site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष पोखरेल

महोत्तरी । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन्

महोत्तरीको जलेश्वरमा आज पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पुर्‍याउन सुनकोसी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ । मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकतामा सरकार नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत जुटाउन पार्टी कार्यकर्तालाई आम जनतासँगको सम्बन्ध सुमधुर बनाउन निर्देश गरे । पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा सांगठनिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई अपिल गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठले मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि आफ्नो दल पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने दाबी गरे ।

एमाले जिल्ला अध्यक्ष कालीचन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्यद्वय जुली महतो र रामदयाल मण्डलले अहिलेको पार्टी अभियान ‘मिसन ग्रासरुट’बारे प्रकाश पारेका थिए । रासस

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २३:००
प्रतिक्रिया दिनुहोस्