
नेपालका हरि बुढामगरले शुकवार जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकाछन् । हरि सगरमाथा पुग्ने घुँडाभन्दा माथिको अङ्ग विच्छेदन भएका पहिला व्यक्ति हुन् ।
अरू प्रकारका अपाङ्गता हुनेहरूले त यसअघि सगरमाथाको सफल आरोहण गरिसकेका थिए । तर, सगरमाथाकै देशका भने हरि बुढामगर भने अपाङ्गता भएका पहिलो नेपाली सगरमाथा आरोही हुन् ।
रोल्पाको थवाङका हरि बुढामगर पूर्व गोर्खा सैनिक हुन् । उनले अफगान युद्धमा दुवै खुट्टा गुमाएका पनि हिम्मत गुमाएनन् । सगरमाथाको चुचुरोमा टेक्ने उनको अठोटलाई अपाङ्गताले रोक्न सकेन र अन्ततः सफल पनि भए ।
हरिले कृत्रिम खुट्टाका भरमा सगरमाथाको सफल आरोहण गरेर नेपालीको नाम त राखे नै अपाङ्गता भएका व्यक्तिको सामर्थ्यका सम्बन्धमा पनि विश्वलाई प्रेरणा दिएका छन् । नेपाल सरकार र नेपाली समाजले उनको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ ।
नेपालका लागि हरिको सगरमाथा आरोहणको भावनात्मक महत्त्व तेन्जिङ वा प्रथम नेपाली महिला आरोही पासाङ ल्हामु वा हिमचितुवाका नामले विख्यात आङ रिताको आरोहणजस्तै गर्वको विषय हो । हरिको सफलतामा नेपालको नाम सँगै आउँछ ।
युद्धका घाइते सैनिक हरिका लागि सायद सामान्य आर्थिक समस्या नहोला । तैपनि, राज्यले उनको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुपर्छ । कतै तेन्जिङलाई जसरी गुमाउनु् हुँदैन । नेपालको अपाङ्गता आन्दोलनका अभियन्ताहरूले यसको महत्त्व बुझ्नुपर्छ ।
सरकारले उचित सम्मान गर्दा हरिले आफू नेपाली भएकोमा गर्व गर्ने अवसर पाउनेछन् । त्यस्तै नेपाल । नेपालीका लागि पनि चौतर्फी निराशाका बीचमा देखिएको एउटा आशाको किरण पनि हो ।
हरिको सफलताको कथा विश्वभरका र विशेषगरी नेपालका अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रेरक प्रसङ्ग बन्नेछ । अपाङ्गता हुँदैमा सम्भावना र क्षमता समाप्त हुने होइन कम पनि हुँदैन भन्ने दृष्टान्त पनि उनको सफलताबाट दिन सकिन्छ ।
राज्य र नेपाली समाजले हरिको हिम्मत र कौशलको उच्च मूल्याङ्कन र सम्मान गर्न ढिलाइ र कन्जुसी गर्नु हुँदैन । सफल आरोहणका लागि हरि बूढामगरलाई हार्दिक बधाई तथा शुभकामना !