काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अथवा कृत्रिम बुद्धिमताले ३० करोड पूर्णकालीन जागिरहरू प्रतिस्थापन गर्न सक्ने इन्भेष्टमेन्ट बैंक गोल्डम्यान साक्सको एक रिपोर्टले देखाएको छ ।
यसले युरोप र अमेरिकामा एकचौथाइ रोजगारी कटौती गर्न सक्ने रिपोर्टले जनाएको बीबीसीले लेखेको छ । तर, अन्य रोजगारी सिर्जना गर्ने र यसले विश्वको वस्तु र सेवाको उत्पादनशीलता सात प्रतिशतले बढाउनसक्ने आकलन समेत गरिएको छ ।
मानवले गर्नसक्ने कामबाट अलग गर्न नसकिने जेनेरेटिभ एआईको कन्टेट लेख्ने क्षमता यसको प्रमुख प्रगति भएको रिपोर्टले जनाएको छ ।
बेलायत सरकारले जनताहरुलाई एआईले रोजगारी कटौती नगर्नेमा आश्वस्त पार्दै अर्थतन्त्रमा उत्पादकत्व बढाउने उद्देश्य भनेर यसमा लगानी प्रवर्द्धन गरिरहेको छ ।
“हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि एआई बेलायतमा हामीले काम गर्ने तरिकाको पूरक हो, यसले हामीले गर्ने काममा बाधा पुर्याउँदैन । हाम्रो रोजगारी कटौती गर्नुको सट्टा यसले अझ राम्रो बनाउँदै छ,” बेलायतका टेक्नोलोजी मन्त्री मिशेल डोनेलनले त्यहाँको अखबार दी सनलाई भनेका छन् ।

तर, रिपोर्टले प्रशासनिक क्षेत्रको ४६ प्रतिशत, कानुनी क्षेत्रको ४४ प्रतिशत, निर्माण क्षेत्रको ६ र मर्मतसम्भार क्षेत्रको चार प्रतिशत रोजगारीलाई प्रभाव पार्न सक्ने जनाएको छ ।
एआईले बनाउने चित्रहरुले आफ्नो काममा प्रभाव पार्ने चिन्ता आर्टिस्टहरुले समेत व्यक्त गरेका छन् ।
यो रिपोर्टले उद्धृत गरेको प्रतिवेदनको अनुसन्धानका अनुसार हालका ६० प्रतिशत कामदारहरू सन् १९४० मा अस्तित्वमै नभएका पेशामा संलग्न रहेका छन् ।
अन्य अनुसन्धानले सन् १९८० को दशकदेखिको प्राविधिक परिवर्तनले रोजगारी सृजना गर्नुभन्दा छिटो कामदारहरूलाई विस्थापित गरेको देखाएको छ ।
जेनेरेटिभ एआई अघिल्लो सूचना प्रविधिको प्रगति जस्तै हो भने, यसले निकट भविष्यमा रोजगारी घटाउन सक्ने रिपोर्टको संकेत छ ।
अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड मार्टिन स्कुलमा भविष्यको कामका निर्देशक कार्ल बेनेडिक्ट फ्रेले बीबीसीसँग बोल्दै जेनरेटिभ एआईले कति कामहरू प्रतिस्थापन गर्नेछ भनेर थाहा पाउने कुनै तरिका नभएको बताएका छन् ।
रिजोलुसन फाउन्डेसन थिंक ट्याङ्कका प्रमुख कार्यकारी टोर्स्टन बेलले एआईको दीर्घकालीन प्रभाव अत्यधिक अनिश्चित रहेको बताएका छन् ।