
पोखरा । मुस्ताङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने एक मात्र तेर निरला जनहित बहुमुखी क्याम्पसमा सभापति पदका दुवै उमेदवारले बराबरी मत पाएपछि गोलाप्रथाबाट विजेता छानिएको छ ।
गोलाप्रथाबाट नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूकी अमिशा तिलिजा विजयी भएकी छन् ।
क्याम्पसमा कुल ४२ मतदाता रहेकोमा ३७ मत खसेको थियो । एक मत बदर भयो । सदर ३६ मध्ये तिलिजाले १८ मत पाइन् । उनका प्रतिष्पर्धी नेकपा (एमाले) निकट अनेरास्ववियुका एलिश थकालीले पनि १८ मत नै पाए ।
दुवैको मत बराबर भएपछि निर्वाचन समितिले गोलप्रथाद्वारा विजेता घोषणा गरेको थियो ।

स्ववियु सचिवमा भने नेविसंघकी रविना गुरुङ र कोषाध्यक्षमा पनि नेविसंघकै निसल थकाली निर्विरोध निर्वाचित भए । अनेरास्ववियुका उमेदवारले मनोनयन फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका हुन् ।
एकीकृत समाजवादी निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघलगायतका संगठनले तालमेल गरेका थिए ।