काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका विषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने बताए ।
त्यस्तै, बैठकमा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका लागि वातावरण बनाउने विषयमा छलफल भएको परियारले बताए ।
बैठकमा नीति अधिवेशन गर्नुभन्दा अघि भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको उनले बताए । बैठकमा कोसी प्रदेश सरकारका विषयमा पनि गम्भीर रुपमा छलफल गरेर केन्द्रको सरकारसँग तालमेल गर्ने भन्ने विषयमा छलफल भएको परियारले बताए ।