देश संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ । नेपालीका लागि यो पद्धति पुरानो पाठ्यक्रम पढिरहेको विद्यार्थीलाई एक्कासि नयाँ पाठ्यक्रममा प्रवेश गर्दा आइपर्ने परिस्थितिजस्तै भएको छ । वास्तवमा ‘राष्ट्रपति’ पद गणतन्त्रको मूल खाँबो हो । राष्ट्रपतिको पदीय मर्यादासँग गाणतन्त्रको गरिमा जोडिएको हुन्छ ।
हामीले कठिन सङ्घर्षबाट ल्याएको गणतान्त्रिक शासन व्यवस्थालाई सफल, लोकप्रिय र जनभावना अनुकूल बनाउन राष्ट्रपति पदले खेल्ने भूमिका महत्त्वपूर्ण हुन्छ । अहिले गणतन्त्रपछि व्यक्तिका हिसावले तेस्रा र कार्यकालका दृष्टिमा चौथा राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
हालै राष्ट्रपति पौडेल स्वास्थोपचारको सिलसिलामा भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुन पुगे । नेपालमा यति धेरै विशेषज्ञ डाक्टर र प्रतिष्ठित अस्पताल हुँदाहुँदै उनले भारतमा गएर उपचार गराउँदा विगतकै विकृतिको पुनारावृत्ति भयो भन्ने तर्क दिएर एउटा कोणबाट आलोचना भएको छ ।
झट्ट सुन्दा यस तर्कसँग विमिति राख्नुपर्ने अवस्था पनि देखिँदैन । किनभने हाम्रा राजनीतिक नेताहरुले सामान्य रोग लाग्दा पनि विदेशका महँगा अस्पतालमा महिनौ बिताएका उदाहरण छन् । यसैले होला हामी सबै परिवेश र अवस्थालाई एउटै नजरले हेर्न अभ्यस्त भएका छौँ ।
परन्तु, राष्ट्रपति पौडेलको हालको उपचार विगतको विकृतिको पुनरावृत्ति होइन । अलि सूक्ष्म दृष्टिले हेर्दा पौडेलको उपचार आवश्यकता र बाध्यताको उपज देखिन्छ । उनका निकट व्यक्तिहरू र विषेशज्ञ डाक्टरहरूको कथनले पनि यसलाई पुष्टि गर्छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिनासाथ नेपालको विश्वसनीय सरकारी अस्पताल ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ’ मा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि निवासमा नै फर्किएर निजी चिकित्सकको निगरानीमा केही बसेको देखिन्छ । पुनः स्वास्थ्यमा गडबडी भएपछि शिक्षण अस्पतालमा नै भर्ना गरिएको रहेछ । चौध दिनसम्म शिक्षण अस्पतालमा उपचार गराउँदा पनि स्थिति थप जटिल हुँदैपछि त्यहाँका डाक्टरहरुको परामर्शमा थप उपचारका लागि दिल्ली लानु परेको रहेछ ।
दिल्लीमा पनि राष्ट्रपति पौडेल महँगो अस्पतालमा नगई सार्वजनिक अस्पतालमै भर्ना भएको देखिन्छ । उनलाई राखिएको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० भारतको सरकारी अस्पताल नै हो । सामान्य नेपालीले पनि गम्भीर रोग लाग्दा कम खर्चिलो मानेर उपचार गराउँंदै आएको अस्पताल हो । नेपालका कतिपय निजी अस्पतालभन्दा राष्ट्रपति पौडेलको उपचार गराइएको एम्सको खर्च निकै कम छ ।
यता राष्ट्रपतिलाई एम्स लगिनुसँगै उनको उपचार खर्चका बारेमा अतिरञ्जित हल्ला फैलाउनु भने सामान्य हल्लाखोरी नभएर नियोजित र प्रायोजित प्रचारवाजी भएको सन्देह गर्नु पर्ने देखियो । यसैबीच राज्यकोषको दुरुपयोग गरेर परिवारका सदस्यहरूसमेत भत्ता खानैका लागि दिल्ली पुगेको हल्ला पनि अतिरञ्जितरुपमा फैलाउन खोजियो । नेपालको कानुनले भ्रमणका लागि विदेश जाने र उपचारका लागि विदेश जाने अवस्थालाई फरकरूपमा स्पष्ट पारेको छ । भ्रमण भत्ता भन्नासाथ राजकीय र औपचारिक भ्रमणका बेलामा मात्र लागु हुने विषय हो । तर, यति जान्दाजान्दै सरासर असत्य प्रचार गराइयो ।
उपचारका लागि जाँदा कानुनले कुनै भत्ता वा सुविधा तोकेको छैन । अभिभावक बिरामी हुँदा हेरचाह र रेखदेखमा परिवारका सदस्य जानु अस्वाभाविक विषय पनि होइन । बरू, यस्तो संवेदनशील विषयलाई यसरी अतिरञ्जित गर्नु मानवीयताका दृष्टिमा कति उचित देखिन्छ विवेकशील नागरिकहरूले नै विचार गरौँ ।
वर्तमान राष्ट्रपतिको चयन हुनासाथ पौडेल त्यसअघि संलग्न राजनीतिक दल नेपाली कांग्रेसबाहेकका अन्य दलका नेताले समेत उनको निष्कलङ्क छविको प्रशंसा गरेका थिए । प्रायः सबैको आलोचना गर्ने राधाकृष्ण मैनालीले समेत कुनै आक्षेप र आर्थिक विचलनको दोषारोपणबाट मुक्त व्यक्ति भनेर राष्ट्रपति पौडेलको प्रशंसा गरेका थिए ।
रामचन्द्र पौडेल नेपालको राजनीतिमा कसैले टपक्क टिपेर स्थापना गरेका पात्र होइनन् । उनी आधाशताब्दीभन्दा लामो राजनीतिक यात्रामा लोकतन्त्रका पक्षमा अविचलित रहेको सबैलाई थाहा नै छ । यस्तै करिब तीन दशकभन्दा बढी समय राज्य सञ्चालनको विभिन्न भूमिकामा रहँदा पनि निष्कलङ्क रहेका थोरै पात्रमध्येका हुन् । लोकतन्त्र उनको मन, वचन र कर्ममा भिजेको छ ।
राष्ट्रपतिमा निर्वाचित हुनासाथ उनले सवारी शब्दको सट्टा ‘अवागमन’ शब्द प्रयोग गराए । राजधानी काठमाडोैंमा पहिलोपटक राष्ट्रपतिको आवागमनमा सडक जाम भएन्, एम्बुलेन्स रोकिएन । कसैका टाउकामा प्रहरीकोे लाठी बज्रिएन ।
राष्ट्रपति पदको मर्यादा बुझेका उच्च राजनीतिक संस्कार बोकेका राष्ट्रप्रमुखको उपचार स्वदेशमा जटिल भएपछि भारतको सरकारी अस्पतालमा लैजानुलाई कथित राष्ट्रवादका नामबाट विवादस्पद बनाइनु गणतान्त्रिक व्यवस्थाको साख गिराउने खेल हो । उनले चाहेका भए त्यसभन्दा धेरै महंगो पर्ने थाइल्यान्ड वा अमेरिका पनि जान सक्थे । भारतमै पनि धेरै खर्च लाग्ने महँगा अस्पताल छन् ।
राष्ट्रपति पौडेलको उपचार भने नेपालकै ‘त्रिवि शिक्षण अस्पताल’ को प्रतिरुप भन्न सकिने एम्समा गरियो । तै पनि किन यति ठूलो विवादास्पद बनाइयो रु यो विवादका प्रायोजकहरूको खोजी गरी तीनको सक्कली अनुहार जनसमक्ष ल्याउनु राष्ट्रको चौथो अंगको पनि दायित्व हो ।
नेपालको सरकारी अस्पतालमा तीन तीनपटक भर्ना भई दुई साताभन्दा बढी एन्टिवायोटिक चलाउँंदा पनि ठीक नभएपछि राष्ट्र प्रमुखलाई उपचार नगराई यहीँ राख्नु कति उचित हुन्थ्यो ? यसैले चिकित्सकहरुले नेपालमै उपचार गराउने जोखिम लिन नचाहेर भारत लैजान सुझाव दिएको हुनुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक समारोहमै दिएको जानकारीअनुसार चिकित्सकको सुझाव पनि सुरुमा त राष्ट्रपतिले मानेनछन् । उनी त यहीँं उपचार गराउन चाहन्थे रे !
तैपनि, पौडेलको उपचारमा यस तहको दुष्प्रचार किन र ककसबाट भइरहेछ भन्ने पनि बुझ्नु जरुरी छ । विगतमा राष्ट्रपति भएकाहरूसमेतका कारण लोकतान्त्रिक गणतन्त्रप्रति जनता निस्पृह हुनथालेकोमा रमाएका गणतन्त्रविरोधीहरू रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनासाथ निराश भएका थिए ।
पौडेलले उमेदवारी दर्ता गर्दा नै आफूले राष्ट्रपति पदलाई सरल र नागरिकमैत्री बनाउने तथा राजतन्त्र र गणतन्त्रको फरक देखाउने बाचा गरेका थिए । निर्वाचित भएलगत्तैका उनका कदमले त्यसको पुष्टि पनि गरेको छ । यसबाट गणतन्त्रविरोधीहरु त कुण्ठित भएका थिए नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजसी शैली आलोचित भएकै बेला राष्ट्रपति पौडेलको सादगीले जनताले रुचाएको देखेर नेकपा (एमाले)का नेता, कार्यकर्ता पनि बढी नै छटपटाए ।
अहिलेको राष्ट्रपति पौडेलको उपचारका सम्बन्धमा गरिएको दुष्प्रचार र फैलाइएको अनर्गल हल्ला यिनै हीनभावनाले कुण्ठित मानसिकताको उपज हो भन्दा अत्युक्ति हुँदैन । निमोनियासँग संङघर्ष गरिरहेका राष्ट्रप्रमुखमाथि गरिएको दुराशयपूर्ण पूर्वाग्रही प्रहार जति अमानवीय छ त्यति नै अनपेक्षित पनि हो ।