
पूर्वी क्षितिजमा आकाश उघ्रिएर घामको किरण बाहिर निस्कन जोड गरिरहेको थियो । उता हलबाट अनिदा आँखा बोकेर एक हुल मानिस बाहिरिँदै थिए भने एक हुल मानिस हतारहतार पालैपिलो भित्रिँदै थिए ।
त्यही हुलमा थिएँ म पनि । अरूजस्तै म पनि हतारमा थिएँ । एक मिनेटको ढिलाइले पनि एक घण्टाबराबरको पैसा काटिने भयले नै हतारिएको थिएँ । मेरो मन र चेतना घडीको सुईजस्तै घडीभित्रै घुमिरहेको थियो ।
कार्यालयभित्रै सेतो छडी बोकेको सहकर्मी (?) सँग ठोक्किएँ । ऊ पनि मजस्तै कामको खातिरदारी गर्न लट्ठीको भरले भित्रिँदै थियो । मलाई याद भएन, ऊसँग ठोक्किएँ ।
उसको हातबाट सेतो छडी भुईंमा बजारियो । यो आवाजले वरपरका कर्मचारीहरूले पनि मतिर हेरे । म लाजले कालोनिलो भएँ । मैले हत्त न पत्त त्यो लौरी टिपेँ र उसको हातमा थमाएर भनेँ, ‘सरी, आई डिड ए ग्रेट मिस्टेक । आइएम सो सरी ।’
उसले अनुहार मतिर फर्कायो र विनयी भावले भन्यो, ‘द्याट्स ओके । डोन्ट वरी, थ्यांक यु ।’

म पुनः उसको पाखुरामा हात थपथपाएर कामतिर दौडिएँ ।
काममा पुगेपछि पनि त्यो घटना सम्झिरहेँ । त्यो घटनाले मलाई पोलिरह्यो । मनमनै सोचिरहेँ– वास्तवमा ऊ दृष्टिविहीन थियो कि म ? उसको त दृष्टि थिएन र मलाई देख्ने कुरा पनि भएन । म आएको कुरा उसले कसरी ठम्याओस् र बाटो छोडोस् त !
म दोषी हुँ । त्यति ठूलो स्थूल वस्तुलाई पनि देख्न सकिनँ । यो द्रष्टा आँखासामुन्नेको दृश्य देख्दैन भने म अन्धो हुँ । एउटा उभिरहेको स्थिर मानिससँग ठोक्किनु मेरो गल्ती हो, म नै दृष्टिविहीन हुँ । म हुस्सु पथिक हुँ । मेरा पुर्खाहरूले आँगनको डिलबाट आकाशतिर हेरेर तारा, नक्षत्रका गति पत्ता लगाउँथे । तर, मैले आँखैअगाडि पनि देखिनँ ।
के मेरो शरीरमा त्यो जिन छैन, त्यो चेतना छैन, अंश छैन ? के भन्यो होला उसको चेतन मनले ? मैले यी र यस्ता प्रश्नहरू केलाइरहेँ । नहुनुपर्ने कुरा भइसकेपछि अब यसको पश्चात्ताप गर्नु र माफी माग्नुबाहेक अरू विकल्प पनि त थिएन ।
माफी माग्नु एउटा कुरा हो, दिनेले नदिन नि सक्छ । तर, उसले त दिइसकेको छ । उसले भनेको वाक्य फेरि सम्झेँ, ‘द्याट्स ओके ।’ यो उसले दिएको माफी नै हो भन्ने लाग्यो । अनि, फेरि सम्झेँ– यो दुनियामा म मात्रै त पक्कै होइन होला नि ऊसँग ठोक्किएको ।
मजस्ता आँखा भएर पनि नदेख्नेहरू, मजस्ता हतारमा हिँड्नेहरू, हतारलाई नै जीवन ठान्नेहरूको सामना उसले यो अमेरिकामा कैयौँपटक गरिसकेको होला र त मलाई सहजै माफी दिएको । ऊभित्रको ‘ऊ’ले मलाई सायद गिज्याइरहेको पनि हुनसक्छ र अट्टहास हाँसो हाँसेको पनि हुनसक्छ, आँखा हुनेहरूको चर्तिकला देखेर ।
काममा मन लागेन । उसको सेतो छडी, घुम्रिएको कपाल, कालो अनुहार, उसको पहिरन एकपछि अर्को गर्दै मेरो मानसपटलमा घुम्न थाल्यो । पुनः रोकिएँ । के गरौँ र कसो गरौँको भाव मनमा खेलिरहेको थियो ।
एकपटक ऊ भए ठाउँमा जाऊँ कि के हो ? हैन, जान्नँ । एकपटक माफी पाइसकेँ, फेरि गएर के गर्नु ? फेरि भेट्न पनि कहाँ जाने ? त्यत्रो विशाल अफिसमा कहाँ काम गरिरहेको होला ।
जान्नँ । मैले मागेअनुसार उसले माफी पनि त दिइसकेको छ भने फेरि किन जाने ? हैन, गएर एकपटक फेरि भेट्छु । मन हल्का त हुन्छ । मनमा नानाभाँतीका कुरा खेलाएर बस्नुभन्दा जानु नै उचित लाग्यो र कामलाई केही बेर थाँती राखेर हिँडे ऊतिर ।
हिजोअस्तिभन्दा अलिक भिन्न मेरो मुड देखेरै त होला, मसँगै काम गर्ने सहकर्मी जोन्सनले सोध्यो, ‘कता जान ला ?’
मैले वास्तविकतालाई अलिक लुकाएर जवाफ दिएको थिएँ, ‘एभ्रिथिङ ओके ।’
‘नो । यु लुकिङ डिफिरेन्ट टुडे ।’
मैले फोन हातमा खेलाइरहेको थिएँ, भुईंमा फ्यात्त खस्यो । हत्तपत्त टिपेँ र गोजीमा राखेँ ।
‘आई नो समथिङ इज रङ विथ यु ।’
उसले पूर्ण भरोसाका साथ भनेपछि मैले उसलाई केही बेरअघिको त्यो घटनाका बारेमा भन्ने नै निर्णय गरेँ र भनेँ, ‘हेर न, बिहान एकजना दृष्टिविहीनसँग ठोक्किएँ । उसको हातबाट सेतो लौरी’नि खस्यो । उसको शरीरसँग मेरो शरीर पनि ठोक्कियो । तर, खास केही भएन । मैले ऊसँग माफी पनि मागेँ र उसले ‘द्याट्स ओके’ भनेर भन्यो ।’
अवाक् भएर सुनिरहेको जोन्सनले केही बेर सोच्यो र भन्यो, ‘...ए माफी मागिसकेपछि त सकियो नि ! एउटा कुरा अझै भन्छु, अमेरिकामा सानो होस् वा ठूलो गल्ती, माफी मागिहाल्नुपर्छ । माफी र क्षमादानले अमेरिका चलिरहेको छ । कुनै गल्ती गर्दा ‘सरी’ भन्नु यहाँको आमप्रचलन हो । र, दिनेले पनि ‘द्याट्स ओके’ भन्नैपर्छ । यो अमेरिकनको चरित्र हो । यसलाई सधैँ जीवनमा लागु गर्नु । तिमीले जानेर वा नजानेर गरेका गल्ती यी दुई शब्दले चोख्याउँछ र तिमीलाई पवित्र बनाउँछ ।’
‘थ्यांक यु जोन्सन । म उसलाई भेट्न जान ला, तिम्रो के विचार छ ?’
‘पर्दैन । एकपटक भनेपछि सकियो । फेरि दृष्टिविहीनहरूले प्रायशः यस्तो परिस्थितिको सामना गरिरहेका हुन्छन् । जे भयो, त्यसलाई सामान्य घटना सम्झिएर बस ।’
जोन्सनको सल्लाहले मन अलिक हल्का भयो । तर, मलाई पूरै हल्का बनाउनु थियो । ऊ आफ्नो काममा लाग्यो, म मेरो ।
आधा घण्टाको ‘ब्रेक’ समय भयो र म जोन्सनलाई नभनीकन उसलाई खोज्न जान्छु र पुनः माफी मागेर मन चंगा बनाउँछु भन्ने विचारले निस्केँ । यत्रो विशाल क्षेत्रमा फैलिएको र हजारौँ कर्मचारी भएको त्यो कार्यालयमा उसलाई कहाँ मात्र खोज्ने ?
तैपनि, बिहान ठोक्किएको ठाउँमा गएर वरपर हेरेँ । कतै देखिनँ । अनि, ‘ह्युमन रिसोर्सेस’मा गएर यस्तोयस्तो प्रकृतिको मानिस छ, कुन ठाउँमा काम गर्छ होला ? एउटा जरुरी काम थियो भनेर अनुरोध गरेँ ।
त्यहाँ बसेकी महिलाले भनिन्, ‘यस्ता मानिसहरू आठ–दशजना छन् । तीमध्ये कुनचाहिँ हुन् म भन्न सक्दिनँ ।’
‘फोटो देखाउन सक्नुहुन्छ ?,’ मैले अनुरोध गरेँ ।
उनले कम्प्युटर मतिर फर्काइदिइन् । मैले चिनिहालेँ र भनेँ, ‘हो, यिनै व्यक्ति हुन् ।’
अनि, उनले ती व्यक्तिले काम गर्ने विभाग पनि बताइदिइन् । म खुसीले गदगद भएँ र उनलाई धन्यवाद दिएँ । यस बेलासम्म मेरो ब्रेक समय सकिन दुई मिनेट मात्र बाँकी थियो । अनि, मनमनै भनेँ– अहिले जान्नँ, अर्कोपटकको ब्रेकमा जान्छु । अनि, कामतिर फर्केँ ।
पहिलो ब्रेकको चार घण्टापछि दोस्रो ब्रेक सुरु भयो । अब पहिला खानासाना खानुभन्दा पनि उसलाई भेट्छु भन्ने मनसायले ऊ काम गर्ने विभागतिर लामालामा पाइला चाल्दै गएँ । तर अहँ, उसलाई देखिनँ । नजिकै उभिएको अर्को मानिसलाई सोधेँ, ‘माइकलले काम गर्ने यहीँ हो ?’
उसले पनि यताउति टाउको घुमायो र भन्यो, ‘अघिसम्म त यहीँ थियो । खै, बाथरुमतिर गयो कि वा ब्रेकमा गयो थाहा भएन ।’
ओके आई विल वेट भनेर म उसको पर्खाइमा एक छिन त्यही कुरिरहेँ । तर, ऊ आएन । घडीले काममा जाने बेला भो भनेर संकेत गरिरहेको थियो । म बेचैन भएँ । यताउति आँखा डुलाएँ, तर अहँ, ऊ आएन । आधा घण्टा सकियो । म काममा फर्केँ ।
त्यसपछिका तीन घण्टा मन लागी नलागी काममा फर्केँ । कामको निर्धारित समय सकिएपछि उसलाई मूलढोकामा भेट्छु कि भनेर पाँच मिनेटअघि नै आएर कुरिरहेँ । मेरा नेत्रले उसलाई नै खोजिरहेका थिए । सेता लौरी बोकेका केही मानिसहरू त आए, तर ऊ आएन ।
निराश मन बोकेर गाडी भएतिर गएँ । मनमा उससँग भेट नभएको प्रसंग आँखाअगाडि नाचिरहेको थियो । कति बेरमा घर पुगेछु, थाहै भएन । घरको ढोकामा छोरो मलाई कुरेर बसिरहेको थियो ।
‘बाबा, कस्तो भयो आजको दिन ?,’ उसले सोध्यो । यो उसको दैनन्दिनी थियो । ऊ मलाई सधैँ सोध्छ, कामको बारेमा । र, म उसलाई त्यही बनिबनाउ उत्तर दिन्छु, ‘राम्रो भयो’ भनेर । यद्यपि, मेरो अनुहारमा निराशाका रेखाहरू दौडिरहेका थिए । उसले चाल पाएछ कि के हो फेरि सोध्यो, ‘आज गाह्रो भएजस्तो देखिन्छ नि !’
‘होइन छोरा’ भनेर टारेँ । रात पर्यो । अमावस्याको रात । ओछ्यानमा पल्टेँ । बाहिर चकमन्न थियो । सायद चराहरू पनि चुपचाप सुतिसकेका थिए । तर, साउनको महिना भएकोले होला, नजिकैको पोखरीबाट भ्यागुता र कछुवाको आवाज भने निरन्तर कानमा आइरहेको थियो ।
रातभर निन्द्रै परेन । ओल्टोकोल्टो गरेको देखेर श्रीमतीले सोधिन्, ‘किन निद्रा परेन ?’ उसलाई पनि कुनै उत्तर दिइनँ र जसोतसो रात काटेँ । भोलि त काममा जानु नै थियो र हत्तपत्त आफ्नो नित्यकर्म सकेर फ्रिजमा राखिरहेको बासी भात बोकेर काममा निस्केँ ।
माइकलको सम्झना अझ गाढा भयो । उसलाई बाहिरै देख्छु कि भनेर यताउति नजर दौडाएँ । तर, देखिनँ । आजको ब्रेकमा त जसरी भए पनि भेट्छु भन्ने मनमा लाग्यो र काम गर्न लागेँ ।
लञ्च ब्रेक भयो । हिजोअस्ति पनि हुन्थ्यो । तर, आजको ब्रेक भने मलाई किनकिन भिन्नै लागिरहेको थियो । बारम्बार घडीमा आँखा पुग्दथ्यो । तर, घडीले सुईलाई बन्धक बनाएर राखेजस्तो सुईले फड्कै मारेको थिएन । यो ब्रेक समयमा घरबाट बोकेर ल्याएको बासी भात माइक्रोवेभमा तताएँ र हतारहतार मुखभित्र छिराएर माइकलको खोजीमा निस्केँ ।
माइकललाई टाढैबाट चिनेँ । उसलाई देख्नासाथ मन खुसी भयो र हिजोदेखि बेचैन भएको मन अलिक शान्त भयो । ऊ एकसुरले काममा व्यस्त थियो । आँखा हुनेहरूले जस्तै उसले’नि काम गरिरहेको थियो ।
मनमनै सोचेँ– यो अफिस कस्तो होला ? दृष्टिविहीनलाई पनि काम र माम दिन्छ ।
एक छिन ऊनजिकै उभिएँ । ऊ काममा लागिरहेकै थियो । के भन्ने कसो भन्ने लागिरहेको थियो । अचानक मुखबाट फुत्किइहाल्यो ‘हे, माइकल गुडमर्निङ ।’
टाउको मतिर घुमाएर उसले भन्यो, ‘हेलो, गुडमर्निङ ।’
‘म कृष्ण । हिजो बिहान तिमीसँग ठोक्किएको थिएँ नि ! त्यस बेला तिम्रो हातबाट लट्ठी पनि खसेको थियो । तिमी सम्झिन्छौ ?’
ऊ एक छिन घोरियो, ‘आई डोन्ट नो, आई रियल्ली फर्गेट ।’
ओहो ! जुन कुरा गर्न म आएको थिएँ, उसलाई थाहै छैन ? मलाई त्यो कुरा उप्काऊँ कि नउप्काऊँजस्तो भयो । तैपनि भनेँ, ‘हिजो बिहान तिमी कामबाट निस्किरहेका थियौ भने म काममा जाँदै थिएँ, हतारमा तिमीसँग ठोक्किएको थिएँ नि !’
उसले सम्झने कोसिस गर्यो र भन्यो, ‘आइएम सरी । आई फर्गेट । केही भन्नु थियो र ?’
‘त्यस्तो त केही होइन, तर पनि म माफी माग्न आएको । हिजो हतारमा थिएँ, के–के भनेँ सम्झिन पनि सकिनँ, त्यसैले हो ।’
अनि, उसले भन्यो, ‘मलाई थाहा छ, अन्धासँग मानिसहरू ठोक्किइरहन्छन् । किनकि, दृष्टिविहीनहरू आफ्नो नियमित रुटिनमा चल्छन् । आँखा भएकाहरू पनि आफ्नो रुटिनमा त चल्छन्, तर अबेर गरेर । यस्ता घटनाहरु बारम्बार भइरहन्छन् । म आदी भइसकेको छु । हिजै मात्र पनि दुईतीनजना मानिस मसँग ठोक्किन आए । थ्यांकस गड, ठोक्किने दुवै पक्षलाई कुनै पनि शारीरिक क्षति भने भएन । लट्ठी त खस्छ नि ! यसै पनि खसिरहन्छ । कहिले पसिनाले खस्छ, कहिले कुनै चिजमा ठोक्किएर खस्छ । कहिले मानिसको खुट्टामा अल्झिन्छ । यो सामान्य क्रिया हो ।’
उसको कुरा सुनेर म चकित परेँ र भनेँ, ‘ओेहो, कस्तो क्षमाशील व्यक्ति ! यु आर ग्रेट ।’
‘आई डोन्ट नो । पहिलापहिला खुबै रिस उठ्थ्यो, अन्धासँग ठोक्किने अन्धाहरू भनेर । गाली पनि गर्दथेँ, आमाचकारी ! तर, जब नियमित रूपमा दिनहुँ यस्ता घटना हुन थाले, तब मैले आफैँलाई सोधेँ– तिनीहरू पनि त जानीजानी ठोक्किएका होइनन् । अन्जानमा भएका घटनालाई मनमा लिएर, दिमागमा बोकेर, तिनीहरूलाई सत्तोसराप गरेर हिँडिरहन मेरो मनले मानेन । यस्ता कुरा बोकेर हिँड्दा आफैँलाई सास्ती हुनेरहेछ । सास्ती खेपेँ । अनुहार कालो बनाएँ । मन जलिरहने । दिनहरू नहाँसेरै बितिरहे । म आइतबार बिहान अबेरसम्म बेडमा पल्टिरहेको थिएँ, रेडियोमा एउटा प्रवचन आइरहेको थियो । त्यो सुनेपछि मेरो चेतन मन विस्तारित भयो । हो त मैले किन क्षमा नदिने ? अनि, मनमनै एउटा अठोट गरेँ र फराकिलो बाटो समाएँ – क्षमाको । यस संसारमा योभन्दा उत्तम र उत्कृष्ट बाटो के होला र ? जिससले देखाएको वा बुद्धले खनेको बाटो पनि यही हो । अहिले यसैमा रमेको छु । कोही ठोक्किन आए पनि सहजै क्षमा दिन्छु । आनन्द लाग्छ ।’ एकपटक ऊ हल्का हाँस्यो ।
मैले पुनः उसलाई धन्यवाद दिएँ र भनेँ, ‘यु आर रियल्ली ग्रेट ।’
अनि, उसले पनि मलाई धन्यवाद दिँदै भन्यो, ‘नो आइएम नट, गड इज ग्रेट ।’
म मनका औडाहाहरू त्यही छाडेर काममा फर्किएँ । यति बेलासम्म ब्रेकको समय पनि सकिइसकेको थियो ।
(तनहुँ, गुणादी । हाल नर्थ क्यारोलिना, अमेरिका)