
झापा । झापामा हावाहुरीसहितको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
शुक्रबार राति हावाहुरीसहितको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।
“हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ,” उनले भने, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौँ ।”
झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उनले बताए । कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा समेत वर्षासहितको असिनाले क्षति पुर्याएको छ ।
असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ ।
झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकै खेती लगाइएको छ । मकै बालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताए ।
यता, जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छाना उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस