काठमाडौं । ट्राफिक चापले उकुसमुकुस छ काठमाडौं । काठमाडौंका सडकमा सहजै यात्रा गर्न सकिँदैन । काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको अवस्था त्यस्तै छ ।
ढिलोचाँडो काठमाडौं–तराई द्रुतमार्ग पनि निर्माण हुनेछ ।
काठमाडौं पुग्न द्रुतमार्ग प्रयोग गरिए पनि भित्रिएपछि ती सवारी साधन गन्तव्यमा पुग्न झनै झन्झटिलो हुने देखिन्छ तर त्यसका लागि सहज बनाउन भन्दै १८ वर्षअघि परिकल्पना गरिएको बाहिरी चक्रपथको कार्य सुरुसम्म हुन सकेको छैन ।
काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने योजनासहित आर्थिक वर्ष २०६१÷६२ मा बाहिरी चक्रपथ बनाउने योजना ल्याइयो ।
तर, अहिलेसम्म यो आयोजना बन्छ वा बन्दैन भन्ने अन्योल छ । कतिपय अब यो आयोजना नबन्ने निश्चितजस्तै भएको बताउँदै पनि आएका छन् ।
राजनीतिक दलका नेताहरूको इच्छाशक्ति नहुुँदा यो आयोजना अन्योलमा परेको देखिन्छ ।
अर्जुननरसिंह केसी सहरी विकास मन्त्री भएका बेला सबै अड्चन र कठिनाईलाई चिर्दै मन्त्रालयबाट २०७४ वैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्णता दिइएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेको थियो ।
सोही विज्ञप्तिमा आउँदो आर्थिक वर्षदेखि सो चक्रपथ निर्माणको प्रथम चरणका रूपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटर (कि.मी)मा निर्माण सुरु हुने पनि भनिएको थियो ।
प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी रहेको पनि बताइएको थियो ।
तर, अहिलेसम्म पहिलो चरणको काम सुरु पनि हुन सकेको छैन । आयोजना निर्माण गर्ने भनिएको कैयौँ क्षेत्रमा धमाधम घर बनिरहेका छन् । जग्गा किनबेच रोकिएको पनि छैन ।
चक्रपथको कुल लम्बाईमध्ये काठमाडौंमा ३५.०८ कि.मी., ललितपुरमा १५.८० कि.मी. र भक्तपुरमा २१.०५ कि.मी. हुने बताइएको छ ।
आजभन्दा १८ वर्षअगाडि बाहिरी चक्रपथ बनाउने घोषणा गरिएको थियो । अहिले यो आयोजनाको नाममा कर्मचारी राखेर तलब भत्ता खुवाउनेभन्दा केही काम हुन सकेको छैन ।
महालेखापरीक्षकको कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म यो आयोजनाको नाममा तीन करोड ५७ लाख ८८ हजार रुपैयाँ प्रशासनिक खर्च भएको छ ।
यो कर्मचारीलाई दिइने तलब भत्ता र कार्यालय व्यवस्थापनका लागि खर्च भएको हो ।
तर भौतिक प्रगति भने अहिलेसम्म शून्य छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि अपूर्ण छ ।
आयोजना निर्माण सुरु गर्नुभन्दा पहिले डीपीआर बनाइने गरिन्छ । १८ वर्ष बितिसक्दा पनि आयोजनाको डीपीआरले पूर्ण रूप पाउन सकेको छैन ।
बाहिरी चक्रपथ आयोजनाको कुल लम्बाई ७१.९६ किमि रहेको छ ।
जसमध्ये आर्थिक वर्ष २०७१–७२ सम्ममा ५९.८६ किमिको डीपीआर तयार भइसकेको छ भने बाँकी १२.१० किमि क्षेत्रको डीपीआर अझै तयार हुन सकेको छैन ।
आयोजनाको डीपीआर उपत्यका विकास प्राधिकरणले निर्माण गर्ने भए पनि यसका लागि अहिलेसम्म कुनै पनि पहल हुन नसकेको देखिन्छ ।
आयोजनामा काम गर्ने कर्मचारी पनि यो आयोजना निर्माण हुन्छ वा हुँदैन भन्नेमा दोधारमा छन् । यो आयोजनाको काम अगाडि नबढेको भए पनि यसमा काम गर्ने कर्मचारीको दरबन्दी भने १९ रहेको छ ।
यसअघि यो आयोजनाका लागि २४ दरबन्दी थियो । खर्च कटाउन भन्दै दरबन्दी पनि घटाइएको छ ।
वर्षैपिच्छे कर्मचारीलाई तलब भत्ता खुवाउन मात्र यो आयोजनाका लागि रकम विनियोजन हुने गरेको भन्दै आलोचना भएको छ ।
प्रधिकरणका अनुसार चालु आर्थिक वर्षमा यो आयोजनाका लागि सरकारले एक करोड २० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।
तर, प्रशासनिक खर्चबाहेक भौतिक खर्च शून्य छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यो आयोजनको प्रशासनिक खर्च ३४ लाख रुपैयाँ भएको छ । पूँजीगत खर्च भने नभएको प्राधिकरणले जानकारी दिएको छ ।
१० वटा भागमा छुट्याएर आयोजनाको डीपीआर गर्ने तयारी गरेको थियो । तर, अहिलेसम्म आठ वटा डीपीआर तयार पार्ने काम सकिएको छ ।
बाँकी दुईवटाको भने अहिलेसम्म डीपीआर तयार पार्न सकेको छैन । बाहिरी चक्रपथ आयोजनाका सर्वेक्षक सुदीप पौडेलका अनुसार काठमाडौं जिल्लामा पर्ने ३३.९८ किमिलाई पाँच खण्डमा छुट्याएर डीपीआर गर्ने योजना बनाइएकोमा चार वटामात्र डीपीआर तयार भएका छन् ।
खड्का भद्रकाली सनडोल खण्ड ६.५ किमिको डीपीआर गर्न बाँकी रहेको उनले बताए ।
त्यस्तै भक्तपुर जिल्लामा पर्ने १८.६१२ किमिमध्ये भातेढिकुरो अरनिको राजमार्ग नयाँठिमी खण्डको ५.६ किमि डीपीआर तयार पार्न बाँकी रहेको पौडेलले बताए ।
मन्त्रालयले जग्गा रोक्काको फाइल अगाडि नबढाउँदा पनि यो आयोजनाको काम अगाडि नबढेको बताइएको छ । यो आयोजना वरपर पर्ने जग्गा रोक्का गर्न प्राधिकरणले सहरी विकास मन्त्रालयमा फाइल पठाएको छ ।
तर, अहिलेसम्म कुनै प्रतिक्रिया नआएको एक कर्मचारीले बताए । बाहिरी चक्रपथ निर्माण गर्ने घोषणा गरेको १८ वर्षको अवधिमा डीपीआर अपुरो नै रहेकाले पनि अब यो आयोजना निर्माण सम्पन्न हुनेमा शंका उत्पन्न हुन थालेको हो ।
तर, व्यवस्थित राजधानीका लागि यो चक्रपथ अत्यावश्यक रहेको पूर्वाधार विज्ञहरू बताउँछन् ।
काठमाडौंमा बस्ती बसाउँदा ध्यान नदिएकोले काठमाडौं उपत्यकाभरी जहाँ बसे पनि सहज रूपमा आवतजावत गर्न सकिने गरी बाहिरी चक्रपथको आवश्यकता रहेको पूर्वधार विज्ञ डा. सूर्यराज आचार्य बताउँछन् ।
“काठमाडौंमा बसोबास गर्ने जनशक्ति बढ्दो क्रममा छ । जनसंख्याको चापलाई हेर्दा अहिलेको जस्तो सहरी व्यवस्थापनले हुँदैन । ठूला सहरहरूमा बाहिरी चक्रपथको महत्त्व हुन्छ,” उनले भने, “बाहिरी चक्रपथ निर्माण हुनु अनिवार्य हो । तर, यसलाई केही राजनीतिज्ञले बुझ्नुभएन । केही स्वार्थ समूहले पनि यसलाई अगाडि बढ्न दिएनन् । लागत वर्षेनी बढ्दै गएको छ ।”
जग्गा अधिग्रहण गरेर यो आयोजनालाई सरकारले छिटोभन्दा छिटो बनाउन पहल गर्नुपर्ने आचार्य बताउँछन् ।
तत्कालका लागि दुई लेनको बाटो निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । कर्मचारीले मात्र केही गर्न नसक्ने भन्दै राजनीतिक तहबाट नै यसको समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
“काठमाडौंमा दिनप्रतिदिन सवारीसाधनको संख्या बढ्दै गएको छ । आजभन्दा २० वर्ष अगाडि अहिलेको चक्रपथ जुन सोचले बनाइएको थियो, त्यो सोचले अब काम गर्दैन,” उनले भने, “राजनीतिक तहबाट स्थानीयस्तरमा यसको महत्वका बारेमा बुझाउनु पनि आवश्यक छ ।”
राज्यको विकास गर्न मनोविज्ञानमा परिवर्तन ल्याउनु पर्ने उनको भनाइ छ । त्यसैगरी अहिलेको कर्मचारीको मनोबलले बाहिरी चक्रपथ नबन्ने विज्ञ बताउँछन् ।
राजनीतिक तहको इच्छाशक्ति बढाएर यो आयोजनालाई अगाडि बढाउनु पर्ने पनि बताइएको छ ।
भौतिक पूर्वाधार विकासको चेत राजनीतिज्ञमा नहुँदा पनि यो आयोजना बेबारिसे हुन पुगेको यातायात विज्ञ श्रीराम ढकालले बताए ।
यो आयोजनाले ट्राफिक व्यवस्थापन मात्र नभएर व्यवस्थित सहरको परिकल्पना पनि रहेको ढकालले बताए ।
“अहिले भित्री सडक अव्यवस्थित छन् । बाहिरी चक्रपथ बन्यो भने भक्तपुरको मानिस कीर्तिपुर जानपरे भित्री सडक प्रयोग गर्न नपरोस्,” उनले भने, “मुख्यतः यो आयोजना निर्माण भए ट्राफिक व्यवस्थापन र काठमाडौंको अव्यवस्थित बसोबासमा परिवर्तन आउँथ्यो ।”
यो अत्यावश्यक परियोजना भए पनि कसैले पनि यसलाई ध्यान नदिएको बताइएको छ ।
अर्का यातायात विज्ञ राजेन्द्रराज शर्मा पनि आर्थिक गतिविधिलाई एक ठाउँमा मात्र सीमित नबनाउन यो आयोजना आवश्यक रहेको बताउँछन् ।
राजनीति गर्नेहरूको दूरदर्शीतामा प्रश्न
काठमाडौंलाई व्यवस्थित बनाउन बाहिरी चक्रपथ निर्माण गर्ने योजना ल्याइएको थियो ।
तर, यो आयोजना वर्षाैँसम्म बेबारिसे भएर बस्दा पनि राजनीतिक तवरबाट पहल नहुनु नेताहरूको पूर्वाधार विकासमा ध्यान नभएको देखिन्छ ।
यसले उनीहरूको दूरदर्शीतामा प्रश्न उब्जिएको विज्ञ बताउँछन् ।
विकासका क्रममा केही विनास भए पनि त्यसलाई राजनीतिक तवरबाट समाधान गरिनुुपर्ने पूर्वाधार विज्ञ आचार्य बताउँछन् ।
बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्रसहितको मूल सडक निर्माण गर्ने परिकल्पना गरिएको थियो । यो सडक निर्माणमा लाग्ने खर्च नेपाल सरकारबाट ब्यहोरिने पनि निर्णय भएको थियो ।
यो सडकको किनारबाट दायाँबायाँ २५०–२५० मिटर चौडा क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) प्रविधिद्वारा व्यवस्थित सहरीकरण गरिने योजना बनाइएको छ ।
८ लेन सडकसहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपांगमैत्री पेटीको समेत व्यवस्था गरिने बताइएको छ ।
बाहिरी चक्रपथको रूट यस्तो छ
काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोँगबु, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ ।
सीतापाइलाबाट हलचोक, गह्रिगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ किमि क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किमि सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाई ८६ किलोमिटर भन्दा बढी हुन जाने देखिन्छ ।
भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाइने छ ।
ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, वाग्मतीपुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर चक्रपथ बनाइने छ ।