काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका पूर्वलडाकुलाई रकम दिँदा भ्रष्टाचार भयो भन्ने विषय आरोपका लागि आरोप मात्र भएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले शान्ति सम्झौता भएर ‘क्यान्टोनमेन्ट’मा तत्कालीन जनमुक्ति सेनालाई राख्ने निर्णयपश्चात् त्यसको भौतिक पूर्वाधार र रासनपानीका लागि पैसा दिइएको बताए । त्यसको हिसाबकिताबको सबै रेकर्ड रहेको उनले स्पष्ट पारे ।
यदि, यो विषयमा दोषी ठहरिए आफू जेल जान तयार रहेको पनि उनले बताए । “क्यान्टोनमेन्टको कुरा कपोकल्पित छ भन्ने कुरा दृढ विश्वास छ । कसैले दिएको उजुरीको आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार छु,” उनले भने ।
सांसद ज्ञानबहादुर शाहीले सवाल गरेपछि उनले टुंगो लागिसकेको विषयमा राजनीतिक पूर्वग्रह साँधेर प्रश्न उठाउने गरिएको जिकिर गरे ।
“त्यति बेला प्रम गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो, रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो,” उनले भने, “उहाँहरूले रुजु गरेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउँदा आश्चर्यमा पर्ने गरेको छु ।”