
काठमाडौं । भारतीय जनता पार्टीले कांग्रेस नेता राहुल गान्धीको ‘मोदी टिप्पणी’ अपमानजनक नै भएको भन्दै अदालतको फैसलालाई समर्थन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गुजरातस्थित सुरत जिल्ला अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष जेल सजाय सुनाएको छ । जसको भाजपाले अदालतको निर्णयको पक्षमा प्रतिक्रियामा दिएको हो ।
भाजपाका नेता तथा पूर्वकानुनमन्त्री रविशंकर प्रसादले पत्रकारमा सम्मेलन गर्दै गान्धीको अभिव्यक्ति आपत्तिजनक र अपमानजनक नै रहेको बताएका थिए । प्रसादले पत्रकारहरुसँग भने, “राहुल गान्धले आफू सत्य र अहिंसालाई आत्मसात गर्ने बताउँछन् । तर के कुनै समुदायलाई अपमान गर्नु सत्य र अंहिसा हुनसक्छ ?”
सन् २०१९ मा गान्धीले एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो । दोषी ठहर गर्दै उनलाई दुई वर्षको जेल सजाय तोकिएको छ ।
कैद सजाय सुनाइएका गान्धी हालै पक्राउ भने हुने छैनन् । गान्धीले माग गरेबमोजिम उनलाई ३० दिन पुनरावेदन गर्नका लागि धरौटीमा राखिएको छ ।