड निकालेर दिएको थियो । त्यही खाएर सुते । निद्रा भने पटक्कै आएन । बाघ–भालु आउँछ भन्ने बेग्लै पीर । वरिपरि हेर्दा कहालिने जंगल थियो ।
०००
तेस्रो दिन धर्ना–प्रदर्शनले झनै गति समात्यो । गोर्खाली समाजका टोलीका टोली भएर सरकारको दैलोमा गएर गुहार लगाए । सांसद र मुख्यमन्त्रीलाई कोट्ट्याइरहे । केन्द्रको गृहमन्त्रीसम्म कुरा पुर्याए । राज्य सरकारमाथि दबाब बन्यो । सामाजिक सञ्जालमा भरत अपहरण भएको खबरले बिराम लिने छाँट देखाएन ।

भरतले दुई रात जंगलमा बिताइसकेका थिए । उनको बाँच्ने आशा, परिवारसँग भेट्ने अभिलाषाको दियो जंगलको हावामा धिप धिप बल्दै थियो । तेस्रो दिन पनि चार ठाउँ सारे बन्दुकधारीले ।

भरतको शरीर ओइल्याएको पहेँलो सागझैँ हुन लागेको थियो । पेटमा अन्न नपसेको तीन दिन भएको थियो । जुस र भातको माडले चल्दै गरेको सास कहिलेसम्म चल्थ्यो होला र ! भरतले बन्दुकधारीसँग सवालजवाफ गर्न छोडिसकेका थिए । बन्दुकधारीले जति सोध्थ्यो त्यति नै जवाफ दिन्थे । उता, पुलिसले सर्च अप्रेसन चलाइरहेको थिए ।

अपहरण भएको तेस्रो रात पनि आयो । भरत माड पिएर घाँसमा पल्टिए । आँसुपान गर्दै बाबा, आमा, श्रीमती, छोराछोरी, भाइबहिनी, आफन्त, इष्टमित्रलाई सम्झिए । के थाहा, ज्यान रहेन भने सम्झना गर्न पनि पाइँदैन ! ऊसँग सम्झना गर्नुबाहेक अरू केही विकल्प थिएन ।

तीन दिनको अनिदो, भोको पेट । अब त रिँगटा लाग्लाजस्तो पनि हुन थालेको थियो । दिनमा १०–१५ किलोमिटरजति दिनै हिँडेकाले खुट्टाको अवस्था असारमा फालीले खुट्टामा चोटैचोट लागेको गोरुको जस्तो भएको थियो । सोच्दा–सोच्दै भरत रातको दुई बजेतिर भुसुक्क निदाए ।

तीन दिनको निद्राले उनलाई आकुल बनाएको थियो ।

बिहान सूर्यले आफ्नो उपस्थिति देखायो । कब्रु पहाड सूर्यको किरणले झलमल्ल चम्कियो । भरतको अनुहारमा किरणको पहिलो आभा परेपछि उनका आँखा खोलिए । आँखा मिच्दै चारैतिर हेरे । त्यहाँ एकजना बन्दुकधारी पनि थिएन । पहिले त अचम्म लाग्यो, अनि फेरि डर । राति पकाएको खानाको भाँडा त्यहीँ लडिरहेको थियो ।

सातजना बन्दुकधारी किन यसरी एकाएक भागे ? उनले अड्कल काट्न पनि सकेनन् । झट्टै दौडिएर भागौँ भने भरे बन्दुकधारीले कतैबाट बन्दुक पड्काएर ढलाउने हुन् कि ! शंका–आशंकामा निकै बेर वरिपरिको चाला बुझे ।

उनले कतै बन्दुकधारी देखेनन् । अनि, विस्तारै–विस्तारै पाइला चाल्न थाले । केही प्रतिक्रिया कतैबाट आएन । चार दिनको भोको शरीरमा जिउने आशाले अनायास ऊर्जा भरिदियो । विस्तारै पाइलाको चालमा गति दिए । केही प्रतिक्रिया आएन ।

पन्ध्र मिनट दौडिएपछि कमान्डोको जत्था उनले देखे । मन खुसीले अत्तालियो ! कमान्डोले उनलाई आफ्नो सुरक्षाकवचभित्र राखेर अन्डरग्राउन्डको पता (ठेगाना) सोधे । भरतले औँल्याउँदै रात बिताएको ठाउँ देखाइदिए । दुईजना कमान्डोले भरतलाई गाउँतिर लगे । अरू झन्डै पन्ध्रजना कमान्डो बन्दुकधारीलाई खोज्न उँभो लागे ।
०००
भरतलाई पुलिस थानामा लगेर जिम्मा लगाए । पुलिसले आफ्नो औपचारिक कार्य सकेर मेडिकलका लागि लग्यो । मेडिकल गरेर घर पुग्दा झमक्क रात परेको थियो । अपहरण भएको समय र अहिले घर पुगेको समय एकै थियो । परिवारमा खुसियाली छायो ।

गाउँलेहरू थुँगेफूलका माला लिएर स्वागतका लागि बसेका थिए । बन्दुकधारीका मुखबाट भरत फर्केर घर आउनु युद्ध जितेर आउनुसमान थियो । उनलाई एक वीर योद्धासमान गाउँसमाजले स्वागत गर्यो ।

केही घण्टापछि समाचारमा हेडलाइन आउन थाल्यो– अपहरण भएका भरत सुरक्षित घर आए । कमान्डोले सर्च अप्रेसन गरेर भरतलाई सुरक्षित फिर्ता ल्याउन सफल भयो । सर्च अप्रेसनमा दुईजना आतंकवादी पनि पक्राउ परे ।

भोलिपल्ट भाइटीकाको दिन थियो । गाउँमा धुमधामसँग भाइटीका उत्सव मनाइयो । भरतको परिवारमा आजको भाइटीका अझ विशेष थियो ।

बेलुकी खबर आयो– हिजो पक्राउ परेका दुई आतंककारीले बयान दिएपछि अपहरणको मास्टरमाइन्ड लेलिन पक्राउ परे ।

(चारहजारे, मणिपुर/हाल : दिल्ली)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro