site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आरोहण सुरु भएको ७२ वर्षपछि अन्नपूर्ण हिमालको फोहोर संकलन 

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । 

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मंगलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहोर संकलन गरेका थिए ।
 
सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहोर संकलन गरेको थियो । 

एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहोर संकलन भएको टोलीले जनाएको छ । कुहिने फोहोर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।
 
नकुहिने फोहोर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहोर ट्रकमा राखेर दानाबाट काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहोर काठमाडौं लगिएको हो । 

आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहोर बढ्दै गएको थियो”, उनले भने, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।” रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro