site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
खुँखार पाराको मन्दी छ, यार !

अचेल नेपाली अर्थ बजारसित जोडिएका जोसुकैसँग कुरा गर्नोस् एउटै भनाइ सुनिन्छ – खुँखार पाराको मन्दी छ, यार ! बजारमा कुनै चिजको माग छैन । पसलहरू सुनसान छन् । उद्योगहरू आफ्ना उत्पादन आधीमा झार्न बाध्य भएका छन् । आयातकर्ताले समेत बाहिरबाट माल झिकाउने काम घटाउँदै लगेका छन् । थोक विक्रेता भन्छन् – गोदाममा माल थन्किएका छन्, पुरानो उधारो उठ्न सकेको छैन, नयाँ अर्डरको अत्तोपत्तो छैन । भौतिक निर्माणका काम जताततै अलपत्र अवस्थामा छन् । भाउ घटाएर बेच्न खोज्दा पनि जग्गाजमिन बिक्दैन । सेयरबजारको हाल त झनै खत्तम छ । रूपैयाँको धन हेर्दाहेर्दै पच्चीस पैसामा झर्यो । अझ अचम्म त चिकित्सकहरू समेत भन्छन् – अचेल रोगीहरू पनि थोरै आउँछन् । 

अब कोट्याई हालौँ एउटम पृथक प्रसङ्ग । केही दिनअगाडि एक जना खुवै नाम चलेका राजनीतिक नेताले सार्वजनिकरुपमा एउटा प्रश्न तेर्स्याएका थिए – अमेरिकी डलर र नेपाली रूपैयाँ दुवै एउटै प्रकृतिका कागजबाट बनेका हुन्छन्, सम्भवतः उस्तैउस्तै छापाखानामा छापिएका हुन्छन् ।

 

KFC Island Ad
NIC Asia

तथापि अमेरिकी डलर नेपाली रूपैयाँभन्दा सयौं गुणा महङ्गो किन ? कुनै पनि देशको मुद्राको भाउ उसको छपाइ लागतको कारणले होइन त्यस देशको आर्थिक हैसियतको हिसाबले कायम भएको हुन्छ भन्ने ती राजनितिकर्मीलाई थाहा नहुने कुरै भएन । साधारणभन्दा साधारण मान्छेले बुझेको कुरा हो । उनले सांकेतिकरूपमा भए पनि नेपाली रूपैयाँको हैसियत अमेरिकी डलरको बराबरमा ल्याउने नै कुरो गरेका होलान् । अब प्रश्न उठ्छ – त्यति सजिलो छ र ?

माथिका दुवै प्रसङ्ग एकअर्कासित जोडिएका छन् । अब चर्चा गर्न मन लागेको छ – नेपाली अर्थबजारको रौनक किन हराएको होला ? कुनै पनि अर्थबजारमा रौनक हुने हो ढेउवा अर्थात् रूपैयाँबाट । खाली पेट होवे न भजन गोपाला । जोसित कुरो गर्यो गोजी रित्तो छ भन्छन् ।

Royal Enfield Island Ad

एक जना सफल मानिएका व्यवसायी भन्दै थिए – आफ्नो कारोबारको तालमेल मिलाउन बैंकसित अलिकति कर्जा मागेको थिएँ कर्जा दिनु त कता हो कता डिपोजिटमा हाल्न उल्टो मैसित पैसो माग्न थाल्यो, यार । अर्थात् हिजोअस्तिसम्म सत्यनारायण भगवानको प्रसादझैं कर्जा बाँड्दै हिँडेका बैंकहरू अचेल डिपोजिट माग्दै हिँडेका छन् ।  

जानिफकारहरू भन्छन् – हाम्रा रूपैयाँ निकै ठूलो मात्रामा नेपालको औपचारिक अर्थबजारबाट बेपत्ता भएका छन् रे ।” कोही भन्छ – अवैधरूपमा अर्जेकाहरूले सरकारी ‘रडार’बाट जोगिन बाक्लो मात्रामा घरमै लुकाएर राखेका छन् रे ।” कोही भन्छन् – सहकारीहरूले चलाए रे । कोही भन्छ – नेपाली रूपैयाँ विदेशिएका छन् रे । कोही भन्छ– सबै पैसा मिटर ब्याजीहरूले चलाउँदैछन् । कोही भन्छ– नेपाल सरकारले नै आफ्नो ढुकुटीमा थन्क्याएर राखेको छ । विकासे परियोजनाहरूको लागि चाहिने रकम बेलैमा निकासा नगरिदिँदा नेपाली रूपैयाँको हाहाकार भएको हो रे । जति मुख त्यति कुरा । अनि  खासमा कुरो के हो त ?

रूस–युक्रेन युद्ध र अन्य विभिन्न वाह्य कारणले समेत नेपालीको आर्थिक बजारमा ठूलै हलचल आएको सबैलाई थाहै भएको हो ।

एकातिर निर्यातकर्ताले मालसमानको भाउमा वृद्धि गरे भने अर्कोतिर अमेरिकी डलरको भाउसमेत अकासिँदै गयो । आयातित सामग्रीहरू नेपाली बजारमा झनै महङ्गा हुने नै भए । पुरानै सामग्री यथावत मात्रामा नै आयात गर्दा पनि बढी मात्रामा नेपाली रूपैयाँ खर्चिनुपर्ने बाध्यता भयो । यसको लागि नेपाल राष्ट्र बैंकले चाहेको भए मागअनुसार थप नेपाली रूपैयाँ बजारमा छोड्न सक्थ्यो तर त्यसो गर्दा मुद्रास्फीति ह्वात्तै बढ्ने खतरा थियो । 

प्रत्येक देशको रिजर्व बैंकले जनताको औसत आम्दानी र मुद्रास्फीतिबीच सन्तुलन मिलाइराख्नु पर्ने हुन्छ । नेपालजस्तो आयात निर्भर देशले त परिवत्र्य विदेशी मुद्राको उपयोग पनि तत्कालीन उपलब्धताको आधारमा गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको जगेडाबाट विदेशी मुद्राको उपलब्धता जोखिमपूर्ण तरिकाले घट्दै गएको थियो ।

त्यही भएर होला नेपाल राष्ट्र बैंकले बढ्दो मागअनुसार अतिरिक्त नेपाली रूपैयाँ बजारमा छोड्ने आँट गरेन । बरू समग्र आयात प्रक्रियालाई संकुचित गर्न खोज्यो । त्यसका राम्रा नराम्रा पक्ष होलान् । त्यतातिर म अहिले जान चाहिन । यसैबीच जग्गाजमिन अथवा सेकेन्डरी मार्केटको सेयरजस्ता अनुत्पादक भनिएका क्षेत्रमा बाणिज्य बैंकहरूको बढ्दो लगानी हेरेर राष्ट्र बैंक झनै झस्किँदै गएको थियो ।  

त्यस्ता अभ्यासलाई भङ्ग गर्न राष्ट्र बैंकले एकपछि आर्का कडा निर्णयहरू ठोक्दै लग्यो । परिणामस्वरूप त्यस्ता क्षेत्रमा चलयमान रहेको कारोबारीय चक्रमा संकटकालीन ब्रेक लाग्यो । सो कारोबारमा अभ्यस्त व्यवसायी त्राहीमाम त्राहीमाम गर्न थाले । राष्ट्र बैंकको कारबाही अभियान त्यत्तिमा रोकिएन । व्यवसायीहरूले पनि चाहिएकोभन्दा कर्जाको भार बोकेर कर्जाको दुरूपयोग गरे भन्दै चालु पुँजी कर्जा मार्गचित्रण, २०७९ मार्फत नितान्त अप्रत्याशित नियम लागु गर्यो । कर्जा लिएका व्यावसायिक प्रतिष्ठानहरू सरोकारवाला वाणिज्य बैंकहरूलाई नयाँ नियमबमोजिम सकी नसकी फिर्ता भुक्तानी गर्न बाध्य भए । तर, फिर्ता गर्न पनि त्यति सजिलो कहाँ थियो र ! 

बुढापाकाहरू भन्छन् – राम्रा दिन एक्लैएक्लै आउँछन्, नराम्रा चाँहि हुलै बाँधेर । नेपालको मामिलामा त्यही चरितार्थ भयो । माग र आपूर्तिको तानातानबीच वाणिज्य बैंकहरूले आफ्नो ब्याजदर एकातिर बढाउँदै लगेका थिए भने अर्कोतिर विश्वव्यापी मन्दीले पनि नेपालमा गोडा फैलाउन सुरू गरिसकेको थियो ।

प्रतिष्ठानहरूका पैसा कि मालसमानमा कि बजारमा उधारोमा, कि भौतिक संरचनामा अल्झिएका थिए । यस्तो अवस्थामा बैंकहरूलाई कर्जा भुक्तानी गर्ने कुरो त परै जाओस् व्यावसायिक प्रतिष्ठानहरूको अस्तित्व जोगाउनु नै चुनौतीपूर्ण हुँदै गयो ।

विपद् त्यत्तिकैमा थामिएन । उपर्युक्त विविध कारणले नेपाल सरकारको प्रत्यक्ष र अप्रत्यक्ष करमा पनि ठूलो क्षति भयो ।

नेपाल सरकारले अत्तालिएर अस्वाभाविक रूपमा बल प्रयोग गरेर भए पनि बढीभन्दा बढी राजस्व असुलउपर गर्ने निति अख्तियार गर्यो । त्यसको प्रभाव भने वैध व्यवसायमा अत्यधिक र चोरी पैठारीमा न्यून पर्यो ।

परिणामस्वरूप वैध व्यवसाय गर्नेहरूको प्रतिस्पर्धात्मक क्षमता झनै घट्यो भने चोरी पैठारी ह्वात्तै बढेर आयो । त्यस्तै अवैध कारोबारमा लागेको पैसा बैंकिङ परिधिभित्र पर्ने कुरा पनि भएन । भन्सार छलीबाट आउने मालसमानबाट कुनै पनि खाले राजस्व असुलउपर हुने झनै कुरै भएन । नेपाल सरकारको राजस्वमा झनै ह्रास आयो । त्यसको दुष्प्रभाव नेपाल सरकारको चालु अथवा पुँजीगत खर्चमा नपर्ने पनि कुरै भएन । 

अब प्रसङ्ग नम्बर २ तिर लागौं । नेपाली रूपैयाँको हैसियत अमेरिकी डलरको हाराहारीमा पुग्न सक्छ कि सक्दैन ? पुग्न सक्छ । लाख खुडकिलाहरू पार गर्नु पर्ला तर बाटो स्पष्ट छ ।

तत्कालको अवस्थामा नेपाल राष्ट्र बैंकको ढुकुटीमा विदेशी मुद्राको सञ्चिती १४ खर्ब रूपैयाँ बराबरको छ भनेर भनिन्छ । कल्पना गरौं – नेपालको निर्यात सय गुणाले बढेर गयो, पर्यटकहरूको आगमन पनि गुणात्मक रूपमा ह्वात्तै बढेर आयो र रेमिट्यान्समार्फत आउने विदेशी मुद्राको मात्रा पनि दस गुणाले बढ्यो । यति भइदियो भने नेपाल राष्ट्र बैंकसित विदेशी मुद्रा राख्ने ठाउँ हुनेछैन । र, अमेरिकी डलरमात्र होइन सम्पूर्ण विदेशी मुद्राको भाउ स्वतस्फूर्त रूपमा तल झर्नेछ । 

हामीले सपना त देख्नै पर्छ । सपना नै देखिएन भने विपनामा तान्ने जाँगर कसरी चल्छ ? तर कुरो उठ्छ, तत्कालको विषम परिस्थितिबीच सपना कुन उचाइसम्मको देख्र्ने धृष्टता गर्न सकिन्छ ? साबिकको अवस्थामा हाम्रो आयातको मात्रा निर्यातको तुलनामा मोटामोटी आठ गुणा बढी छ । अन्यथा अर्थ नलाग्ने हो भने हामी असलमा श्रम निर्यात गरेर जेनतेन आफ्नो व्यापार सन्तुलन मिलाइराखेका छौँ ।

हो, अलिअलि विदेशी पर्यटकमार्फत नेपालको सौन्दर्य बेचेर अथवा थोरबहुत बिजुली निर्यात गरेर पनि स्वयंलाई स्याबासी दिइराखेका छौँ । तर यत्तिकै प्रयासले हाम्रो नेपाली रूपैयाँको हैसियत भुटानी मुद्रा ‘न्गुल्टम’ अथवा बाङ्गलादेशी मुद्रा टाकाको हैसियतमा पुग्न सय वर्ष थोरै हुनेछ भने अमेरिकी डलरको कुरो नगरेकै बेस ।

जेहोस्, समग्रमा नेपाली रूपैयाँ कहीँ कतै हराएको छैन । कसैले कोठामा लुकाएर राखेको छ भने पनि राष्ट्रकै अर्थचक्रलाई हल्लाउन सक्ने मात्रामा त पक्का पनि होइन । बरू, विशुद्ध गाउँले पारामा भन्ने हो भने नेपाली रूपैयाँ भयानक खाले ट्राफिक जाममा फसेको छ नौबिसे–नागढुङ्गाको ट्राफिक जामभन्दा पनि भयानक जाममा । केही रूपैयाँ नेपाल राष्ट्र बैंकको जगेडा कोषमा छ, केही रूपैयाँ विदेशी मुद्रा बेच्न आउनेहरूको पर्खाइमा नेपाल राष्ट्र बैंकमै थन्किएको छ । 

केही नेपाल सरकारको विकासे परियोजनाको लागि छुट्ट्याइएका कोषमा छन्, केही रूपैया नेपाल राष्ट्र बैंकले तोकेको सीडी रेसियोको नियमानुसार वाणिज्य बैंकहरूको सुरक्षण कोषमा राखिएका छन् ।

अन्य पनि थुप्रै स्थानमा नेपाली रूपैयाँ सानाठूला पकेट भएर अड्किएका होलान् । तर, यी यावत ठाँउबाहेक पनि नेपाली रूपैयाँको सबैभन्दा ठूलो भाग नेपालको अनौपचारिक अर्थतन्त्रमा घुम्दै छ । अनौपचारिक अर्थतन्त्रमा अल्झिएको रूपैयाँबाट कुनै राम्रो परिणामको आशा गर्न सकिन्न भन्ने त सबैले थाहा पाएकै छन् ।

अब कुरो उठ्छ के गर्दा अर्थबजारको रौनक फर्किन सक्छ वा के गर्दा अर्थबजारको यो जाम खुल्न सक्छ ? के गर्दा अनौपचारिक अर्थतन्त्रमा घुम्दै गरेको नेपाली रूपैयालाई औपचारिक अर्थतन्त्रमा फर्काउन सकिन्छ ? के गर्दा नेपाललाई आयातनिर्भर देशबाट निर्यातप्रमुख देशमा रूपान्तरित गर्न सकिन्छ ? कुनकुन जुक्ति लगाउँदा नेपाली रूपैयाँको हैसियत अन्य देशहरूको तुलनामा माथि लैजान सकिन्छ ? यसमा नेपाल सरकारको के भूमिका हुन सक्छ ? निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्ने हो । एउटै आलेखमा यी तमाम कुराहरूबारे लेखेर साध्य छ र ? गरौँला नि पछिपछिका आलेखहरुमा । आजलाई यत्ति नै ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro