site stats
बाह्रखरी :: Baahrakhari
खेल
पोखरामा जेठ १९ देखि ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम हुने

काठमाडौं । नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन संघले जेठ १९ गतेदेखि पोखरामा ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।

संघले पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गतेसम्म पुनर्मिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । संघले पुनर्मिलन कार्यक्रम आयोजना गर्न लागेको यो दोस्रो पटक हो । यसअघि पहिलो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ कार्यक्रम यसपटक पोखरामा आयोजना गर्ने निर्णय गरिएको संघले जनाएको छ । 

Himalayan Bank
Dabur nepal
Agni Group

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरू जेष्ठ १९ गते पोखरा पुग्नेछन् । जेठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुनेछ । जेठ २१ गते गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरूसँग ओलम्पियनहरूको अन्तरक्रिया कार्यक्रम हुनेछ ।

संघले सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरूलाई एकै थलोमा सहभागी गराएर विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ यो कार्यक्रम राखेको बताएको छ । 

Global bank

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रूपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु गरेको इतिहास छ । सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी)को सदस्यता प्राप्त गरेको थियो ।

झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले (ग्रिष्म ८८ जना र शितकालीनमा दुईजना) ओलम्पिकमा सहभागी भएको तथ्यांक छ । जसमध्ये दशजनाको भने निधन भइसकेको छ । हाल रहेकामध्ये पनि केही विदेशमा भएकाले संघले कार्यक्रममा ५० जना बढी ओलम्पियनहरूको सहभागिता रहने विश्वास लिएको छ ।

संघका अनुसार कार्यक्रममा विश्व ओलम्पियन महासंघका प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रमको स्थानीय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति पनि बनाइएको संघले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय