site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
के हो दीपकले भनेको नमुना घर निर्माण ? यस्तो छ अवधारणा 

काठमाडौं । कलाकार दीपकराज गिरी आफ्नो गाउँमा मौलिक शैलीका घर निर्माणमा जुटेका छन् । स्थानीय सरकारकोसमेत सहयोगमा उनले मौलिक शैलीका घर बनाउन लागेका हुन् । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा स्थानीयलाई कन्भिन्स गरेर मौलिक शैलीका घर निर्माण गर्न लागेको दीपकले बताए । मौलिक बस्ती निर्माण गरेर त्यसलाई बहुउपयोगी बनाउने मुख्य उद्देश्य रहेको उनी बताउँछन् । 

“पर्यटन र छायांकनस्थल पनि होस् भन्ने हो,” दीपक भन्छन्, “पुरानो शैलीका एकै प्रकारका घर भए भने त्यसले पर्यटकलाई पनि लोभ्याउँछ र सिनेमा छायांकनका लागि त्यो आकर्षणको केन्द्र हुन्छ ।” 

न्यूनतम पूर्वाधार निर्माणका लागि सरकारले सहयोग गर्ने उनले बताए । यसका लागि चन्द्रागिरि नगरपालिकाले पनि सहयोग गर्ने उनले बताए । सहरी विकास मन्त्रालयको सहयोगमा सडक निर्माणको काम भने पहिलादेखि नै भइरहेको छ । रामकुमारी झाँक्री मन्त्री हुँदा सहरी विकास मन्त्रालयको योजनामा सडक निर्माण कार्य भइरहेको उनको भनाइ छ । “सामान्यतः कोलोनीमा जे सुविधा चाहिन्छ, त्यो सरकारले सहयोग गर्छ,” उनले भने । 

कुनै एक व्यक्तिको जग्गामा घर बन्न लागेको होइन । आ–आफ्नो जग्गामा घर बन्न लागेको उनी बताउँछन् । “आ–आफ्नो जग्गामा मौलिक शैलीमा एकै प्रकृतिका घर बनाउने हो । घरभित्र आधुनिकता होला त्यसले केही फरक परेन । तर, बाहिर हेर्दा मौलिक घर बनाउने कुरा भएको छ,” दीपक भन्छन्, “यसले पर्यटन प्रवर्द्धन पनि हुन्छ । र, अरु ठाउँमा पनि यस्तै मौलिक शैलीका घर बनाउन प्रोत्साहन हुन्छ ।” 

इटालीको टुरिनको प्रभाव
करिब ११ वर्ष अगाडि कार्यक्रमको क्रममा दीपक स्विटजरल्यान्ड पुगेका थिए । “सबैले स्विटजरल्यान्ड यस्तो र त्यस्तो भन्थे । तर, मलाई त खासै केही लागेन । किन भने नेपाल जस्तैजस्तै लाग्यो,” दीपक भन्छन्, “तर, त्यही शिलशिलामा हामी इटालीको टुरिन पुग्यौँ । जहाँ एकै खालका घर छन्, हाम्रो भक्तपुर गएजस्तो भयो । सिमेन्ट छैन । हेर्दै आनन्द लाग्यो ।” 

त्यही समय दीपकलाई त्यस्तै आकर्षक तर मौलिक शैलीका घर बनाउने पाए हुन्थ्यो भन्ने लागेको थियो । नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको अवस्थामा यो योजना कार्यान्वयन गर्न सके सबैलाई फाइदा हुने उनको भनाइ छ । “काठमाडौं आउने पर्यटक सबैभन्दा पहिला भक्तपुर जान्छ किन ? त्यहाँको पौराणिक पक्ष हेर्न जाने त हो,” उनी भन्छन्, “तपाईं हामी यहीँको मान्छे पनि बन्दिपुर जाऔँ भन्छौं । त्यहाँको फरकपन हेर्न त जाने हो । त्यसैले हाम्रो मौलिकपक्षको सम्बर्द्धन गरौँ भन्ने हो ।” 

“आफ्नै ठाउँमा केही गरौँ न त भनेर मैले पहिला नगरपालिकालाई आग्रह गरेँ । हाम्रो गाउँमा हामी सबै एकै प्रकारको परम्परागत घर बनाउन सहमत भएका छौँ,” दीपक भन्छन्, “हाम्रो लक्ष्य ३० वटा एकै प्रकारका परम्परागत घर बनाउने हो । तर, व्यक्ति आफैँले बनाउने भएकाले सबै एकै समयमा सम्भव छैन । त्यसैले सुरुमा दशवटाजति बन्छन् । केही वर्षमा यो संख्या कम्तीमा ३० पुग्नेछ ।” 

यसका लागि प्रोत्साहन गर्न आफूले नगरपालिकालाई कम्तीमा वर्षको पाँचवटा घरलाई सहयोग गर्न आग्रह गरेको दीपक बताउँछन् । छाना मात्रै भए पनि नगरपालिकाले हाल्दिए त्यसले स्थानीयलाई प्रोत्साहन गर्ने उनको भनाइ छ । 

सहयोग गर्ने मन्त्रीको आश्वासन

d s1685081404.jpg

यही योजनाअन्तर्गत दीपकको भेट संस्कृति, पर्यटन तथा नागरिक उड्ययमन्त्री सुदन किरातीबीच भेट भएको छ । आफ्नो योजना अगाडि बढाउन मन्त्री किरातीले सहयोग गर्ने प्रतिबद्धता जनाएको दीपकले जानकारी दिए । “मेरो पनि योजना यस्तै केही नयाँ काम गरौँ भन्नेछ । तपाईंले जे सोच्नु भएको छ, मेरो पनि एउटा अवधारणा हो । यस्तो नमुना गाउँ म बनाउन चाहान्छु । काठमाडौंमा त यो करिब–करिब सम्भव थिएन । तर, तपाईंले योजना अगाडि सार्नु भएछ । म पनि जान्छु । के सहयोग गर्नुपर्छ र म गर्छु भन्नु भएको छ ।” 

सोही स्थानमा दीपक आउट डोर सिनेमा स्टुडियो बनाउने योजनामा पनि छन् । तर, अहिलेको प्राथमिकतामा एकै प्रकृतिका घर निर्माण रहेको उनी बताउँछन् । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro